नेभिगेशन
साहित्य

बुकर पुरस्कारको छोटो सूची जारी

यस वर्षको बुकर पुरस्कारको छोटो सूचीमा निकै परिचित नामहरू समेटिएका छन् । यसअघि पुरस्कार जितिसकेका मार्लन जेम्स र डग्लस स्टुअर्ट फेरि प्रतिस्पर्धामा छन् । पुलित्जर पुरस्कार विजेता एलिजाबेथ स्ट्राउट र चर्चित बेलायती लेखक एम जोन ह्यारिसन पनि छोटो सूचीमा परेका छन् ।
उपन्यासकार तथा कवि लुक केनार्ड र पहिलो पटक उपन्यासकार रेबेका पेरी पनि ५० हजार पाउन्ड राशिको पुरस्कारको दौडमा छन् । विजेताको घोषणा आगामी सोमबार, नोभेम्बर ९ मा गरिनेछ ।
सन् २०१५ मा ‘ए ब्रीफ हिस्ट्री अफ सेभेन किलिङ्स’ का लागि बुकर पुरस्कार जितेका जमैकाली लेखक जेम्स यसपटक ‘द डिसअपियर्स’ का लागि छोटो सूचीमा परेका हुन् । एड्सको समयमा जमैकामा यो उपन्यास आधारित छ । यस्तै जोन हर्बर्टको जेल र त्यहाँको विषयवस्तुमा आधारित ‘फच्र्युन एन्ड मेन्स आइज’ पनि सूचीमा छ । समलैंगिक पुरुषहरूको समूहलाई लक्षित गरी भएको जेल आक्रमणलाई कथाको केन्द्रमा राखिएको छ ।
स्टुअर्टले सन् २०२० मा ‘शुगी बेन’का लागि बुकर पुरस्कार जितेका थिए । यसपटक उनी ‘जोन अफ जोन’का लागि पुनः मनोनयनमा परेका छन् । यो पुस्तकलाई ‘मौनतामा प्रेम गर्न, तड्पिन र पीडा सहन बाध्य समलैंगिक पुरुषहरूको जीवनको गहिरो अन्वेषण’ भनी समीक्षकहरुले टिप्पणी गरेका छन् ।
‘ओलिभ किटरिज’ उपन्यासका लागि सन् २००९ को पुलित्जर पुरस्कार जितेकी स्ट्राउट सन् २०१६ मा ‘माइ नेम इज लुसी बार्टन’का लागि बुकरको लामो सूचीमा परेकी थिइन् । सन् २०२२ मा ‘ओ विलियम !’ का लागि उनी छोटो सूचीमा पनि परेकी थिइन् । यस वर्ष उनी ‘द थिङ्स वी नेभर से’का लागि छोटो सूचीमा समावेश भएकी छन् ।
सन् २०२२ मा बुकर पुरस्कारको निर्णायक मण्डलमा रहेका ह्यारिसन यसपटक ‘द एन्ड अफ एभ्रिथिङ’का लागि छोटो सूचीमा परेका छन् । नाम नखुलाइएको केन्टको समुद्री किनारको सहरमा आधारित यो संसार विनाशपछिको उपन्यास हो । उपन्यासले मानिसको मनोविज्ञान, अझ सभ्यताको मनोविज्ञानभित्र गहिरोसम्म पुग्छ र अहिलेको जीवनमा रहेको भयावह असुरक्षालाई उजागर गर्ने बताइएको छ ।
छोटो सूचीमा परेका पुस्तकहरूले जोखिम उठाएको निर्णायक मण्डलका सदस्य लेखक रेमन्ड एन्ट्रोबसले बताए । उनका अनुसार यी ‘कृत्रिम बुद्धिमत्ताले पुनः सिर्जना गर्न नसक्ने, अत्यन्त मानवीय पुस्तकहरू” हुन् । यस वर्षको निर्णायक मण्डलमा अध्यक्ष मेरी बियर्डसँगै पल्प ब्यान्डका मुख्य गायक जार्भिस ककर, लेखिका प्याट्रिसिया लकवुड र ‘गार्डियन’ की पत्रकार रेबेका लिउ छन् ।
छोटो सूचीमा परेका सातमध्ये चार पुस्तक पुरुष लेखकका छन् । ‘ब्ल्याक ब्याग’, ‘द डिसअपियर्स’ र ‘जोन अफ जोन’ गरी तीन पुस्तकले पुरुषत्व र पुरुष यौनिकताको विषयलाई समेत खोतलेका छन् ।
छोटो सूचीमा पुरुष लेखकहरूको बाहुल्य हुनु ‘अचम्मको कुरा’ भएको निर्णायक मण्डलका ककरले बताए । उनका अनुसार सामान्यतः पुरुषले लेखेका पुस्तकहरू महिलाले लेखेका पुस्तकको तुलनामा त्यति राम्रा हुँदैनन् । उनले पुरुषत्वको विषयमा धेरै पुस्तक आउनुको कारण पुरुषहरूले आफ्नो भूमिकालाई पुनर्विचार गर्नुपर्ने अवस्थासँग सम्बन्धित हुन सक्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य