नेभिगेशन
अर्थतन्त्र

सेयर लाभकरमा नयाँ दर

एक वर्षभन्दा पहिले नै सेयर बेचे ५ प्रतिशत कर

काठमाडौं । सरकारले सेयर तथा सूचीकृत धितोपत्र बिक्रीबाट हुने पुँजीगत लाभमा लाग्ने करको दर घटाएको छ । सरकारले सेयर बिक्रीबाट प्राप्त हुने लाभमा लाग्ने करको दर स्वामित्व अवधिका आधारमा फरक हुने व्यवस्था गरेको हो । नयाँ व्यवस्थासँगै धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको सेयर तथा अन्य धितोपत्र ३६५ दिनभन्दा बढी स्वामित्वमा राखेर बिक्री गर्दा लाभ रकममा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिमा बिक्री गर्दा ५ प्रतिशत कर लाग्ने भएको छ । यसअघि बासिन्दा प्राकृतिक व्यक्तिको सूचीकृत कम्पनीको सेयर बिक्रीबाट भएको पुँजीगत लाभमा ३६५ दिनभन्दा बढी स्वामित्व भए ५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम भए  साढे सात प्रतिशत कर लाग्थ्यो।
अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो । 
सेयर लगानीकर्ताले लामो समयदेखि पुँजीगत लाभकरको दर घटाउनुपर्ने, दीर्घकालीन लगानीलाई करमा सहुलियत दिनुपर्ने, छोटो र लामो अवधिको लगानीलाई फरक रूपमा व्यवहार गर्नुपर्ने तथा कर प्रणाली सरल र स्थिर बनाउनुपर्ने माग गर्दै आएका थिए । सरकारले पछिल्लो निर्णयमार्फत स्वामित्व अवधिका आधारमा फरक दर कायम गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार धितोपत्रको लाभ रकममा करको दर निर्धारण गर्ने निर्णय सरकारले आर्थिक ऐन, २०८३ ले दिएको अधिकार प्रयोग गरेर गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो ।
यसअघि सेयर बजारमा पुँजीगत लाभकरको दर र त्यसको कार्यान्वयनसँग सम्बन्धित विषय लगानीकर्ताका लागि महत्वपूर्ण कर विषयका रूपमा रहँदै आएको थियो । नयाँ राजपत्र सूचनाले स्वामित्व अवधिका आधारमा लाग्ने करको दर स्पष्ट पारेको छ ।

