नेभिगेशन
स्वास्थ्य

जीवनशैलीले घटाउन सक्छ मधुमेहको जोखिम

व्यायाम गर्ने र अति प्रशोधित खाद्य पदार्थ कम खाने हो भने वंशाणुगत रूपमा टाइप–२ मधुमेहको जोखिम भएका व्यक्तिले पनि त्यसबाट बच्ने सम्भावना बढाउन सक्ने एक अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरूले स्वस्थ जीवनशैली अपनाउँदा वंशाणुगत रूपमा प्राप्त मधुमेहको जोखिमलाई समेत कम गर्न सकिने भन्दै ‘हाम्रा जीन नै हाम्रो भाग्य होइनन्’ भनेका छन् ।
नियमित व्यायाम र अति प्रशोधित खाद्य पदार्थ कम भएको खानाको संयोजनले टाइप–२ मधुमेहको जोखिम ७० प्रतिशतसम्म कम भएको अध्ययनमा देखिएको छ । वंशाणुगत रूपमा मधुमेहको सबैभन्दा बढी जोखिम भएका व्यक्तिमा पनि यी दुई बानी अपनाउनेहरूमा मधुमेह विकास हुने सम्भावना ४९ प्रतिशत कम देखिएको थियो ।
झन्डै ५७ हजार बेलायती वयस्क सहभागी रहेको अध्ययनमा अनुसन्धानकर्ताहरूले जीन, व्यायाम र अति प्रशोधित खाद्य पदार्थको सेवनबीचको सम्बन्ध अध्ययन गरेका थिए । तयार खाना, प्रशोधित मासु, प्याकेटमा राखिएका खाजा तथा फिजी पेयजस्ता खाद्य पदार्थलाई अति प्रशोधित खाद्य पदार्थमा राखिन्छ । यस्ता खाद्य पदार्थमा घरमा खाना पकाउँदा सामान्यतया प्रयोग नहुने विभिन्न सामग्रीसमेत हुने गर्छन् ।
अनुसन्धानकर्ताहरूले सहभागीहरूले कति अति प्रशोधित खाद्य पदार्थ खान्छन् भन्ने पत्ता लगाउन प्रश्नावली प्रयोग गरेका थिए । उनीहरूको शारीरिक गतिविधि मापन गर्न हातमा लगाउने गतिविधि मापक उपकरण प्रयोग गरिएको थियो भने वंशाणुगत रूपमा टाइप–२ मधुमेह हुने सम्भावना पत्ता लगाउन आनुवंशिक तथ्यांकको विश्लेषण गरिएको थियो ।
झन्डै आठ वर्षको अध्ययन अवधिमा ९२६ जनामा टाइप–२ मधुमेह देखिएको थियो । अति प्रशोधित खाद्य पदार्थको बढी सेवन गर्नेहरूमा मधुमेहको जोखिम बढी देखिएको थियो भने नियमित व्यायाम गर्नेहरूमा जोखिम कम देखिएको थियो ।
अनुसन्धानकर्ताहरूले हप्तामा कम्तीमा १५० मिनेट मध्यमदेखि उच्च तीव्रताको शारीरिक गतिविधिलाई नियमित व्यायाम मानेका थिए । स्वस्थ जीवनशैलीका फाइदा वंशाणुगत जोखिमको सबै तहमा देखिएका थिए । सबैभन्दा बढी वंशाणुगत जोखिम भएका व्यक्तिमा पनि यसको प्रभाव देखिएको थियो ।
अध्ययनको नेतृत्व गरेका हङकङको सिटी युनिभर्सिटीका वेनसिन सुले भने, ‘हाम्रा जीनले नै हाम्रो भाग्य निर्धारण गर्दैनन् ।’
उनका अनुसार टाइप–२ मधुमेहको वंशाणुगत जोखिम धेरै भएका व्यक्तिमा पनि अति प्रशोधित खाद्य पदार्थको सेवन कम गर्नु र मध्यमदेखि उच्च तीव्रताको नियमित शारीरिक गतिविधि गर्नुले रोग लाग्ने जोखिम उल्लेख्य रूपमा कम भएको पाइएको छ ।
अध्ययनका निष्कर्ष इटालीको मिलानमा हुने युरोपियन एसोसिएसन फर द स्टडी अफ डायबिटिजको वार्षिक सम्मेलनमा प्रस्तुत गरिनेछ । यसलाई अमेरिकन डायबिटिज एसोसिएसनद्वारा प्रकाशित ‘डायबिटिज’ नामक जर्नलमा प्रकाशनका लागि पनि स्वीकार गरिएको छ ।
तर विज्ञहरूले यो अध्ययन अवलोकनमा आधारित भएकाले खानपान वा व्यायामले नै मधुमेहको जोखिम प्रत्यक्ष रूपमा घटाएको हो भनेर प्रमाणित गर्न नसकिने बताएका छन् । एबर्टे युनिभर्सिटीका प्राध्यापक अल्बर्टो फियोरेले जनस्वास्थ्यका दृष्टिले मुख्य सन्देश सबै अति प्रशोधित खाद्य पदार्थबाट पूर्ण रूपमा टाढा रहनु नभई खानाको समग्र गुणस्तर सुधार्नु भएको बताए । (द टाइम्स)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्