नेभिगेशन
स्वास्थ्य

प्रातः सक्रियता अत्यन्त स्वस्थकर

काठमाडौं । अंग्रेजीमा एउटा भनाइ छ – अर्ली बड्र्स क्याच द वर्म । अर्थात्, सबेरै चारा खोज्ने चराले बढी कीरा (खाना) फेला पार्छन् । यो भनाइ मान्छेको जीवनमा पनि लागू हुने अध्ययनले देखाएको छ । सबेरै उठ्ने मानिसले काम बढी गर्न सक्ने मात्र होइन, सक्रिय र स्वस्थ जीवन पनि बढी बिताउने गरेको अध्ययनमा देखिएको हो  । 
राति अबेरसम्म जागा रहने मानिसले भने समयअगावै अवकाश लिनुपर्ने वा अशक्तता भत्तामा भर पर्नुपर्ने सम्भावना बढी देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । राति बढी सक्रिय हुने मानिसमा बिहान सक्रिय हुनेको तुलनामा बढी बिरामी पर्ने र तिनको अशक्तताका कारण पेन्सन लिनुपर्ने जोखिम ७० प्रतिशत बढी रहेको पाइएको छ ।
मान्छेको कामको शैलीलाई क्रोनोटाइप भनिन्छ । यसले मानिसको सुत्ने र उठ्ने प्राकृतिक समयतालिकालाई बुझिन्छ । सामान्यतया मानिसलाई बिहान सक्रिय हुने, राति सक्रिय हुने र यी दुईको बीचमा सक्रिय हुने गरी तीन समूहमा वर्गीकरण गर्ने गरिएको छ । यसअघिका अनुसन्धानहरूले पनि राति सक्रिय हुने मानिसको समग्र स्वास्थ्य कमजोर हुने र उनीहरूले कामकाजी जीवनमा बिहान सक्रिय हुने मानिसको तुलनामा बढी कठिनाइ भोग्ने देखाएका छन् ।
फिनल्यान्डको ओउलु विश्वविद्यालयको एउटा टोलीले मानिसको क्रोनोटाइप, उनीहरूले पाउने सुविधाहरू र अशक्तताका कारण समयअगावै अवकाश लिनुपर्ने अवस्थाबीच कुनै सम्बन्ध छ कि छैन भनेर अध्ययन गरेको थियो । शिक्षा र पेसाजस्ता सामाजिक तथा आर्थिक पक्षलाई समेत ध्यानमा राख्दा राति सक्रिय हुने मानिसमा त्यसपछिका १२ वर्षमा अशक्तता पेन्सन लिनुपर्ने सम्भावना १.७ गुणा बढी रहेको पाइयो ।
ब्रिटिस मेडिकल जर्नलको ‘अकुपेसनल एन्ड इन्भाइरोन्मेन्टल मेडिसिन’ नामक जर्नलमा प्रकाशित यो अध्ययन उत्तरी फिनल्यान्डमा लामो समयदेखि सञ्चालन हुँदै आएको जनसंख्या अध्ययनको तथ्यांकमा आधारित थियो ।
अध्ययनमा ४६ वर्ष उमेरका सहभागीलाई उनीहरूको क्रोनोटाइप पत्ता लगाउन विभिन्न प्रश्न सोधिएको थियो । उनीहरू बिहान कति सजिलै उठ्छन्, उठेको पहिलो घण्टामा कति थकान महसुस गर्छन्, कुन समयमा काम गर्न रुचाउँछन् तथा आफूलाई साँझ सक्रिय हुने व्यक्ति मान्छन् कि बिहान सक्रिय हुने व्यक्ति भन्ने विषयमा प्रश्न गरिएको थियो ।
अध्ययनमा समावेश ५ हजार ६ सय ७९ जनामध्ये ९.७ प्रतिशत पुरुष र १२.४ प्रतिशत महिला राति सक्रिय हुने प्रकारका थिए । त्यस्तै, ४६ प्रतिशत पुरुष र ४४ प्रतिशत महिला बिहान सक्रिय हुने समूहमा थिए । बाँकी मानिस यी दुई समूहको बीचमा पर्ने खालका थिए ।
१२ वर्षसम्म गरिएको अनुगमनका क्रममा १३५ पुरुष र २४९ महिलाले अशक्तता पेन्सन पाएको पाइयो । फिनल्यान्डमा अशक्तता पेन्सन गम्भीर र दीर्घकालीन रूपमा स्वास्थ्य अवस्था बिग्रिएपछि मात्र प्रदान गरिन्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार साँझ सक्रिय हुने मानिसको स्वास्थ्य कमजोर हुनुमा उनीहरूले अपनाउने स्वास्थ्यसम्बन्धी व्यवहार र शरीरको आन्तरिक घडीमा पर्ने असर दुवै जिम्मेवार हुन सक्छन् । शरीरको प्राकृतिक लय र समाजले निर्धारण गरेको दैनिक समयतालिकाबीच तालमेल नमिल्दा सामाजिक जेट ल्याग र निद्रासम्बन्धी समस्या उत्पन्न हुन सक्छ ।
अनुसन्धानकर्ताहरूले यस्ता निद्रासम्बन्धी समस्याले दीर्घकालमा स्वास्थ्यमा देखिने फरक निम्त्याउन सक्ने बताएका छन् ।
अध्ययनका लेखकहरूले भनेका छन्, ‘परम्परागत काम गर्ने समयतालिका राति सक्रिय हुने मानिसका लागि धेरै चाँडो हुन सक्छ । तर उनीहरूमध्ये अधिकांशले नियमित कार्यालय समयमा नै काम गर्नुपर्ने हुन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्