नेभिगेशन
अर्थतन्त्र

३७ दिनमा भन्सार राजस्व १६ प्रतिशत

बन्द नाका र विपद्का बीच १ खर्ब २ अर्ब रुपैयाँ उठ्यो

काठमाडौं । प्रमुख व्यापारिक नाकामध्ये तातोपानी लामो समयदेखि सञ्चालनमा नरहेको र भोटेकोशी बाढीबाट रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको अवस्थामा पनि भन्सार राजस्व संकलन एक खर्बभन्दा बढी उठेको छ । 
चालु आर्थिक वर्ष २०८३÷८४ को साउन, भदौ र असोज ६ अर्थात मंगलबारसम्मको ६७ दिनमै सरकारले १ खर्ब २ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गरेको हो । 
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ६ खर्ब २८ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । साउन १ देखि असोज ६ सम्म १ खर्ब २ अर्ब रुपैयाँ संकलन भइसकेको छ । यो वार्षिक लक्ष्यको करिब १६ प्रतिशत हो ।
सरकारले अब चालू आर्थिक वर्षमा थप ५ खर्ब २७ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गर्नुपर्नेछ । अर्थात् निर्धारित लक्ष्यको करिब ८४ प्रतिशत रकम आर्थिक वर्षको बाँकी अवधिमा उठाउनुपर्ने अवस्था छ ।
अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सानका अनुसार प्रतिकूल परिस्थितिका बाबजुद भन्सार प्रशासनले राजस्व संकलनलाई निरन्तरता दिएको छ । विशेषगरी दुई प्रमुख उत्तरी नाका प्रभावित भएको अवस्थामा पनि समग्र भन्सार राजस्व संकलन एक खर्ब रुपैयाँ नाघेको जानकारी उनले दिए । 
नेपाल सरकारको अर्थतन्त्रको मेरुदण्ड मानिने भन्सार राजस्व संकलन सुरुवाती चरणमा उत्साहजनक रहेको र पछिल्लो तथ्यांकअनुसार, बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति र प्रमुख व्यापारिक नाकाहरू बन्द रहेको विषम परिस्थितिमा पनि राजस्व संकलनको लक्ष्य पछ्याउन सरकार सफल देखिएको सहसचिव लम्सालको भनाइ छ । 
सरकारले चालू आर्थिक वर्ष २०८३÷८४ का लागि कुल ६ खर्ब २८ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गर्ने महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको छ। 
अझै पनि यस आर्थिक वर्षमा ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व उठाउन बाँकी छ । वर्षको सुरुवाती महिनाहरूमा नै १ खर्बको आकडा पार गर्नुलाई अर्थविद्हरूले सकारात्मक रूपमा लिएका छन् ।
यो वर्षको मनसुन नेपालका लागि निकै चुनौतीपूर्ण रहेको छ । विशेषगरी उत्तरी नाकाहरूबाट हुने व्यापारमा प्राकृतिक प्रकोपले ठूलो धक्का पु¥याएको छ । भन्सार विभागको रिपोर्ट अनुसार, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा भन्सार कार्यालयको भौतिक संरचनामा पूर्ण रूपमा क्षति पुगेको छ । यसका कारण उक्त नाका हाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । नजिकिंदो दशैं तिहारका बेला बढी राजस्व उठ्ने भन्सारका रूपमा रहेको रसुवागढी खुलेको भए अझ बढी राजस्व उठ्ने भन्सार विभागको निर्देशक किशोर बर्तौलाले बताए । 

बर्तौलाले भने अर्को प्रमुख व्यापारिक नाका तातोपानी भन्सार कार्यालय पनि केही समयदेखि प्राविधिक तथा अन्य कारणले सञ्चालनमा आउन सकेको छैन । चीनसँगको व्यापारका दुई प्रमुख नाकाहरू ठप्प प्रायः रहेको अवस्थामा पनि १ खर्बभन्दा बढी राजस्व संकलन हुनुलाई भन्सार प्रशासनको ठूलो उपलब्धिको रूपमा रहेको उनको भनाइ छ । दक्षिणतर्फका प्रमुख भन्सार विन्दुहरू वीरगन्ज, भैरहवा, विराटनगरलगायतबाट भएको आयात र चुहावट नियन्त्रणमा गरिएको कडाइले यो नतिजा सम्भव भएको बर्तौलाको दाबी छ । 
अर्थ मन्त्रालय र भन्सार विभागले वर्तमान उपलब्धिलाई ‘भन्सार प्रशासनको अथक प्रयास’ को प्रतिफल मानेको छ । भन्सार प्रक्रियामा गरिएको डिजिटलाइजेसन, प्रविधिको प्रयोग र सीमा नाकामा हुने अवैध व्यापार नियन्त्रणमा सुरक्षा निकायसँगको समन्वयले राजस्व चुहावटमा कमी आएको दाबी मन्त्रालयको र विभागको छ । 
भन्सार विभागले  रसुवा भन्सारलाई यथाशीघ्र सञ्चालनमा ल्याउन र तातोपानी नाकाको समस्या समाधान गरी सञ्चालन गर्न सरकारले पहल गरिरहेको जनाएको छ । यी नाका खुल्ने बित्तिकै राजस्व संकलनको दरमा अझै वृद्धि हुने अपेक्षा गरिएको छ ।
बाँकी राजस्व संकलनको लक्ष्य भेटाउन सीमा नाकामा हुने चोरी पैठारी र न्युन विजकीकरणलाई पूर्ण रूपमा निरुत्साहित गर्ने रणनीति लिइएको पनि बर्तौलाले बताए । व्यापारिक लागत घटाउन र छिटो छरितो जाँचपासका लागि ’सिंगल विन्डो’ प्रणालीलाई थप प्रभावकारी बनाइने जानकारी पनि उनले दिए । 
भन्सार विभागले उपलब्ध स्रोत र जनशक्तिको परिचालन गर्दै राजस्व संकलनलाई प्राथमिकतामा राखेको जनाएको छ । 

