नेभिगेशन
अर्थतन्त्र

मनी ट्रान्सफरबाट दुई अर्ब ६१ करोड हुण्डी !

काठमाडौं । मनी ट्रान्सफरको काम हो वैध तरिकाले रकम साटिदिने । एक ठाउँमा जम्मा गरेको रकम पठाइएका ठाउँमा वैध नेटवर्कमार्फत दिलाउने । तर, मनी ट्रान्सफरमार्फत हुन्डी गर्न थालेका घटना बाहिर आएका छन् । 
एक सातामा कोशीमा दुई घटना फेला परेका छन् । जसमा २ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको खुलेको छ । अर्को  हुण्डीमार्फत करिब एक अर्ब चार करोड रुपैयाँ कारोबार गरेको आरोपमा प्रहरीले सुनसरीकी एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा प्राप्त सूचनाका आधारमा गरिएको अनुसन्धानबाट धरान–१३ की ज्योति शाही हुण्डी कारोबारमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । शाहीले अन्य व्यक्तिसँगको मिलेमतोमा इटहरीस्थित घरेलु तथा साना उद्योग कार्यालयमा २०६८ भदौ १६ मा ‘शाही मनि ट्रान्सफर’ नाममा फर्म दर्ता गरेकी थिइन् । उक्त फर्मका नाममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकसहित ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता थिए । अनुसन्धानमा ती खाता संदिग्ध कारोबारमा प्रयोग गरिएको देखिएको प्रहरीले जनाएको छ ।
ती खातामार्फत विदेशमा आर्जन भएको रकम अनौपचारिक माध्यमबाट नेपाल भिœयाइएको पाइएको छ । विदेशबाट आएको रकम विभिन्न व्यक्तिका खातामा स–साना भागमा बाँडेर कनेक्ट आईपीएसलगायत विद्युतीय माध्यमबाट पठाउने गरिएको अनुसन्धानमा देखिएको छ ।
प्रहरीका अनुसार ती कारोबारका अधिकांश रकम खातावालासँग असम्बन्धित व्यक्तिहरुबाट भएको देखिएको छ । यही आधारमा प्रहरीले शाही हुण्डी कारोबारमा संलग्न रहेको निष्कर्षसहित अनुसन्धान अघि बढाएको हो ।
प्रहरीले शाहीविरुद्ध हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा पक्राउ अनुमति लिन सुनसरी जिल्ला अदालतमा निवेदन दिएको थियो । अदालतबाट बुधबार पक्राउ अनुमति प्राप्त भएपछि केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले शाहीलाई धरान–५ खैरेनीबाट पक्राउ गरेको जनाएको छ ।
यसअघि गत बिहीबार हुण्डीमा डेढ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विराटनगर–१५ का ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह छन् । उनीहरु शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा पक्राउ परेका हुन् ।  दुवैले विभिन्न व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्