नेभिगेशन
साहित्य

बीपीको राजनीतिक बगैंचामा साहित्यको फूल

सुन्दरीजल, काठमाडौँ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको सुन्दरीजल नेपालको राजनीतिक इतिहासमा चर्चामा आइरहने नाम हो । सुन्दरीजलस्थित बीपी संग्रहालयमा बेलाबेलामा राजनीतिको बहस र राजनीतिक संवादसमेत हुने गरेका छन् । 
आइतबार भने जननेता बीपी कोइरालाको राजनीतिक तथा साहित्यिक योगदानसँग जोडिएको सुन्दरीजल संग्रहालयमा साहित्यकार, कवि, समालोचक तथा कूटनीतिज्ञहरुले महेन्द्र चालिसेद्वारा लिखित ‘मिथक भित्र लुकेका सत्य’को खोजी गरे । 
कार्यक्रममा वरिष्ठ कूटनीतिज्ञ जयराज आचार्य बीपी संग्रहालय परिसरमा भावुक बन्न पुगे । उनले स्वतन्त्रताका पक्षधर बीपीको राजनीतिक बगैँचामा आयोजित कार्यक्रममा आफूले साहित्यका फूलहरु फुलेको देखेको भन्दै संग्रहालय साहित्यिक अध्ययनको केन्द्रसमेत बन्न सक्ने टिप्पणी गरेका थिए ।
उनले भने, ‘यहीँ बीपीले हिँडडुल गरे, जीवनका महŒवपूर्ण साहित्य सिर्जना गरे । त्यसैले यो ठाउँ बीपीको राजनीतिक बगैँचा हो र यस क्षेत्रमा साहित्यका फूलहरु रोप्न सकिन्छ । यहाँ रोपिएका फूलका बासनाले अनन्तसम्म सर्जकलाई प्रेरित गर्न सकिन्छ ।’
बीपी र कृष्णप्रसाद भट्टराईले जीवनभर आफ्ना लागि काठमाडौँमा घर नबनाएको हुुँदा जनताका लागि लड्ने र योगदान गर्नेहरुले जनताको घर बनाउने चर्चा गरे । 
सुरभि साहित्य प्रतिष्ठानको आयोजनामा संग्रहालयमा आयोजित कार्यक्रममा महेन्द्र चालिसको निबन्धसंग्रह ‘मिथकभित्र लुकेका सत्य’ भित्रका विविध पक्षहरुको चर्चा गरियो । 
वरिष्ठ इतिहासविद् प्रा.डा. दिनेशराज पन्तले साहित्यभित्र पनि तथ्य र अनुसन्धान आवश्यक भएको बताए । 
वरिष्ठ कलाकार के.के. कर्माचार्य र वरिष्ठ पत्रकार प्रमोद प्रधानले साहित्य भित्रको पत्रकारिताको धरातलमा ‘मिथकभित्र लुकेका सत्य’को चर्चा गरे । पूर्व सचिव तथा समालोचक गोपी मैनाली, ठाकुरप्रसाद शर्माले साहित्यभित्र पनि तथ्य र वास्तविकता खोज्नु निकै चुनौतीपूर्ण भएको बताए । 
वरिष्ठ साहित्यकार रमेश विकलको साहित्यिक जीवनसँग पनि सुन्दरीजल क्षेत्र जोडिएको हुँदा पूरै क्षेत्रको राजनीतिक साहित्यिक महŒव रहेको पूर्वराजदूत रमेश खनालले विदेशीहरुका लागि समेत अध्ययनको थलो बन्न सक्ने चर्या गरे ।  
सो अवसरमा बीपी राजनीतिक व्यक्ति भए पनि संग्रहालय साहित्यिक बगैंचाको थलो बन्न सक्ने बीपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले बताए । 
समालोचक युवराज मैनाली र पूर्व प्रशासक गोपी मैनालीले साहित्यले सिर्जना र जीवनको समस्यामा रहेर जनजीविकाका मुद्दा खोज्ने बताए । 
कार्यक्रम युवा साहित्यकार तथा कलाकार आलोक चालिसेले सञ्चालन गरेका थिए भने कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, साहित्यिक पत्रकार रामप्रसाद पन्त र सुरभि साहित्य प्रतिष्ठानका संस्थापक बाजुराम पौडेलले चालिसेको पुस्तकमाथि विविध टिप्पणी गरेका थिए । 
सो अवसरमा लेखक महेन्द्र चालिसेले साहित्यमा पत्रकारिता र अनुसन्धानलाई टेकेर ‘मिथकभित्र लुकेको सत्य’ तयार पारेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य