नेभिगेशन
स्वास्थ्य

ब्लु लाइटलाई मात्रै दोष दिएर कहाँ सुध्रन्छ निद्रा !

राति ओछ्यानमा पल्टिएपछि निद्रा नलाग्दा मोबाइल चलाउने बानी धेरैको छ । कसैका लागि यो दिनभरिका खबर पढ्ने समय हो । कसैका लागि सामाजिक सञ्जालमा रमाउने अवसर । तर, मोबाइलको उज्यालोमा बितेका ती केही मिनेटले निद्रा थप पर धकेलिरहेका त छैनन् ?
सुत्नुअघि मोबाइल चलाउँदा निद्रा बिग्रन्छ भन्ने विषय नयाँ होइन । यसको मुख्य दोषीका रूपमा नीलो प्रकाश अर्थात् ब्लु लाइटलाई देखाइन्छ । बजारमा यसलाई छेक्ने चस्मा, सफ्टवेयर र स्क्रिन कभरसमेत उपलब्ध छन् । तर, के नीलो प्रकाश नै निद्रा बिगार्ने मुख्य कारण हो ? वैज्ञानिक अनुसन्धानले यसको सरल उत्तर दिँदैन ।
गत वर्ष सन् २०२५ मा प्रकाशित सर्वेक्षणले वयस्कको रात्रीकालीन बानी देखाउँछ । एक लाख २२ हजार ५८ जनामध्ये ४१ प्रतिशतले सुत्नुभन्दा एक घण्टाअघि स्क्रिन चलाउँथे । सर्वेक्षणमा सहभागीमध्ये जम्मा १७ प्रतिशतले मात्र सुत्नुअघि कुनै स्क्रिन नहेर्ने बताएका थिए । विभिन्न अध्ययनले यस्तो बानी र खराब निद्राबीच सम्बन्ध देखाएका छन् । तर, सम्बन्ध देखिनु र नीलो प्रकाश नै दोषी हुनु एउटै कुरा होइन ।
हाम्रो निद्रालाई शरीरभित्रको जैविक घडीले निर्देशित गर्छ । यही घडीले बिहान चनाखो र राति निद्रा लाग्ने बनाउँछ । आँखामा प्रकाश महसुस गर्ने विशेष कोष हुन्छन् । तिनमा मेलानोप्सिन नामक तत्व पाइन्छ । यी कोषले जैविक घडीलाई प्रकाशबारे संकेत पठाउँछन् । त्यसपछि निद्रासँग सम्बन्धित मेलाटोनिन हर्मोनको उत्पादन प्रभावित हुन्छ ।
मेलानोप्सिन करिब ४८० नानोमिटर तरंगदैध्र्यको प्रकाशप्रति संवेदनशील हुन्छ । यो प्रकाशको नीलो क्षेत्रमा पर्छ । त्यसैले नीलो प्रकाशले मेलाटोनिन उत्पादन रोक्न सक्छ । तर, प्रयोगशालामा देखिएको प्रभाव दैनिक जीवनमा कति पर्छ भन्ने प्रश्न बाँकी छ ।
सन् २०१५ मा प्रकाशित एउटा अध्ययनले १२ जनालाई सुत्नुअघि किताब पढायो । उनीहरूले विद्युतीय वा छापिएको किताबमध्ये एउटा पढे । चार घण्टापछि स्क्रिनमा पढ्नेहरूको मेलाटोनिन करिब ५० प्रतिशत घटेको देखियो । उनीहरूलाई निदाउन पनि बढी समय लाग्यो । तर, निदाउन लागेको अतिरिक्त समय औसतमा १० मिनेट मात्रै थियो ।
त्यसको अर्को वर्ष प्रकाशित अध्ययनले फरक नतिजा देखायो । सहभागीहरूलाई सुत्नुअघि दुई घण्टा मात्र पढ्न दिइयो । दिनमा उनीहरूलाई चम्किलो सेतो प्रकाशमा पनि राखियो । त्यसपछि दुवै समूहको मेलाटोनिन, निद्रा लाग्ने समय र निद्राको अवधिमा उल्लेखनीय भिन्नता देखिएन ।
अक्सफोर्ड विश्वविद्यालयका स्नायु वैज्ञानिक रसेल फोस्टर यस्ता नतिजालाई सावधानीपूर्वक बुझ्नुपर्ने बताउँछन् । प्रयोगशालाका निष्कर्षलाई दैनिक जीवनमा सिधै लागू गर्न पर्याप्त प्रमाण छैन । नीलो प्रकाशको प्रभावबारे अझै धेरै कुरा स्पष्ट हुन बाँकी छ ।
नीलो प्रकाश छेक्ने चस्माको प्रभावकारिता पनि निश्चित छैन । सन् २०२३ को समीक्षाले १७ वटा परीक्षण विश्लेषण गर्दा निद्रा सुधार्ने स्पष्ट प्रमाण भेटेन । स्क्रिनमा प्रयोग हुने नीलो प्रकाश छान्ने सफ्टवेयरबारे पनि ठोस निष्कर्ष छैन । फोस्टरका अनुसार सुत्नुअघि चम्किलो प्रकाश घटाउनु उपयोगी हुन्छ । तर, नीलो प्रकाशलाई मात्रै दोष दिन मिल्दैन । चम्किलो सेतो प्रकाशले पनि जैविक घडीलाई असर गर्न सक्छ ।
त्यसैले सुत्नुअघि मोबाइल राख्नु उपयोगी बानी हुन सक्छ । तर, निद्रा सुधार्ने उपाय नीलो प्रकाश छेक्ने चस्मा मात्रै होइन । प्रकाशको चमक र सम्पर्क अवधि पनि उत्तिकै महŒवपूर्ण छन् । धेरै चम्किलो प्रकाश नभए असर कम हुन सक्छ । कति उज्यालो र कति समयसम्म सुरक्षित हुन्छ भन्नेचाहिँ अझै स्पष्ट छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्