नेभिगेशन
साहित्य

चिनियाँ ‘सुर्पणर्खा’को कथा

राम¬–लक्ष्मणको वनबासका क्रममा रावणकी बहिनी सुपर्णखा रामप्रति ज्यादै मोहित भइन् । जसरी पनि रामलाई पति वरण गर्छु भनेर अड्डी कसेपछि लक्ष्मणले उनको नाक काटेर विरुप बनाइदिए ।
‘रामायण’मा वर्णित यो कथासँग मिल्दोजुल्दो कुनै व्यक्तिको नाक काटिएको प्रत्यक्ष प्रमाण वा शरीर हालसम्म फेला परेको पाइँदैन तर पछिल्लो समय चीनमा फेला पारिएको एउटा खप्परले सुपर्णखाको कथालाई पुनः स्मरण गराएको छ ।
करिब ७०० वर्षअघि चीनमा एक जना महिलाको नाक पूरै काटिएको थियो । सायद जनावर चोरेको सजायस्वरूप यसो गरिएको हुन सक्छ । यो घटनापछि उनी कम्तीमा पनि केही वर्ष बाँचिन् र नाकको त्यो प्वाल छोप्न उनले नक्कली नाक लगाएकी पनि हुन सक्छिन् । प्राचीन चीनमा सजायस्वरूप नाक काटिने चलन थियो भन्ने कुराको यो नै अहिलेसम्म भेटिएको एक मात्र भौतिक प्रमाण हुन सक्छ ।
यो अनुसन्धानमा संलग्न नरहेका हार्वर्ड विश्वविद्यालयका डेभिड शे भन्छन्, “मलाई लाग्छ उनको जीवन निकै गाह्रो थियो होला, उनले समाजमा धेरै लाञ्छना र चुनौतीहरू भोगेकी हुनुपर्छ । अनुहार बिग्रेको अवस्थाले मानिसको पहिचान, अरूसँगको घुलमिल र समाजमा उसको स्थानलाई नराम्रो असर गर्न सक्छ ।”
प्राचीन चीनका कानुनका किताबहरूमा मानिसको नाक काट्ने कामलाई ‘पाँच सजाय’ मध्ये एक मानिएको छ । यसका साथै टाउको काट्ने, हातखुट्टा काट्ने, खसी पार्ने र अनुहारमा ट्याटु खोप्ने सजाय पनि ती पाँच सजायमा पर्थे । सन् १२७९ देखि १३६८ सम्म चलेको युआन वंशको अन्त्यतिर, विशेषगरी महँगा जनावर चोर्दा वा सस्ता जनावरहरू बारम्बार चोर्दा यस्तो सजाय दिइने कानुन थियो ।
टेक्सास ए एण्ड एम विश्वविद्यालयका चियान वाङका अनुसार प्राचीन किताबहरूमा यस्ता हजारौं घटना लेखिएका भए तापनि, साँच्चै नै त्यस्तो भएको थियो भन्ने भौतिक प्रमाण यसअघि भेटिएको थिएन ।
सन् २०१८ मा चीनको मध्य भागमा पर्ने हेनान प्रान्तमा एउटा व्यापारिक स्कुल बनाउनुअघि गरिएको सर्वेक्षणमा २९९ वटा चिहान भएको एउटा समाधिस्थल भेटिएको थियो । नजिकै रहेको सानमेनजिया इन्स्टिच्युट अफ कल्चरल रेलिक्स एन्ड आर्कियोलोजीका फेई यान र उनका साथीहरूले त्यो ठाउँको उत्खनन गरे र त्यहाँ भेटिएका कंकालहरू झेन्जाउ विश्वविद्यालयमा सुरक्षित राखे ।
त्यहाँका एक पुरातत्वविद् यावेई झाउले एउटा खप्परमा नाकको प्वाल अचम्मले ठूलो भएको देखे । त्यहाँ हड्डी थिएन र काटिएको भाग निको भइसकेको जस्तो देखिन्थ्यो । यसबाट ती महिला जीवित हुँदै उनको नाक काटिएको थियो भन्ने अनुमान गर्न सकिन्छ ।
सन् २०२४ सम्ममा वाङ पनि यो अनुसन्धानमा जोडिए । अनुसन्धानकर्ताहरूले कम्मर र खप्परको बनावट हेरेर त्यो कंकाल एक महिलाको भएको पत्ता लगाए । दाँतको खिवाइ र हड्डीको अवस्था हेर्दा उनको उमेर ४० देखि ४५ वर्षको बीचमा भएको अनुमान गरियो । उनको दाहिने तिघ्राको हड्डीको रेडियोकार्बन परीक्षण गर्दा उनको मृत्यु सन् १२९८ देखि १४०४ को बीचमा भएको देखियो, जुन समय युआन वंशको अन्त्य र मिङ वंशको सुरुवातको समय थियो । चिहानको बनावट पनि युआन वंशको समयसँग मिल्दोजुल्दो थियो ।
कंकालको रासायनिक (आइसोटोप) परीक्षणले ती महिलाले धेरैजसो कोदो खाने गरेको र मासु निकै कम खाने गरेको देखायो । यसले उनको आर्थिक र सामाजिक अवस्था अलि कमजोर थियो भन्ने संकेत गर्छ ।
सीटी स्क्यानबाट हेर्दा उनको नाक भित्र र वरपरको धेरै हड्डी र मासु तलबाट माथितिर काटेर निकालिएको देखिन्छ भनेर वाङ बताउँछन् । काटिएको ठाउँ निको भएको अवस्था हेर्दा उनी नाक काटिएपछि पनि धेरै वर्ष बाँचेकी थिइन् भन्ने बुझिन्छ । यद्यपि, उनलाई सास फेर्न र माथिल्लो ओठ चलाउन पक्कै गाह्रो हुन्थ्यो होला ।
नाकको प्वाल वरपर साना–साना हड्डीका डल्लाहरू पलाएका थिए । यो लामो समयसम्म घाउ पाक्ने वा सुन्निने समस्याको कारणले भएको हुन सक्छ, वा उनले लगाएको नक्कली नाकको दबाबले गर्दा पनि यस्तो भएको हुन सक्छ ।
यसका साथै, ती महिलालाई घोप्टो पारेर गाडिएको थियो । युआन वंशको समयमा यसरी गाड्ने चलनलाई कहिलेकाहीँ सजायसँग जोडेर हेरिन्थ्यो ।
वाङ थप्छन् कि ती महिलाको घाउ रोग, दुर्घटना वा आफैंले काटेको कारणले पनि भएको हुन सक्छ । तर, अनुसन्धान टोलीले यस्ता कुराहरू प्रमाणित गर्ने कुनै लक्षण भेटेनन् । यदि उनीहरूको अनुमान सही हो भने, यो कंकाल प्राचीन चीनमा सजायस्वरूप नाक काटिने चलन थियो भन्ने कुराको पहिलो भौतिक प्रमाण हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य