नेभिगेशन
अर्थतन्त्र

जलविद्युत् सेयरमा उछाल, नेप्सेमा झिनो सुधार

काठमाडौं । जलविद्युत् कम्पनीका सेयरमा आकर्षण बढे पनि मंगलवार समग्र बजारमा सुधारको गति कमजोर देखिएको छ । जलविद्युत् समूहको परिसूचक १ दशमलव ६५ प्रतिशतले बढ्दा नेप्से परिसूचक भने शून्य दशमलव ९४ अंकले मात्रै उकालो लागेको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेर पाँच अर्ब ७९ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक दुई हजार ६३० दशमलव ७६ विन्दुमा बन्द भएको छ । अघिल्लो दिन सोमबार नेप्से ४ दशमलव ३४ अंकले घटेको थियो । मंगलवार बजारमा सामान्य सुधार देखिए पनि अधिकांश उपसमूहमा गिरावट कायम रह्यो ।
सोमबार चार अर्ब रुपैयाँको कारोबार भएकोमा मंगलबार पाँच अर्ब ७९ करोड ९३ लाख रुपैयाँ पुगेको हो । यस दिन विभिन्न कम्पनीका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर खरिदबिक्री भएका छन् । 
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अंकले घटेर ४७५ दशमलव ४७ विन्दुमा झरेको छ । फ्लोट सूचक शून्य दशमलव १० अंकले घटेर १८२ दशमलव ११ विन्दुमा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २६ अंकले घटेर १६० दशमलव ६९ विन्दुमा पुगेको छ  ।
जलविद्युतमा लगानीकर्ताको आकर्षण
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत् समूह सबैभन्दा बढी बढ्ने समूह बनेको छ । यसको परिसूचक १ दशमलव ६५ प्रतिशत अर्थात् करिब ५९ अंकले बढेको छ । अघिल्लो कारोबार दिन उत्पादन तथा प्रशोधन समूहमा आकर्षण देखिएकोमा मंगलबार जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको चासो बढेको हो ।
मंगलवार माइक्रोफाइनान्स समूह शून्य दशमलव ०१ प्रतिशत र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले बढेका छन् । बाँकी नौ उपसमूहको परिसूचक घटेको छ ।
बैंकिङ समूह शून्य दशमलव ३७ प्रतिशत, विकास बैंक शून्य दशमलव ४५ प्रतिशत, फाइनान्स शून्य दशमलव १८ प्रतिशत र होटल तथा पर्यटन समूह शून्य दशमलव ५१ प्रतिशतले घटेका छन् । लगानी समूह शून्य दशमलव २३ प्रतिशत, जीवन बिमा शून्य दशमलव ५९ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५० प्रतिशत, निर्जीवन बिमा शून्य दशमलव ०६ प्रतिशत र व्यापार समूह शून्य दशमलव २६ प्रतिशतले ओरालो लागेका छन् ।
बेनी हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्यो
कम्पनीगत कारोबारमा हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको मूल्य करिब १५ प्रतिशतले उकालो लागेको छ ।
त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य १२ दशमलव ०९ प्रतिशत, दोर्दीखोला जलविद्युतको ६ दशमलव ७९ प्रतिशत र सुपरमाई हाइड्रोपावरको ५ दशमलव ९५ प्रतिशतले बढेको छ । सिर्जनशील लघुवित्तको मूल्य ५ दशमदज ६८ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ४ दशमलव ८९ प्रतिशत र शिखर पावरको ४ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ ।
यसको विपरीत युनिलिभर नेपालको सेयर मूल्य सबैभन्दा धेरै ४ दशमलव ९१ प्रतिशतले घटेको छ । कम्पनीको मूल्य प्रतिकित्ता ४७ हजार ५०० रुपैयाँमा झरेको छ । एभरेस्ट बैंक डिबेञ्चर र नबिल बैंक डिबेञ्चरलगायतका धितोपत्रको मूल्य पनि घटेको छ । मंगलबार मूल्य घट्ने धितोपत्रमा डिबेञ्चरहरू अगाडि देखिएका छन् ।
घलेम्दी हाइड्रोपावरको कारोबार सर्वाधिक
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर पहिलो स्थानमा रहेको छ  । कम्पनीको प्रतिकित्ता ३२५ रुपैयाँका दरले २८ करोड ५८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ  । अघिल्लो दिनको तुलनामा कम्पनीको मूल्य २ दशमलव ८८ प्रतिशतले बढेको छ  ।

पिपुल्स हाइड्रोपावरको २४ करोड ६९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसपछि सानिमा मिडिल तमोर, लिबर्टी इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी र अपी पावर धेरै कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।
मंगलबार १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको घटेको छ । आठ कम्पनीको मूल्य स्थिर रहेको छ । यसले बजारमा बढ्ने र घट्ने कम्पनीको संख्या लगभग बराबर रहेको देखाउँछ ।
समग्रमा जलविद्युत् कम्पनीका सेयरमा आएको उछालले नेप्सेलाई सामान्य वृद्धिमा राखे पनि बिमा, उत्पादन तथा प्रशोधन, होटल र विकास बैंकसहितका समूहमा आएको गिरावटले बजारको गति कमजोर बनाएको छ  । कारोबार रकम बढे पनि प्रमुख परिसूचकमा व्यापक सुधार नदेखिएकाले मंगलबारको बजारमा क्षेत्रगत आकर्षण र समग्र बजारको प्रवृत्तिबीच भिन्नता देखिएको छ  ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्