नेभिगेशन
अर्थतन्त्र

नेपाल–भारत आर्थिक सहकार्य बढाउन द्विपक्षीय संवाद

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का अध्यक्ष सुनिल केसीको नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वको महासंघको टोलीसँग भेटवार्ता गरेको छ । 
नेपाल–भारत आर्थिक सहकार्य तथा दुई संस्थाबीचको संस्थागत समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको हो । 
भेटवार्तामा द्विपक्षीय व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता ( एआई), नेपाल–भारत संयुक्त व्यवसाय मञ्च ( नेपाल–इण्डिया जोइन्ट बिजनेस फोरमैैै), द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, आर्थिक कूटनीति, औद्योगिक–शैक्षिक तथा सार्बजनिक क्षेत्र सहकार्य एवम् भारतमा संयुक्त लगानी प्रवद्र्धनका पहल लगायतका विषयमा छलफल भएको बताइएको छ । 
निक्कीका अध्यक्ष केसीले एफएनसिसिआईसँग निक्कीको लामो समयदेखिको संस्थागत सम्बन्ध स्मरण गर्दै नियमित र संरचित संवादमार्फत दुई संस्थाबीचको सहकार्यलाई थप सक्रिय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
प्रतिनिधिमण्डललाई स्वागत गर्दै एफएनसिसिआईका अध्यक्ष अञ्जन श्रेष्ठले निक्कीको निरन्तर संलग्नताको प्रशंसा गरे । उनले नेपालको व्यापार तथा समग्र आर्थिक सम्बन्धमा भारतको महत्वपूर्ण भूमिकालाई उल्लेख गर्दै नेपाल–भारत आर्थिक सम्बन्धका विषयमा थप समन्वय आवश्यक रहेको बताए । यसका साथै, द्विराष्ट्रिय उद्योग वाणिज्य संघका रूपमा निक्कीको भूमिका एफएनसिसिआईको व्यावसायिक तथा आर्थिक हित प्रवर्धन गर्ने उद्देश्यसँग अत्यन्त निकट रहेको उनले उल्लेख गरे ।
दुवै संघले नेपाल–भारत व्यापारको अवस्था तथा नेपालको आन्तरिक उत्पादन र औद्योगिकीकरणलाई सुदृढ गर्ने अवसरबारे छलफल गरेको थियो । 
अध्यक्ष श्रेष्ठले विशेषगरी उत्तर प्रदेश र बिहारलगायत नेपालसग सीमा जोडिएका भारतीय राज्यका व्यवसाय तथा कम्पनीसग नेपाली उद्योग–व्यवसायको साझेदारी विस्तार गर्न सकिने सम्भावनातर्फ ध्यानाकर्षण गराए । उत्पादनमूलक तथा खाद्यसम्बन्धी क्षेत्रमा यस्ता सहकार्यले नेपाली उद्योगको विकासमा योगदान पु¥याउन सक्ने उनले बताए । 
उक्त छलफलमा द्विपक्षीय ऊर्जा सहकार्यलाई छलफलको प्रमुख प्राथमिकताका रूपमा लिइएको थियो । सहभागीहरूले आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य, त्यसका लागि निजी क्षेत्रको थप सहभागिता तथा लगानी र आवश्यक प्रसारण पूर्वाधारको समयमै विकास गर्नुपर्ने विषयमा छलफल गरे । दुवै संघले ऊर्जा क्षेत्रको सहकार्यका विषयमा नियमित संवादलाई निरन्तरता दिने सहमति जनाएका छन् ।
बैठकमा वाराणसीलगायत भारतीय गन्तव्यसग पर्यटनसम्बन्धी सम्बन्ध तथा सहकार्य विस्तार गर्ने सम्भावनाका साथै सूचना प्रविधि (आईसिटी) र कृत्रिम बुद्धिमत्ता ( एआई) जस्ता उदीयमान क्षेत्रमा सहकार्यका अवसरबारे पनि छलफल भएको थियो ।
निक्कीले नेपाल र भारतका उच्चस्तरीय द्विपक्षीय भ्रमण तथा भेटघाटका क्रममा नेपाल र भारतका निजी क्षेत्रका नेतृत्वबीच थप प्रत्यक्ष संवादका लागि वार्षिक नेपाल–भारत सिईओ राउन्डटेबल आयोजना गर्ने प्रस्ताव गरेको थियो । दुवै संस्थाले उक्त प्रस्तावलाई अघि बढाउन सहकार्य गर्ने सहमति जनाएका छन् साथै, भारतको नयाँदिल्लीमा नेपालको लगानी सम्मेलन नियमित रूपमा आयोजना गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो । लगानीका अवसर प्रवद्र्धन तथा व्यवसायी–व्यवसायी सम्पर्क विस्तार गर्ने उद्देश्यले भाईबे्रनट गुजरातमा एफएनसिसिआई ÷निक्कीको संयुक्त पहलमा नेपालको छुट्टै पैभिलियन बनाएर सहभागिता जनाउने निक्कीको को प्रस्तावबारे समेत छलफल भएको थियो ।
निक्कीले नेपाल–भारत आर्थिक विषयमा दीर्घकालीन संस्थागत समन्वय थप सुदृढ गर्न एफएनसिसिआईमा निक्कीका अध्यक्षका लागि पदेन स्थायी उपाध्यक्ष पदको व्यवस्था गर्ने प्रस्तावलाई पुनः प्रस्तुत गरेको थियो । 
भेटवार्तामा नेपाल–भारत संयुक्त व्यवसाय मञ्च ( नेपाल–इण्डिया जोइन्ट बिजनेश फोरम–जेबिएफ)मा निक्कीको सहभागिताबारे पनि छलफल भएको थियो । निक्कीले उक्त मञ्चमा थप महत्वपूर्ण भूमिका, अध्यक्ष वा सह–अध्यक्षको जिम्मेवारीसमेत विचार गर्न अध्यक्ष श्रेष्ठलाई अनुरोध गरेको थियो । एफएनसिसिआईले उक्त बिजनेश फोरममा निक्कीको सहभागिता थप विस्तार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी उच्चस्तरीय द्विपक्षीय भेटघाट तथा भ्रमणअघि आवश्यक सम्बन्धित माध्यमबाट यस विषयलाई अघि बढाउने सहमति जनाएको छ ।

यसैगरी, एफएनसिसिआईमा गठनको तयारीमा रहेको एमएनसि तथा एफडिआई फोरममा निक्कीको सहभागिता तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुसंग सम्बन्धित विषयमा पनि छलफल भएको थियो । सहभागीहरूले संस्थागत समन्वयलाई थप प्रभावकारी बनाउदै बाकी रहेका विषयहरूको समाधान गर्नुपर्नेमा जोड दिए ।
दुवै संघले व्यापार, लगानी, ऊर्जा, व्यावसायिक प्रतिनिधिमण्डल आदान–प्रदान, लगानी प्रवद्र्धन, पर्यटन, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, उद्योग–शैक्षिक क्षेत्र सहकार्य, खाद्य सुरक्षा, औद्योगिकीकरण तथा ऊर्जा सुरक्षालगायत क्षेत्रमा संयुक्त पहल अघि बढाउने र निरन्तर संवाद कायम राख्ने सहमति जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्