नेभिगेशन
अर्थतन्त्र

राजस्व संकलनमा उत्साहजनक सुधार

२ महिनामा २ खर्ब २ अर्ब संकलन

काठमाडौं । सरकारको राजस्व संकलनमा यस वर्ष सकारात्मक संकेत देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३÷८४ को असोज ७ सम्मको तथ्यांकअनुसार राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।
मन्त्रालयको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त विवरणअनुसार विहिवारसम्ममा कुल २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुुसार गत आर्थिक वर्ष २०८२÷८३ को सोही अवधिमा १ खर्ब ७५ अर्ब ६३ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । यो वार्षिक लक्ष्य गत वर्षको तुलनामा ६.८ प्रतिशतले बढी हो । असोज मसान्तसम्मका लागि सरकारले ३ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको भए तापनि असोज ७ सम्मको उपलब्धि हेर्दा निर्धारित अवधिको लक्ष्यको ६१ दशमलव ३९ प्रतिशत मात्र संकलन भएको छ ।
तथ्यांकअनुसार बुधबार एकै दिन ४ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । असोज महिनाको ७ दिनमा १८ अर्ब १४ करोड रुपैयाँ संकलन भएको छ । असोज महिनाका लागि सरकारले १ खर्ब १५ अर्ब ४१ करोड रुपैयाँको मासिक लक्ष्य तोकेको छ । 
सरकारले गत वर्ष १४ खर्ब ८० अर्ब रहेको वार्षिक लक्ष्य रहेकोमा यसवर्ष ६ दशमलव ८ प्रतिशतले बढाएर १५ खर्ब ८० अर्ब ३२ करोड पु¥याइएको थियो । 
गत वर्षको ३ खर्ब २१ अर्ब ५६ करोडको तुलनामा यस वर्ष २ दशमलव ७ प्रतिशतले बढेर ३ खर्ब ३० अर्ब २२ करोड पुगेको छ ।
विज्ञहरूका अनुसार आयातमा भएको क्रमिक सुधार, आन्तरिक उत्पादनमा बढोत्तरी र कर प्रशासनमा गरिएको कडाइले गर्दा राजस्वमा वृद्धि देखिएको हो । विशेषगरी भन्सार राजस्व र मूल्य अभिवृद्धि करमा भएको सुधारले समग्र संकलनलाई टेवा पु¥याएको दावी गरिएको छ । 
अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण गर्न र करको दायरा विस्तार गर्न विभिन्न कदमहरू चालिरहेको जनाएको छ । भन्सार नाकाहरूमा कडाइ, बिलिङ प्रणालीको अनुगमन र बक्यौता कर असुलीलाई प्राथमिकतामा राखिएको छ । मन्त्रालयले डिजिटल प्रणालीमार्फत वास्तविक समयमा तथ्यांक विश्लेषण गर्दै कमजोर संकलन भएका क्षेत्रहरूमा विशेष ध्यान दिने रणनीति लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्