नेभिगेशन
मनोरञ्जन

हलिउडमा महिला निर्देशित फिल्म धेरै नाफा कमाउन सफल

एक अध्ययनका अनुसार, पुरुषले बनाएका फिल्मभन्दा महिलाले लेखेका र निर्देशन गरेका फिल्महरू कम लगानीमै बढी नाफा कमाउन सफल भएका छन् । यसविपरीत पुरुष फिल्म निर्देशकहरुले भने महिलाको तुलनामा ठूलो बजेट पाउने गरेका छैन । 
पछिल्ला केही वर्षयता महिला निर्देशक वा लेखकले लेखेका फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । एलिन ब्रोश म्याककेनाले लेखेको ‘द डेभिल वेअर्स प्राडा २’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्ममध्ये एक बन्यो भने ग्रेटा गेर्विगले सह–लेखन र निर्देशन गरेको ‘बार्बी’ले सन् २०२३ मा डेढ अर्ब डलरभन्दा बढी कमाइ ग¥यो ।
मिडिया अनुसन्धान कम्पनी ‘फ्रन्टियर्स इन कम्युनिकेसन’ले सन् १९९४ देखि २०२३ सम्म रिलिज भएका करिब दुई लाख वटा फिल्मको विश्लेषण गरेर यो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । अध्ययनले देखाएअनुसार, महिलाले मात्रै लेखेका (तर निर्देशन नगरेका) फिल्मले पुरुष मात्र संलग्न भएका फिल्मभन्दा ३४ प्रतिशत बढी नाफा कमाएका छन् । त्यस्तै, महिलाले नै लेखेका र निर्देशन गरेका फिल्मले भने पुरुषले बनाएका फिल्मको भन्दा झन्डै आधा बजेटमै उति नै नाफा कमाएका छन् ।
महिलाहरूले बनाएका अन्य धेरै कमाउने फिल्महरूमा ‘फ्रोजन’ र ‘फ्रोजन २’ पनि पर्छन् । जेनिफर लीले लेखेका यी फिल्म बक्स अफिसको इतिहासमै सबैभन्दा धेरै कमाउने एनिमेटेड फिल्म हुन् । त्यसैगरी, जेनेभा रोबर्टसन–ड्वोरेट, आना बोडेन र रायन फ्लेकले मिलेर लेखेको सन् २०१९ को ’क्याप्टेन मार्भल’ले बक्स अफिसमा एक अर्ब डलरभन्दा बढी कमाइ गरेको थियो । तर, अनुसन्धानकर्ताहरूले के पनि पत्ता लगाए भने, पछिल्लो ३० वर्षमा सबैभन्दा धेरै बजेट (शीर्ष १ प्रतिशत) भएका सबै फिल्मका निर्देशक पुरुष नै थिए ।
फिल्म स्टुडियोहरूले महिला फिल्ममेकरलाई किन ठूलो बजेट दिँदैनन् भन्ने विषयमा भने यो अध्ययनले केही खुलाएको छैन । तर जर्मनीको जोहानेस गुटेनबर्ग युनिभर्सिटी मेन्जकी लेखिका अन्जा हुइलरले अघिल्ला अनुसन्धानहरूकै कुरामा सहमति जनाउँदै भनिन्, “निर्णय गर्ने ठाउँमा बसेका व्यक्तिहरू जोखिम र अनिश्चितताबाट बच्न चाहन्छन्, त्यसैले उनीहरू आफूले जानेबुझेकै र परिचित मानिसहरूसँग मात्र काम गर्न रुचाउँछन् ।”
उनका अनुसार, फिल्ममा लगानी गर्ने कुरा अत्यन्तै अनिश्चित हुने भएकाले परिचित मानिस र पुरानै शैलीमा काम गर्दा उनीहरूलाई सुरक्षित महसुस हुन्छ । यसले गर्दा आर्थिक रूपमा महिलाले बनाएका फिल्म फाइदाजनक हुन्छन् भन्ने प्रमाण हुँदाहुँदै पनि पुरानै चलनले निरन्तरता पाइरहन्छ ।
सन् २०१७ को ‘मीटू’ अभियानपछि फिल्म उद्योगमा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढे पनि अझै धेरै काम गर्न बाँकी रहेको अनुसन्धानकर्ताहरू बताउँछन् । ओस्कार अवार्डमा मनोनयनमा परेको ‘ह्यामनेट’ फिल्मकी सह–लेखिका क्लोई चाओले फिल्म उद्योग अझै पनि ‘महिला नेतृत्व’लाई बढावा दिने गरी तयार नभएको बताएकी छन् । त्यसैगरी, ‘बुकस्मार्ट’ र ‘द इन्भाइट’ जस्ता चर्चित फिल्मकी निर्देशक ओलिभिया वाइल्डले पनि फिल्म उद्योगमा महिलालाई हेला गर्ने प्रवृत्ति अझै व्याप्त रहेको गुनासो गरेकी छन् ।
वुमन इन फिल्म एन्ड टिभी (युके) की प्रमुख कार्यकारी अधिकृत केटी बेलिफले यो नतिजा कुनै आश्चर्यको कुरा नभएको बताइन् । “यो अध्ययनले धेरैलाई पहिल्यैदेखि थाहा भएको कुरालाई फेरि प्रमाणित गरिदिएको छ । महिलामाथि लगानी गर्नु सही काम मात्र होइन, यो व्यापारिक हिसाबले पनि निकै फाइदाजनक छ,” उनले भनिन् ।
नेपालको रेकर्ड भने दुःखलाग्दो
यता नेपालमा भने महिला निर्देशकले लेखेका वा निर्देशन गरेका फिल्महरुको व्यापार अझै सशक्त हुन सकेको देखिदैन । एक त नेपालमा महिला फिल्म लेखक–निर्देशकको संख्या नै न्यून छ, त्यसमाथि उनीहरुलाई विश्वास गरेर फिल्म निर्देशनको मौका दिनेको संख्या निकै न्यून छ ।
बजारमा फिल्म निर्देशकका रुपमा पहिचान बनाएका अनुहारमा पनि नाम चलेका अभिनेत्रीले नै तुलनात्मक रुपमा चर्चामा रहेका फिल्म निर्देशन गरेका छन् । अभिनेत्री रेखा थापा बारम्बार दोहोरिने फिल्म निर्देशक हुन् भने पछिल्लो समय नीता ढुंगाना अधिकारीले निर्देशन गरेको ‘पार्वती’ले तुलनात्मक रुपमा राम्रै व्यापार गरेको छ ।
उनको फिल्मले भदौ १२ गते रिलिज भएयता ८१ हजार ३ सय ९७ टिकट बिक्रीबाट २ करोड २८ लाख ५५ हजार ७३ रुपैयाँ आम्दानी गरेर फिल्मको लगानी सुरक्षित गरेको छ । केहीले भने यो फिल्मलाई ‘फ्लप’ घोषित गरिसकेका छन् ।
यसअघि जेठमा रिलिज भएको सहारा शर्माद्वारा निर्देशित ‘एक मुठ्ठी बादल’को बक्स अफिस व्यापार पाँच लाखभन्दा केही बढी मात्र देखिएको थियो ।
नेपालको ६० वर्षे लामो फिल्म निर्माणको इतिहासमा २०६२ सालमा सुचित्रा श्रेष्ठले ‘प्रेमयुद्ध’ निर्देशन गरेर पहिलो महिला निर्देशकको जिम्मेवारी पूरा गरेकी थिइन् । त्यसयता नेपाली फिल्म उद्योगले एक दर्जन महिला फिल्म निर्देशक जन्माइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्