नेभिगेशन
मनोरञ्जन

सलमान–अनुपविक्रम भिडन्त

नेपाली कलाकार अनुपविक्रम शाही बलिउडको ठूलो प्रोजेक्टमा प्रवेश गर्दै सुपरस्टार सलमान खानसँग स्क्रिन शेयर गर्न लागेको खबर निकै चर्चामा छ । शाही र खान ‘ब्याटल अफ गलवान’ फिल्ममा आमनेसामने हुन लागेका हुन् । 

यो फिल्मका लागि सन् २०२० मा भारत–चीन सीमा क्षेत्रमा भएको चर्चित गलवान झडपलाई मूल कथा बनाइएको छ । दृश्यहरू यथार्थपरक देखाउनका लागि निर्माण टिमले वास्तविक लोकेसनमा मात्र भर नपरी मुम्बईको स्टुडियोभित्रै लद्दाखको सेट बनाउने चुनौती लिएको छ ।

यसका लागि मुम्बईको ख्यातिप्राप्त महबुब स्टुडियोमा विशेष सेट निर्माण गरिएको छ । उक्त स्टुडियो बलिउडका ठूला–ठूला प्रोजेक्टका लागि प्रयोग हुने प्रसिद्ध स्थल हो । निर्माण पक्षका अनुसार यहाँ निर्माण गरिएको सेटमा हिमाली भूभागको अनुभूति दिलाउने खालका पहाड, ढुंगामाटोको संरचना, चिसो हवाको अनुभूति दिने धुँवा प्रणाली र आकाशलाई नै हिमालयसरी देखाउने ब्याकड्रप तयार गरिएको छ । यति मात्र नभई, उच्च प्रविधिको बिजुली चम्किने प्रविधि र साउन्ड डिजाइन प्रयोग गरेर वास्तविक गलवान क्षेत्रकै आभास दिलाउने प्रयास गरिएको छ ।

यो फिल्मलाई अझ विशेष बनाउने पक्ष नेपाली अभिनेता अनुपविक्रमको उपस्थिति हो । उनले फिल्ममा भारतीय सैनिकको भूमिका निर्वाह गर्ने जनाइएको छ । सलमान खानसँगै एउटै पर्दामा देखिने अवसरलाई उनले आफ्नो करियरकै महत्वपूर्ण उपलब्धि भनेका छन् । अनुपले हालै दिएको अन्तर्वार्तामा ‘सलमान खानसँग पहिलो पटक स्क्रिन टेस्ट गर्दा नै ठूलो ऊर्जा प्राप्त भयो । उनले मलाई उत्साहित बनाउँदै निरन्तर साथ दिएका छन्,’ भनेका छन् ।

महबुब स्टुडियोमा सुटिङ सुरु भएलगत्तै सलमान पनि नेपाल र नेपाली कलाकारप्रति उत्सुक देखिएको खबर छ । अनुपका अनुसार खानले नेपालका बारे चासो दिएको र सुटिङ सकिएपछि भएपछि घुमघामको इच्छा समेत व्यक्त गरेका छन् । बलिउडका स्रोतहरू उदधृत गर्दै भारतीय सञ्चामाध्यमले जनाएअनुसार शाही खलनायकको भूमिकामा देखिनेछन् । उनको सलमानस“ग फाइटका दृश्य नै १३ मिनेट हाराहारीको हुनेछ ।

यसअघि यस्तै कथामा आधारित ‘उरी’ आएको थियो । तर, ब्याटल अफ गलवानको कथा प्रस्तुति उरीका तुलनामा निकै फरक रहने बताइएको छ । कर्नल सन्तोष बाबुको पात्र बनेका सलमानको भूमिका चिनियाँ सैनिकलाई सीमा पार गर्नबाट रोक्ने, सम्झाउने हुनेछ ।

पछि सैनिक टुकडीमा धक्कामुक्की, भागदौड र ढुंगा हानाहानका दृश्य आउने छन् । यो फिल्म लद्दाखमा कडा सुरक्षाबीच फिल्म २७ दिन छायांकन भइसकेको छ । यसमा सलमान खान करिब एक साता उपस्थित थिए । फिल्मलाई वास्तविक देखाउन उल्लेख्य संख्यामा कलाकारहरूलाई सैनिक पोसाकमा छायांकन गरिएको थियो । निर्माण पक्षले एक्सन सिक्वेन्सका लागि थाइल्याण्डबाट एक दर्जन प्राविधिकलाई ल्याएको थियो । लद्दाखको मौसम प्रतिकूल भएकाले बाँकी सुटिङ मुम्बईमा गर्ने तयारी भइरहेको हो ।

फिल्मका निर्देशक अपूर्वा लाखियाले वास्तविक घटनालाई संवेदनशील ढंगले प्रस्तुत गर्ने बताएका छन् । उनी ‘शुटआउट एट लोखण्डवाला’ जस्ता यथार्थ घटनामा आधारित फिल्म बनाउनमा पोख्त मानिन्छन् । त्यसैले ‘ब्याटल अफ गलवान’मा समेत युद्ध, राजनीति र मानवीय संवेदनालाई सन्तुलित तरिकाले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । 

अबका केही साता महबुब स्टुडियोमा लद्दाखको कृत्रिम दृश्यसँगै केही सुटिङ हुनेछ । पछि वास्तविकताका लागि लद्दाख पनि पुगेर केही सिन खिचिने बताइएको छ । दुवै स्थानका दृश्य मिलाएर फिल्मलाई अझ प्रामाणिक बनाउने तयारी भइरहेको छ ।

फिल्मको आधिकारिक रिलिज मिति भने तय भएको छैन । तर बलिउडभित्र यसलाई २०२६ को ठूलो लगानीको प्रोजेक्टका रूपमा हेरिएको छ । अनुपविक्रमको सहभागिताले नेपाली दर्शकमा पनि यसबारे चासो बढाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्