नेभिगेशन
साहित्य

लैंगिक तथा यौनिक विविधताको चिरफार गर्ने पुस्तक

संविधानसभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिंगदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक गरिएको छ । पुस्तक लोकार्पण कार्यक्रममा सहभागी संविधानसभा सदस्य, प्राध्यापक, लेखक तथा अधिकारकर्मीले लैंगिक तथा यौनिक विविधता, मानव प्रकृति र पहिचानबारे बुझ्न पुस्तक अध्ययन गर्न सुझाव दिएका छन् ।
वक्ताहरूले समाजमा लैंगिक तथा यौनिक विविधताबारे रहेको अन्योल हटाउन, पूर्वीय दर्शन र इतिहासमा रहेका सन्दर्भलाई बुझ्न तथा संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयनको अवस्था पहिल्याउन पुस्तक उपयोगी हुने बताए ।
संविधानसभाको मानवअधिकार समितिकी सभापति डा.बिन्दा पाण्डेले लैंगिक तथा यौनिक अल्पसंख्यकका अधिकार संविधानमा समेट्न लामो छलफल भएको बताइन् । संविधानमा ‘तेस्रो लिंग’ वा ‘थर्ड जेन्डर’ लेख्ने कि ‘लैंगिक तथा यौनिक अल्पसंख्यक’ भन्ने विषयमा छलफल भएको र अन्ततः पछिल्लो शब्दावली प्रयोग गर्ने निष्कर्षमा पुगेको उनले बताइन् ।
राष्ट्रिय सभा सदस्य रेनु चन्दले पुस्तकको आवरणले आफूमा जिज्ञासा उत्पन्न गरेको बताइन् । आवरणमा रहेको कङ्काल र छालासहितको मानिसको आकृतिको प्रसंग पुस्तक पढ्दै जाँदा खुल्दै जाने उनले बताइन् । उनका अनुसार आवरणले शिव र पार्वतीले एक्लाएक्लै मानिस जन्माउन खोजेको कथामार्फत एक्लै पूर्ण हुन नसकिने भाव प्रस्तुत गर्छ । सर्जक पन्तले विवाद सिर्जना गर्न नभई संवादको ढोका खोल्न पुस्तक लेखेको उल्लेख गर्दै चन्दले पश्चिमी लैंगिक ढाँचा सबै समाजका लैंगिक अनुभव बुझ्ने एक मात्र आधार नहुने तर्कसँग आफू सहमत रहेको बताइन् । पूर्वीय दर्शनमा पनि लैंगिक अनुभव बुझ्ने बहुआयामिक ढाँचा रहेको उनको भनाइ थियो ।
नेतृ उषाकिरण तिम्सिनाले संविधानमा लेखिएका हकअधिकार कार्यान्वयन भए–नभएको विश्लेषण गर्ने जिम्मेवारी सबैको भएको बताइन् । गणतन्त्र र संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन हुनुपर्ने उनको भनाइ थियो । ‘लिंगदेखि मानव प्रकृतिसम्म’ पुस्तकमा प्रारम्भिक ज्ञानदेखि ऐतिहासिक विषयसम्म समेटिएको उल्लेख गर्दै उनले यसलाई कक्षा ११ र १२ को पाठ्यक्रममा राख्नुपर्ने धारणा व्यक्त गरिन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम लोहनीले लिंगको वर्गीकरणलाई कालो र सेतो अर्थात् दुईवटा निश्चित श्रेणीमा मात्र सीमित गरेर बुझ्न नहुने बताए । प्राकृतिक रूपमा जन्मिएको व्यक्तिले पाउनुपर्ने नैसर्गिक अधिकारबाट किन वञ्चित हुनुपर्ने भन्ने प्रश्न उठाउँदै उनले समाज र राज्यबाट प्राप्त हुने अधिकारमा विभेद हुन नहुने बताए ।
लोहनीले महाभारत, आयुर्वेद र पुराना संस्कृतिसम्बन्धी ग्रन्थमा तृतीय प्रकृतिका सन्दर्भ रहेको उल्लेख गरे । विगतमा राजदरबारमा रानीको सुरक्षाका लागि तेस्रोलिङ्गी प्रकृतिका व्यक्तिलाई राख्ने प्रचलन रहेको र त्यस्ता व्यक्ति नभेटिए पुरुषलाई नपुंसक बनाउने अभ्याससमेत रहेको उनले बताए ।
‘शिखण्डी’ पुस्तकका लेखक सुशील रिजालले ‘लिंग’ शब्द सुन्ने बित्तिकै महिला वा पुरुषको मात्र ध्यान जाने गरेको बताए । आफू पनि यौनिकता र लैंगिकताबारे अलमलमा परेको अनुभव सुनाउँदै उनले शिक्षक नै अलमलमा पर्ने विषय विद्यार्थीका लागि झन् अन्योलपूर्ण हुने बताए । समाजशास्त्र अध्ययन गर्दाको समय अर्थात् २०५७÷५८ सालतिर नेपाली भाषामा यस विषयका पुस्तक कम उपलब्ध हुने गरेको उनले स्मरण गरे । त्यतिबेला अंग्रेजी वा हिन्दी भाषाका पुस्तक बढी पाइने गरेको उल्लेख गर्दै उनले अहिले नेपाली भाषामा पनि पुस्तक प्रकाशन बढ्दै गएको बताए । 
लेखक सुनिल बाबु पन्तले पूर्वीय दर्शनमा लैङ्गिक विविधतालाई अस्वाभाविक वा रोगका रूपमा नभई प्राकृतिक सन्तुलनका रूपमा हेर्ने परम्परा रहेको बताए । पश्चिमी अवधारणाले लैङ्गिक विविधतालाई शरीर र मनबीचको असन्तुष्टि वा उपचार गर्नुपर्ने अवस्थाका रूपमा प्रस्तुत गर्दा व्यक्तिमा हीनभावना बढ्न सक्ने उनको भनाइ छ । पन्तले पूर्वीय दर्शनमा भने यस्ता व्यक्तिलाई प्राकृतिक रूपमा सन्तुलित र विशिष्ट गुण भएका व्यक्तिका रूपमा बुझ्ने दृष्टिकोण रहेको उल्लेख गरे । गणेशलगायत धार्मिक तथा पौराणिक पात्रका उदाहरण दिँदै उनले महिलासँग जोडिएका करुणा, बुद्धि र स्मरणशक्तिजस्ता गुणलाई पनि महत्त्व दिइएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पिँधका जनताको कथा ‘मगनी मरिक’

पिँधका जनताको कथा ‘मगनी मरिक’

जापानी आख्यान नेपाली भाषामा

जापानी आख्यान नेपाली भाषामा