नेभिगेशन
अर्थतन्त्र

सेयर बजारमा साइबर आक्रमण, कारोबार र राफसाफ अनिश्चित

काठमाडौं । प्रणालीमा साइबर आक्रमणको जोखिम उच्च भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबारको सेयर कारोबार स्थगित गरेको छ । ७२ ब्रोकर कम्पनीको सर्भर रहेको डेटा हब प्रालिको डेटा सेन्टरमा प्राविधिक समस्या आएको भन्दै बजार बन्द गरिएको हो । समस्या समाधान नभएकाले कारोबार पुनः कहिले सुरु हुन्छ भन्ने अन्योल छ ।
डेटा हबले टीएमएस डेभलपर कम्पनी वाइको प्रालिलाई पत्र पठाउँदै आइतबार बिहान आफ्नो पूर्वाधारमा ¥यान्समवेयर आक्रमण भएको जानकारी दिएको थियो । बिहान करिब ५ः३० बजे आक्रमण पहिचान भएको डेटा हबले जनाएको छ ।
आक्रमण हुनुअघि बिहान ४ बजे प्रणालीको पूर्ण ब्याकअप लिइएको थियो । उक्त ब्याकअप सुरक्षित र अलग्गै राखिएको डेटा हबले जनाएको छ । तर, आक्रमण अन्य अन्तरसम्बन्धित नेटवर्कमा फैलिन सक्ने जोखिम छ । त्यसैले प्रभावित प्रणालीलाई अफलाइन राखिएको छ । फरेन्सिक विश्लेषण र सुरक्षा परीक्षणपछि मात्रै प्रणाली पुनः सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।
डेटा हबबाट प्राप्त जानकारीका आधारमा वाइकोले स्टक ब्रोकर एसोसिएसन अफ नेपाललाई पत्राचार गरेको थियो । पत्रमा टीएमएस, सीडीएससीसँग सम्बन्धित प्रणाली, भुक्तानी प्रणाली र अन्य अन्तरसम्बन्धित सेवामा असर परेको उल्लेख छ ।
डेटा सेन्टर र नेप्सेबीच प्रत्यक्ष नेटवर्क सम्पर्क छ । त्यसैले आक्रमणले समग्र कारोबार प्रणालीको सुरक्षा र नियमित सञ्चालनमा जोखिम निम्त्याउन सक्ने वाइकोले जनाएको छ । प्रभावित प्रणाली अलग राखेर क्षतिको मूल्यांकन भइरहेको कम्पनी स्रोतले बताएको छ ।
सुरक्षा जोखिम कायमै रहेकाले कारोबार सञ्चालन गर्दा थप क्षति हुन सक्ने वाइकोको भनाइ छ । उसले यस विषयमा तत्काल आवश्यक कदम चाल्न ब्रोकर एसोसिएसनलाई आग्रह गरेको थियो । आक्रमणको प्रकृति, संलग्न समूह र तिनले के भनेका छन् भन्ने कम्पनीहरूले विवरण सार्वजनिक गरेका छैनन् ।
नेप्सेले सोमबारको कारोबार सुरु हुने समयअघि जारी गरेको सूचनामा डेटा हबको समस्या समाधान भइनसकेको जनाएको थियो । यथास्थितिमा कारोबार गर्दा नेप्सेको प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएको सूचनामा उल्लेख छ । ब्रोकर एसोसिएसनको अनुरोधपछि धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
यसैबीच, नेपाल धितोपत्र बोर्डले घटनाबारे अध्ययन र जाँचबुझ गर्न नेप्सेलाई निर्देशन दिएको छ। बोर्डका प्रवक्ता निरञ्जय घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार नेप्सेले असोज १२ गतेभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । घटनाको कारण पहिचान गर्न बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाइएको छ ।
बोर्डले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित प्रतिवेदन मागेको छ । टोलीको सुझावका आधारमा धितोपत्र बजारलाई सुरक्षित र पारदर्शी बनाउन थप कदम चालिने बोर्डले जनाएको छ ।
कारोबार स्थगनसँगै राफसाफ तथा फछ्र्योट कार्यसमेत प्रभावित भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ब्रोकरको कारोबार तथा ब्याकअफिस प्रणालीबाट आवश्यक तथ्यांक आदानप्रदान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक सुरक्षालाई ध्यानमा राख्दै ब्याकअफिस प्रणाली निर्माता कम्पनी क्यापिटल मार्केट टेक्नोलोजिजले राफसाफ तथा फछ्र्योट तत्काल अघि नबढाउन अनुरोध गरेको थियो ।
त्यसपछि सीडीएससीले असोज १ गतेको कारोबारको राफसाफ तथा फछ्र्योट स्थगित गरेको छ । उक्त कार्य असोज ६ गते गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
७२ ब्रोकर कम्पनीको कारोबार प्रणाली प्रभावित पार्ने साइबर आक्रमणका विषयमा सरकारले प्रष्ट केही भनेको छैन । प्रणालीमा गडबडी आएको भन्दै टार्दै आएका सरकारी अधिकारीहरुले ठेक्को अनलाइन प्रणाली इजीपी चल्न बन्द हुँदा पनि के भएको भन्ने प्रष्ट पारेका छैनन् । सोमबार अचानक बजार कारोबार बन्द हुँदा लगानीकर्तामा चासोसँगै चिन्ता छ । कारोबार प्रणाली र तथ्यांकको सुरक्षाबारे चिन्ता बढेको हो । प्रणाली कहिले सुरक्षित रूपमा सञ्चालनमा आउँछ भन्नेबारे सम्बन्धित निकायले थप विवरण सार्वजनिक गर्न बाँकी छ ।
नेप्से बन्द हुँदा करिब ५ अर्ब ५७ करोडको दैनिक कारोबार रोकिन पुगेको छ । औसत कारोबारका आधारमा धितोपत्र बोर्डले मात्रै करिब ८३ लाख ५५ हजार रुपैयाँ कारोबार शुल्क गुमाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्