नेभिगेशन
साहित्य

उदासीका एकै साथ दुई कृति

वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. टीकाराम उदासीद्वारा सृजित दुई महत्त्वपूर्ण कृतिहरू एक भव्य साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ । सर्वोदय पुस्तकालय र बी.एन. पुस्तक भण्डारको संयुक्त आयोजनामा आयोजित उक्त विशेष कार्यक्रममा डा. उदासीको नियात्रा संग्रह ‘आमार सोनार बङ्गला’ र कविता संग्रह ‘इतिहासको पुनर्मुद्रण’ सार्वजनिक गरिएको हो ।
सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्ष तथा भाषा आयोगका पूर्व सदस्य तथा वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विमोचित कृतिहरूमाथि टिप्पणी गर्दै वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी र थमन बस्नेतले दुवैले कृति माथि  गहन समीक्षा राखेका थिए । कार्यक्रममा  लेखक डा. टीकाराम उदासीले नियात्रा र कवितासंग्रह नामक दुईवटा पुस्तक लेखनका दौरानका आफ्ना अनुभव, अनुभूति र पृष्ठभूमिबारे विचार व्यक्त गरेका थिए । राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा र परिषद्का सल्लाहकार तथा वरिष्ठ साहित्यकार पुरुषोत्तम खनाल लगायतले शुभकामना मन्तव्य दिँदै लेखकलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको आरम्भमा सर्वोदय पुस्तकालयका उपाध्यक्ष चन्द्रराज  पन्तको स्वागत मन्तव्यबाट आरम्भ भएको  थियो भने  सञ्चालन बी.एन. पुस्तक भण्डारका कार्यकारी निर्देशक सूर्य बिसीले गरेका थिए ।
कार्यक्रममा विभिन्न स्थानबाट पाल्नुभएका साहित्यिक स्रष्टा, बुद्धिजीवी, प्राध्यापक, शिक्षक तथा पुस्तकप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य