नेभिगेशन
अर्थतन्त्र

सेयर बजार नियमित

काठमाडौं। पुँजीगत लाभकर घटाउने निर्णय कार्यान्वयनमा आएसँगै सेयर बजारमा कारोबार रकम बढेको छ । सोमबार डाटा हबमा देखिएको प्राविधिक समस्याका कारण एक दिन कारोबार रोकिएको बजार मंगलबार खुलेसँगै कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको हो ।
नेप्से परिसूचक पनि ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा रहँदा ७ अर्ब ५ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि गत शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो । 
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकर बढाएपछि लगानीकर्तामा असन्तुष्टि देखिएको थियो । सरकारले करको दर साढे दुई प्रतिशत विन्दुले बढाएर साढे ७ र १० प्रतिशत पु¥याएको थियो । गत साता भने सरकारले उक्त दर घटाएर ३.७५ र ५ प्रतिशतमा कायम गरेको थियो । घटाइएको कर मंगलबारदेखि कार्यान्वयनमा आएको हो ।
कारोबारमा आएका अधिकांश उपसमूहको सूचक बढेको छ । फाइनान्स, जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेकका उपसमूहले बजार बढाएका हुन् । अन्य उपसमूहको सूचक सबैभन्दा धेरै १.३६ प्रतिशतले बढेको छ ।
दिनभरको कारोबारमा १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रह्यो । मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्नो रिभर्सको सेयर मूल्य ८.२३ प्रतिशतले घटेको छ ।
धेरै कारोबार हुनेमा हाथवे इन्भेष्टमेन्टको ४४ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ । हिमालयन डिस्टिलरीको ४० करोड ३६ लाख र घलेम्दी हाइड्रोपावरको २२ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

यसअघि ब्रोकर कम्पनीहरूको डाटा हबमा साइबर आक्रमणपछि बजार सञ्चालनमा जोखिम देखिएको थियो । डाटा हबमा प्राविधिक समस्या आएपछि नेप्सेले सोमबार कारोबार स्थगित गरेको थियो । डाटा हबमा ७२ वटा ब्रोकर कम्पनीका सर्भर राखिएका छन् ।
नेप्सेले मंगलबार बिहान सूचना जारी गर्दै डाटा हबको प्राविधिक समस्या समाधान भएकाले पूर्ववत् कारोबार सञ्चालन हुने जनाएको थियो । कारोबार स्थगित भएपछि धितोपत्र बोर्डले पनि घटनालाई गम्भीर रूपमा लिँदै नेप्सेसँग स्पष्टीकरण र अध्ययन प्रतिवेदन मागेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्