नेभिगेशन
मनोरञ्जन

दशैँअघि फिल्मबजार सुस्तायो

चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत ९ वटा नेपाली फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ । त्यसमा सबैभन्दा बढी कमाइ फिल्म ‘गौँथली’को छ । यसले २५ असोज (आइतबार)सम्म ९ लाख ४४ हजार ६१२ वटा टिकट बिक्रीबापत २६ करोड २ लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाएको छ । यो २०८३ सालकै सर्वाधिक कमाउने फिल्म हो । 

आधा वर्ष सकिनै लाग्दा सबैभन्दा बढी कमाउने दोस्रो फिल्मका रूपमा ‘पेन्सन पट्टा’ बन्न पुगेको छ । यसले ‘लालीबजार’को ९ करोड ३२ लाख रुपैयाँको कमाइलाई उछिनेको हो । तीजको छेको पारेर भदौ २६ गते प्रदर्शन भएको फिल्मले आइतबारसम्म ९ करोड ८८ लाख ९२ हजार १८८ रुपैयाँ ग्रस कमाएको छ । यस अवधिमा फिल्मको ३ लाख ४७ हजार ८८२ वटा टिकट बिक्री भएका छन् ।

‘पेन्सन पट्टा’पछि कमाइका हिसाबले फिल्म ‘बाः एक योद्धा’ अगाडि देखिएको छ । बोर्डको सिनेपाः विवरणअनुसार फिल्मले आइतबारसम्म ३ करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कमाइ गरेको छ । यसमा पछिल्लो ७ दिनको योगदान १ करोड १२ लाख १६ हजार रुपैयाँभन्दा बढी छ । फिल्मको टिकट बिक्रीको संख्या भने १ लाख ७ हजार ५३३ पुगेको छ । 

त्यस्तै, निखिल उप्रेतीले निर्देशन तथा अभिनय गरेको ‘आचार्य’ले १ करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ बटुलेको छ । फिल्म रिलिजअघि आचार्यको चर्चा निकै ठूलो भए पनि  दर्शकले पनि उति नरूचाएको प्रस्ट भएको छ । 

यसैगरी ‘बेहुली’ले २ करोड ९९ लाख ४० हजार ७२४ रुपैयाँ, ‘झिँगेदाउ २’ले १ करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले १ करोड ३१ लाख ६० हजार ५४५ रुपैयाँ कमाएको छ । 

पछिल्लो हप्ता रिलिज भएको फिल्म ‘चमेलीको पोइ’ले ५ लाख ५० हजार २१० रुपैयाँ र ‘चंगुल’ले १ लाख ३८ हजार ३८० रुपैयाँ ग्रस कमाएका छन् । 

यस हिसाबले आचार्यदेखि चंगुलसम्मका फिल्मको लगानी पनि नउठ्ने पक्का भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्