नेभिगेशन
स्वास्थ्य

रोग शरीरमा, दोष मनलाईः महिलामाथि चिकित्सकीय पूर्वाग्रह

काठमाडौं । महिलाको शरीरमा देखिएका रोगका लक्षणलाई चिकित्सकले मानसिक समस्या वा तनावको परिणाम भन्दै पन्छाउने सम्भावना पुरुषको तुलनामा ७४ प्रतिशत बढी रहेको एक अध्ययनले देखाएको छ । अटोइम्युन रोगबाट पीडित महिलाले रोग पहिचान गराउन र उपचार पाउन वर्षौं कुर्नुपर्ने अवस्था रहेको अध्ययनको निष्कर्ष छ । बेलायतमा गरिएको यो अनुसन्धानले चिकित्सा क्षेत्रमा महिलाका स्वास्थ्य समस्याप्रति रहेको लैंगिक पूर्वाग्रह उजागर गरेको छ । 
विश्वभर करिब १० मध्ये १ जना अर्थात् करोडौं मानिसहरू अटोइम्युन समस्याबाट प्रभावित छन् । यसले थकान, मांसपेशी दुख्ने र छालामा डाबर आउने जस्ता स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । तर क्याम्ब्रिज र इस्ट एङ्गलिया विश्वविद्यालयले गरेको अनुसन्धानले यस्ता रोगका लक्षणहरूलाई डाक्टरहरूले कसरी लिन्छन् भन्ने कुरामा ठूलो लैंगिक भेदभाव रहेको देखाएको छ ।
अध्ययनका अनुसार, महिलाहरूको समस्यालाई गलत तरिकाले मानसिक कारणसँग जोड्ने, लक्षणहरूलाई तनावले गर्दा भएको भनी गलत पहिचान गर्ने र रोग पत्ता लाग्न ढिलाइ हुने सम्भावना धेरै हुन्छ । अध्ययनकी प्रमुख लेखक डा. मेलानी स्लोनले यस्तो गलत पहिचानले महिलाहरूलाई पु¥याउने असर निकै लामो समयसम्म रहन सक्ने र यसले उनीहरूको डाक्टरप्रतिको विश्वास र आफ्नै आत्मसम्मानमा समेत ठेस पुग्ने बताइन् ।
क्याम्ब्रिज र युइएको जनस्वास्थ्य तथा प्राथमिक उपचार विभागकी अनुसन्धानकर्ता समेत रहेकी स्लोनले केही महिलाहरू रोग पत्ता लगाउन नै वर्षौं कुर्न बाध्य भएको र यसले उपचारमा ठूलो ढिलाइ भएको बताइन् । ‘ल्यान्सेट इ–क्लिनिकल मेडिसिन’ जर्नलमा प्रकाशित यस अध्ययनमा अटोइम्युन समस्या भएका ६ हजार ६ सयभन्दा बढी मानिसलाई समावेश गरिएको थियो । अध्ययनमा धेरैजसो बेलायतका महिलाहरू सहभागी थिए ।
बिरामीहरूले आफ्नो मुख्य समस्या खुलाएका थिए । जसमध्ये करिब एक चौथाइ महिलामा अटोइम्युन थाइराइडको समस्या (हासिमोटो रोग) थियो । यसले ग्रन्थीलाई कम सक्रिय बनाउँछ । त्यस्तै, ग्रन्थी अत्यधिक सक्रिय हुने ‘ग्रेभ्स’ रोग पनि देखिएको थियो । हासिमोटो रोगले तौल बढ्ने, कपाल झर्ने, थकान लाग्ने र जोर्नी दुख्ने समस्या निम्त्याउन सक्छ भने ग्रेभ्स रोगका लक्षणहरूमा आँखा बाहिर निस्कने, मुटुको ढुकढुकी बढ्ने र तौल घट्ने पर्दछन् । यसैगरी हरेक सातमध्ये करिब एक महिलालाई ‘सिस्टेमिक लुपस’ भएको पाइएको थियो । यसले थकान, छालामा डाबर र मांसपेशी दुख्ने समस्या गराउँछ ।
पुरुष बिरामीहरूमा भने बाथ (रुमाटोइड अर्थराइटिस), भास्कुलाइटिस र ‘स्टिकी ब्लड सिन्ड्रोम’ भनेर पनि चिनिने एन्टिफोस्फोलिपिड सिन्ड्रोम (एपीएस) जस्ता समस्याहरू सबैभन्दा धेरै देखिएका थिए ।
अनुसन्धानकर्ताहरूले ३३ प्रतिशत पुरुषको तुलनामा ४३ प्रतिशत महिलालाई उनीहरूको समस्या मानसिक कारणले भएको भनिएको तथ्य फेला पारेका थिए । यसैगरी, २२ प्रतिशत पुरुषको तुलनामा ३४ प्रतिशत महिलाले आफ्ना लक्षणहरूलाई मानसिक वा तनावका कारण उब्जिएको भनेर गलत पहिचान गरिएको बताएका थिए ।
समग्रमा, उमेर, रोगको समूह र पारिवारिक आर्थिक अवस्था जस्ता पक्षहरूलाई ध्यानमा राखेर हेर्दा, पुरुषको तुलनामा महिलाहरूमा मानसिक रोगको गलत पहिचान हुने सम्भावना करिब ४६ प्रतिशत र तनावले गर्दा भएको भनिने सम्भावना करिब ७४ प्रतिशत बढी रहेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । पुरुषहरूमा रोग पत्ता लाग्ने समय धेरैजसो तीन महिनाभन्दा कम थियो भने महिलाहरूमा यो समय एकदेखि दुई वर्षसम्मको थियो ।
शरीरको रोग प्रतिरोधात्मक प्रणालीले झुक्किएर आफ्नै शरीरमा आक्रमण गर्दा अटोइम्युन समस्याहरू देखा पर्छन् । यस्ता रोगका लक्षणहरू साधारण मानिसहरूमा देखिने अन्य सामान्य समस्याहरूसँग मिल्दोजुल्दो हुने भएकाले यसको पहिचान गर्न जटिल हुन सक्छ । अध्ययन टोलीले रोग पत्ता लगाउन दुवै लिंगलाई चुनौती हुने भए पनि महिलाहरूले थप सास्ती भोग्नुपरेको बताएको छ । चिकित्सा क्षेत्रमा पहिलेदेखि चल्दै आएको पूर्वाग्रह अझै कायम हुन सक्ने र जसमा महिलाहरूलाई पुरुषको तुलनामा कम विश्वसनीय र आफ्ना लक्षणहरू बताउँदा बढी भावुक हुने भनेर हेर्ने गरिएको अनुसन्धानकर्ताहरूको भनाइ छ ।
स्लोनका अनुसार यो नतिजाले डाक्टरहरूले छिट्टै नै बिरामीको समस्यालाई मानसिक वा मनोवैज्ञानिक कारण भनेर पन्छाउने प्रवृत्तिलाई उजागर गरेको छ । उनले लक्षणहरूलाई सीधै मानसिक समस्या हो भनेर नसोच्नु अत्यन्तै महत्त्वपूर्ण रहेको र बाहिरबाट नदेखिने लक्षण लिएर आएका बिरामीहरूलाई डाक्टरहरूले कम्तीमा ‘म तिम्रो कुरा विश्वास गर्छु’ मात्रै भनिदिए पनि धेरै राहत मिल्ने कुरामा जोड दिएकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्