नेभिगेशन
मनोरञ्जन

पारिवारिक र सामाजिक कथामा आधारित चलचित्र 'अक्षरा'

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ र मौलिक प्रस्तुतिको खोजी भइरहेका बेला नयाँ आशा जगाउँदै चलचित्र 'अक्षरा' को निर्माण गरिएको छ ।
हास्य सिरियल 'सर्खारको सर' मार्फत दर्शकमाझ चिनिएका सफल निर्देशक विनयराज पौडेलले यसै चलचित्रमार्फत ठूलो पर्दामा निर्देशकीय डेब्यु गर्न लागेका हुन् । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यो चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट बिना कुनै काँटछाँट 'युनिभर्सल' (यू) प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ, जसको अर्थ यो चलचित्र सम्पूर्ण परिवारले सँगै बसेर हेर्न मिल्नेछ।
यो चलचित्र एक भावनात्मक सामाजिक-पारिवारिक ड्रामा हो, जसले विशेष गरी छोरीको इच्छाविपरीत अभिभावकले जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने गहिरो प्रभावलाई उजागर गर्दछ। नारीको पहिचान, सम्बन्धका उतारचढाव र पारिवारिक मूल्य-मान्यतालाई चलचित्रमा निकै मिहिन ढंगले प्रस्तुत गरिएको छ।
चलचित्रको मुख्य भूमिकामा '१२ गाउँ' चलचित्रबाट चर्चामा आएकी अभिनेत्री न्यान्सी खड्का र अभिनेता सुशील सिटौला रहेका छन्। उनीहरूका साथमा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता बस्नेत, सृष्टि खड्का, अंशु महर्जन लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ भने बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानालाई प्रस्तुत गरिएको छ।
यस चलचित्रलाई उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले निर्माण गरेका हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापा काजी र सुमन ज्योती न्यौपाने रहेका छन्। चलचित्रको मूल कथा उग्रसेन ढुंगानाले नै तयार पारेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले संयुक्त रूपमा लेखेका हुन् ।
चलचित्रमा दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन रहेको छ। नेपालभर यस चलचित्रको वितरणको जिम्मा नेशनल सिने ग्रुप नेपालले लिएको छ। निर्माण पक्षका अनुसार यो चलचित्र नेपाली समाज र प्रत्येक घरको वास्तविक कथासँग मिल्दोजुल्दो भएकाले दर्शकले यसलाई निकै रुचाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्