नेभिगेशन
अर्थतन्त्र

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
श्रेष्ठ यसअघि प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । मन्त्रिपरिषद्को निर्णयसँगै उनले अब प्राधिकरणको कार्यकारी नेतृत्व सम्हाल्ने भएका छन् ।
ऊर्जा क्षेत्रमा लामो अनुभव भएका श्रेष्ठ सन् १९९७ मा नेपाल विद्युत् प्राधिकरण प्रवेश गरेका हुन् । प्राधिकरणमा उनको कार्यअनुभव २८ वर्षभन्दा बढी छ । विद्युत् उत्पादन, प्रसारण, वितरण तथा ग्रिड सञ्चालनका विभिन्न क्षेत्रमा उनले जिम्मेवारी सम्हालिसकेका छन् ।
श्रेष्ठले प्राधिकरणको नेतृत्व तहमा पुग्नुअघि विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनी यसअघि वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए । त्यसअघि प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशकका रूपमा काम गरेका थिए ।
उनीसँग प्राधिकरणको ग्रिड सञ्चालन विभाग, काठमाडौं क्षेत्रीय कार्यालय, हेटौंडा क्षेत्रीय कार्यालय र अत्तरिया क्षेत्रीय कार्यालयको प्रमुखको अनुभवसमेत रहेको छ । उनले कालीगण्डकी जलविद्युत् केन्द्र र हेटौंडा ग्रिड डिभिजनको प्रमुखका रूपमा समेत काम गरेका छन् ।
प्राधिकरणमा प्रवेश गरेपछि उनले विभिन्न वितरण केन्द्रमा सहायक प्रमुख तथा काठमाडौं पूर्व वितरण केन्द्रमा सहायक प्रबन्धकको जिम्मेवारी पनि सम्हालेका थिए । उनको व्यावसायिक करिअरको सुरुवात भने प्राधिकरणको लोड डिस्प्याच सेन्टरमा सिस्टम अपरेटर इन्जिनियरका रूपमा भएको थियो ।
श्रेष्ठले भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका थिए ।  उनले त्रिभुवन विश्वविद्यालयको पुल्चोक क्याम्पसबाट सूचना तथा सञ्चार इन्जिनियरिङमा मास्टर अफ इन्जिनियरिङ गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्