आर्थिक वर्षको सुरुमै व्यापार घाटा ३ खर्ब २४ अर्ब 
काठमाडौं । आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिना साउन र भदौमा नेपालको वैदेशिक व्यापार घाटा  ३ खर्ब २४ अर्ब ४३ करोड पुगेको छ । यस अवधिमा देशभित्र भित्रिएको कुल वस्तु आयात  ४ खर्ब १ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने निर्यात जम्मा ७६ अर्ब ५९ करोड रुपैयाँको मात्र भएको छ । तथ्यांक अनुसार १ रुपैयाँको निर्यात हुँदा पाँच रुपैयाँभन्दा बढीको सामान आयात भएको छ ।
व्यापार घाटाको ठूलो हिस्सा प्रमुख दक्षिणी भन्सार नाकाहरूबाट सिर्जना भएको छ । वीरगञ्ज भन्सार कार्यालयबाट मात्रै  १ खर्ब ६३ अर्ब ६२ करोडको घाटा देखिएको छ । यस नाकाबाट  १ खर्ब ९७ अर्ब ३६ करोडको आयात भएको छ भने निर्यात  ३३ अर्ब ७४ करोड रुपैयाँको मात्र भएको छ । वीरगञ्ज एक्लैले देशको कुल व्यापार घाटाको करिब ५० दशमलव चार प्रतिशत हिस्सा ओगटेको छ । 
भैरहवा भन्सारबाट  ५३ अर्ब २१ करोड रुपैयाँको घाटा भएको छ । यहाँ आयात  ६० अर्ब ५८ करोड रुपैयाँ र निर्यात ७ अर्ब ३७ करोड रुपैयाँ मात्र भएको छ । विराटनगर भन्सारबाट ३२ अर्ब १४ करोड रुपैयाँ घाटा देखिएको छ । यस नाकामा आयात  ५१ अर्ब ९२ करोड र निर्यात १९ अर्ब ७८ करोड रुपैयाँको भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट  २१ अर्ब ४० करोड रुपैयाँको व्यापार घाटा भएको छ । यो भन्सारबाट २८ अर्ब ९५ करोड रुपैयाँको आयात र ७ अर्ब ५५ करोड रुपैयाँको निर्यात भएको छ । यी चार प्रमुख नाकाबाट मात्रै कुल व्यापार घाटाको करिब ८३ प्रतिशतभन्दा बढी हिस्सा रहेको छ । 
नेपालगञ्ज भन्सारबाट १४ अर्ब ४५ करोड रुपैयाँको व्यापार घाटा देखिएको छ । यहाँबाट आयात मात्रै १५ अर्ब ३ करोड रुपैयाँको र निर्यात जम्मा ५८ करोड रुपैयाँको मात्र भएको छ । बाँकी सबै साना भन्सार कार्यालयहरूबाट सिर्जना भएको घाटा करिब  ३९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । 
उत्तरी नाकाहरूको अवस्था झनै कमजोर देखिएको छ । मुस्ताङ भन्सारबाट  ८ अर्ब २ करोड रुपैयाँको सामान आयात भए पनि निर्यात नगण्य मात्रामा मात्र भएको छ । रसुवा भन्सारबाट भने ७ अर्ब ९१ करोड रुपैयाँको आयात र  १२ करोड रुपैयाँको निर्यात भएको छ । तातोपानी भन्सारबाट  ८७ करोड रुपैयाँको आयात भए पनि निर्यात शून्य रहेको छ । तथ्यांकअनुसार निर्यातको आधार अत्यन्त साँघुरो रहेको छ । कुल निर्यातको ९७ प्रतिशतभन्दा बढी हिस्सा जम्मा पाँच वटा भन्सार नाकाबाट भएको छ । एघार वटाभन्दा बढी नाकाबाट यस अवधिमा निर्यात शून्य छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्