नेभिगेशन
साहित्य

वीणा जोशीलाई मदन पुरस्कार र किरण खरेललाई जगदम्बा श्री अर्पण

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार लेखक वीणा जोशी (राजभण्डारी) र जगदम्बा श्री पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई अर्पण गरेको छ । आइतबार आयोजित विशेष समारोहमा जोशीलाई उनको अनुसन्धानमूलक कृति ‘नेवाः समुदायया परम्परागत ख्वापाः प्याख’ (नेवार समुदायका परम्परागत मुकुण्डोनाच) का लागि मदन पुरस्कार प्रदान गरिएको हो ।

नेवार समुदायमा प्रचलित परम्परागत मुकुण्डो नाचको अध्ययन, अनुसन्धान तथा अभिलेखीकरणमा पु¥याएको योगदानको कदर गर्दै जोशीको कृतिलाई पुरस्कृत गरिएको हो । 

पुरस्कार पाएपछि अन्य सर्जकलाई के भन्न चाहनुहुन्छ भन्ने प्रश्नको उत्तरमा उनले भनिन्, ‘हरेक आदिवासी जनजातिहरूले राजनीति गर्न छाडेर, झण्डा बोक्न छाडेर यस्ता किताब लेख्नुपर्छ । राजनीतिले भन्दा किताबले आफ्नो संस्कृति बचाउँछ ।’

यस्तै नेपाली गीत–संगीतका क्षेत्रमा लामो समयदेखि सक्रिय गीतकार खरेललाई उनको समग्र सिर्जनात्मक योगदानको सम्मानस्वरूप जगदम्बा श्री पुरस्कार अर्पण गरियो ।

मदन पुरस्कार गुठीले प्रत्येक वर्ष घटस्थापनाका दिन मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार अर्पण गर्ने परम्परा कायम राख्दै आएको छ ।

ललितपुरमा आयोजित पुरस्कार अर्पण समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवै स्रष्टालाई सम्मान प्रदान गरेका हुन् । दुवै पुरस्कारको राशि जनही चार लाख रुपैयाँ रहेको छ । गुठीले गत भदौ २१ गते यी पुरस्कारका विजेताको नाम घोषणा गरेको थियो । 

२९८ पुस्तकमध्येबाट जोशीको कृति उत्कृष्ट
यस वर्ष मदन पुरस्कारका लागि कुल २९८ पुस्तक प्राप्त भएका थिए । तीमध्ये प्रारम्भिक छनोटपछि १० पुस्तकलाई मदन पुरस्कार श्रेष्ठ सूची–२०८२ मा समावेश गरिएको थियो ।

श्रेष्ठ सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ समावेश थिए ।

यी कृतिमध्ये जोशीको पुस्तकलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरिएको थियो । नेवार समुदायमा प्रचलित परम्परागत मुकुण्डो नाचको संकलन तथा अभिलेखीकरण गरेको आधारमा उक्त पुस्तक छनोट गरिएको गुठीले जनाएको छ । 

छ दशकको गीत लेखनको सम्मान
जगदम्बा श्री पुरस्कार प्राप्त गरेका किरण खरेल नेपाली गीत लेखनमा छ दशकभन्दा लामो समयदेखि समर्पित स्रष्टा हुन् । नेपाली गीत साहित्यमा उनले पु¥याएको दीर्घकालीन योगदानको कदर गर्दै गुठीले उनलाई यस वर्षको सम्मान प्रदान गरेको हो ।
पुरस्कार ग्रहणपछि खरेलले आफ्नो गीत लेखन कर्मलाई उच्च सामाजिक सम्मान प्रदान गरेको भन्दै मदन पुरस्कार गुठीप्रति आभार व्यक्त गरे । उनले गीतलाई साहित्यकै विधाका रूपमा मान्यता प्राप्त हुनु खुसीको विषय भएको उल्लेख गर्दै यसले गीत लेखनमा संलग्न स्रष्टाहरूको जिम्मेवारीसमेत बढाएको धारणा राखे ।
खरेलले मुलुक असहज परिस्थितिमा रहे पनि आफ्नो संस्कृति र परम्परालाई बिर्सन नहुने विचार व्यक्त गरे ।
समारोहमा विपुलेन्द्र चक्रवत्र्तीले विद्वत् प्रवचनसमेत दिएका थिए । उनले ‘नेपालको मानिस र नेपालको माटो’ विषयमा आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

सात दशक लामो मदन पुरस्कारको इतिहास
मदन पुरस्कार नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित पुरस्कारमध्ये एक हो । यसको स्थापना विसं २०१२ मा भएको थियो । पहिलोपटक विसं २०१३ मा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई एकसाथ मदन पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी, गुठीकी संस्थापिका रानी जगदम्बाकुमारी देवीको स्मृतिमा विसं २०४५ मा जगदम्बा श्री पुरस्कार स्थापना गरिएको हो । पहिलो जगदम्बा श्री सम्मान स्वरसम्राट् नारायणगोपाललाई प्रदान गरिएको थियो ।
मदन पुरस्कार नेपाल तथा नेपालबाहिर नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिन्छ भने जगदम्बा श्री नेपाली भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा विशिष्ट योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ ।
विसं २०७५ देखि दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ कायम गरिएको हो ।
यसअघि २०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास ‘उरमाल’लाई प्रदान गरिएको थियो भने जगदम्बा श्री सम्मान लोकसंस्कृतिकर्मी प्रेमदेव गिरीले प्राप्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य