नेभिगेशन
मनोरञ्जन

बक्सअफिसमा ‘पेन्सन पट्टा’को सरप्राइज

भदौ २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ यस वर्षको सर्वाधिक कमाउने तेस्रो फिल्म बनेको छ । ‘गौंथली’ र ‘लालीबजार’ले अहिलेसम्म सबैभन्दा बढी व्यापार गरेका छन् ।
चलचित्र विकास बोर्डका अनुसार आइतबारसम्म माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले सात करोडमाथिको व्यापार गरेको छ । फिल्मको पहिलो १० दिनको कमाइ झन्डै चार करोड हाराहारी थियो ।
असोज ११ गतेसम्म फिल्मले ७ करोड १ लाख ४१ हजार ४०३ रुपैयाँ कमाइ गरेको छ भने सो अवधिसम्म २ लाख ४४ हजार ८४२ वटा टिकट बिक्री भएका छन् । 
यस फिल्मलाई पोखराले निकै माया गरेको देखिन्छ । पोखराबाट मात्रै फिल्मले एक करोडभन्दा बढीको व्यापार गरेको निर्माण समूहले जनाएको छ ।
फिल्म बनाउँदा–बनाउँदै आफ्नो सबै लगानी सकिएकाले राम्रोसँग प्रचार गर्ने पैसा नभएको बताउँदै आएका निर्माता तथा निर्देशक गुरुङले हालै पत्रकार सम्मेलनमा केही पत्रकारले आफ्नो मर्का नबुझेको गुनासोसमेत गरेका थिए । 
पोखराबाट पाएको साथलगत्तै देशका अन्य स्थानमा पनि फिल्मले राम्रो व्यापार गरेको उनले बताए । फिल्मका बारेमा ‘माउथ पब्लिसिटी’ राम्रो पाएपछि क्रमशः व्यापार उकालो लागेको हो । यस हिसाबले व्यापार गर्ने हो भने यो फिल्मले ‘लालीबजार’को व्यापारलाई समेत उछिन्ने सम्भावना रहेको केहीको धारणा छ ।
यसअघि यस वर्ष ‘गौंथली’ र ‘लालीबजार’ले बक्स अफिसमा राम्रो व्यापार गरेर सबैभन्दा बढी कमाउने सूचीमा नाम लेखाइसकेका छन् । ‘लालीबजार’ले ९ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेर दोस्रो बढी कमाउने फिल्मका रूपमा आफूलाई दर्ज गरिसकेको छ । 
‘पेन्सन पट्टा’सँगै प्रदर्शनमा आएको फिल्म ‘बेहुली’ले भने ११ असोजसम्म तीन करोडको आकडा पनि पार गर्न सकेको छैन । जबकि, यो फिल्मले सुरुवाती व्यापार निकै राम्रो गरेर ‘पेन्सन पट्टा’लाई समेत उछिनेको थियो । फिल्मले आइतबारसम्म २ करोड ९६ लाख ३६ हजार ३९४ रुपैयाँ ग्रस कमाइ गरेको छ । सो अवधिसम्म फिल्मलाई १ लाख ५ हजार ३३८ जनाले हेरेका छन् ।
त्यस्तै, भदौ १२ गते प्रदर्शन भएको फिल्म ‘पार्वती’ले २ करोड २८ लाख ५५ हजार ७३ रुपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा उल्लेख छ । फिल्मको ८१ हजार ३९७ वटा टिकट बिक्री भएका छन् । यसको एक सातापछि प्रदर्शन भएको कान्स विजेता फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले ३५ हजार ३३७ वटा टिकट बिक्रीबापत १ करोड २५ लाख १३० रुपैयाँ ग्रस कमाएको छ ।
‘तिनीहरू’ फिल्म यस पटकको अस्कर अवार्डका लागि नेपालका तर्फबाट नामांकनसमेत गरिएको छ । फिल्मले राम्रो व्यापार गरोस् भनी प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा गएको सेप्टेम्बर १३ मा फेसबुक स्टाटससमेत लेखेका थिए । उनले यस्तो प्रचार विरलै गर्ने गर्छन् । उनले प्रचार गर्दै लेखेका थिए, ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै गरेको यो चलचित्र अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत छ ।’
यसैगरी असोज २ गते एकसाथ प्रदर्शन भएका अन्य तीन फिल्महरूको पनि व्यापार सार्वजनिक गरेको छ । ‘झिँगेदाउ २’, र ‘कार्की साइँला’को कमाइ क्रमशः १ करोड ३४ लाख ८३ हजार ९२१ रुपैयाँ र ५ लाख ७८ हजार ६६० रुपैयाँ ग्रस कमाएका छन् । यस हिसाबले ‘कार्की साइँला’ नराम्रोसँग व्यापारमा पछि परेको देखिएको छ । यसअघि पनि जीतु नेपालले आफैंले लगानी गरेको फिल्म ‘आई एम जीतबहादुर’ नराम्रोसँग बक्स अफिसमा फ्लप भएको थियो ।
यस्तै गत साउन १ गते प्रदर्शन भएको फिल्म ‘गौंथली’ले भने अहिले पनि पर्दामा आफ्नो अस्तित्व कायम राखेको छ । ११ असोजसम्म यस फिल्मले २५ करोड ९५ लाख ८४ हजार ६४० रुपैयाँ ग्रस कमाइ गरेको बोर्डको विवरणमा उल्लेख छ । यो कमाइ ९ लाख ४१ हजार ३७२ वटा टिकट बिक्रीबापत भएको हो । ‘गौंथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्मको कीर्तिमानसहित यस वर्षको सर्वाधिक कमाउने फिल्म बन्न पुगेको छ ।
‘सुपर फ्लप’ पनि
नायक अनमोल केसीसँग लुक्स मिलेका कारण मिडिया एक्पोजर पाएका सोनल तामाङको डेब्यू फिल्म ‘माया बस्छ कि के हो !’ बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ । यस हिसाबले वर्षको डिजास्टर हुने फिल्मको सूचीमा यो पनि परेको छ ।
चलचित्र विकासका अनुसार यो फिल्मले असोज २ देखि ११ गतेसम्म मात्रै २३ हजार ६६० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो फिल्म हेर्नका लागि मात्रै ९२ वटा टिकट खरिद–बिक्री भएको बोर्डले जनाएको छ । यो फिल्ममा सोनल र कस्माता निरौला शीर्ष भूमिकामा छन् । फिल्मको निर्देशक राजु अधिकारी हुन् भने निर्माता बहादुरसिंह तामाङ हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्