राजपत्रमा प्रकाशित सूचनामा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हित अर्थात् सेयर तथा अन्य धितोपत्र बिक्रीबाट प्राप्त हुने लाभमा उक्त दर लागू हुने उल्लेख छ ।
सेयर बजारमा पुँजीगत लाभकरको विषय लामो समयदेखि लगानीकर्ताको प्रमुख चासोमा रहँदै आएको छ । लगानीकर्ताले करको दर घटाउनुपर्ने र लगानीको अवधिअनुसार फरक व्यवस्था गर्नुपर्ने माग गर्दै आएका थिए ।
विशेषगरी दीर्घकालीन लगानीकर्तालाई छोटो अवधिमा कारोबार गर्ने लगानीकर्तासरह करको व्यवहार गर्न नहुने, सेयर बिक्रीको समयमा असुल हुने कर प्रणालीलाई स्पष्ट बनाउनुपर्ने र कारोबारको समयमा तिरेको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिनुपर्ने माग उठ्दै आएको थियो ।
त्यसैगरी कर नीति पटक–पटक परिवर्तन हुँदा लगानीकर्ताको योजना प्रभावित हुने भन्दै करसम्बन्धी व्यवस्था स्थिर र पूर्वानुमान गर्न सकिने हुनुपर्ने माग पनि रहँदै आएको थियो ।
पछिल्लो निर्णयले यी सबै माग सम्बोधन गरेको घोषणा नगरे पनि दीर्घकालीन र अल्पकालीन स्वामित्वका लागि फरक करदर कायम गरेको सेयर लगानीकर्ता बालकृष्ण सिलवालले बताए । यसले लगानीकर्ताले सेयर बिक्री गर्दा स्वामित्व अवधिलाई करको दृष्टिले ध्यान दिनुपर्ने अवस्था सिर्जना गरेको छ ।
लाभ रकममा मात्र कर
नयाँ व्यवस्थामा कर सेयर बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकममा नभई कानुनअनुसार गणना भएको लाभ रकममा लाग्नेछ । ५ लाख रुपैयाँमा खरिद गरिएको सेयर ७ लाख रुपैयाँमा बिक्री भयो भने प्राप्त लाभकर २ लाख रुपैयाँमा मात्र लाग्ने अर्थमन्त्रालयले स्पष्ट पारेको छ । 
कर कायम गर्ने जिम्मेवारी बजार निकायलाई
राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार नेपालमा बसोबास गर्ने व्यक्तिगत लगानीकर्ताले सूचीकृत कम्पनीको सेयर तथा धितोपत्र बिक्रीबाट प्राप्त गर्ने लाभमा तोकिएको कर लागू हुनेछ ।
बासिन्दा प्राकृतिक व्यक्तिको सेयर कारोबारबाट प्राप्त लाभमा कर कायम तथा असुल गर्ने प्रक्रिया धितोपत्र विनिमय बजारको कार्य गर्ने सम्बन्धित निकायमार्फत हुने व्यवस्था गरिएको छ ।
यसले सेयर बिक्रीपछि कर गणना र असुलीको प्रक्रिया कारोबार प्रणालीसँग जोडिनेछ । लगानीकर्ताका लागि भने आफ्नो कारोबार विवरण सही राख्नु आवश्यक हुनेछ ।
व्यक्तिगत लगानीकर्तालाई लागू
राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार नेपालमा बसोबास गर्ने व्यक्तिगत लगानीकर्ताले सूचीकृत कम्पनीको सेयर तथा धितोपत्र बिक्री गर्दा प्राप्त गर्ने लाभमा यस्तो कर लाग्नेछ ।
सेयर बजारमा कारोबार गर्ने क्रममा लाग्ने कर कायम तथा असुल गर्ने काम धितोपत्र कारोबार सञ्चालन गर्ने सम्बन्धित निकायमार्फत हुने व्यवस्था गरिएको छ । यसले लगानीकर्ताले सेयर बिक्री गरेपछि लाभमा लाग्ने करको प्रक्रिया कारोबार प्रणालीबाटै व्यवस्थित गर्न सहयोग पुग्नेछ ।
तर लगानीकर्ताले आफ्नो सेयर खरिद गरेको मिति, बिक्री गरेको मिति, खरिद मूल्य र बिक्री मूल्यलगायतका कारोबार विवरण सुरक्षित राख्नु आवश्यक हुनेछ । विशेषगरी एउटै कम्पनीको सेयर विभिन्न मितिमा खरिद गरेका लगानीकर्ताका लागि स्वामित्व अवधि यकिन गर्न कारोबार अभिलेख महŒवपूर्ण हुनेछ ।
धेरै लगानीकर्ताले एउटै कम्पनीको सेयर एकैपटक नभई फरक–फरक समयमा खरिद गरेका हुन्छन् । यस्तो अवस्थामा सेयर बिक्री गर्दा कुन सेयरको स्वामित्व अवधि कति भयो भन्ने विषय महत्वपूर्ण बन्ने भएको छ । 
त्यसैले लगानीकर्ताले आफ्नो डिम्याट खाता, ब्रोकर कारोबार विवरण तथा सेयर खरिद–बिक्रीको मिति सुरक्षित राख्नुपर्ने भएको छ । कारोबारको अभिलेख स्पष्ट भएमा लागू हुने कर दर निर्धारण गर्न सहज हुने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्