नेभिगेशन
खेलकुद

एनपीएलमा कर्णाली र चितवन विजयी

पाकिस्तानी पूर्वक्रिकेटर सोएब अख्तर नेपालमा

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा मंगलबार कर्णाली याक्स र चितवन राइनोज विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले तथा चितवनले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेका हुन् ।

मंगलबारको दोस्रो खेलमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो । जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए भने मोइन अली र हरमित सिंहले समान १९ रन जोडे । जेम्स निसमले १५ र मयन यादवले १४ रन बनाए ।

कर्णालीका हुसेन तलत र उनीश ठाकुरीले समान तीन तथा नन्दन यादवले दुई विकेट लिए । सोमपाल कामीले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । कर्णालीका अरिफुल इस्लामले २९ बलमा चार छक्कासहित सर्वाधिक ४३ रन बनाए । पवन सर्राफले ३७, दीपक डुम्रेले १३ र गुल्सन झाले १२ रन जोडे । जनकपुरका हरमित सिंहले तीन तथा राहुल यादव र मोइन अलीले समान दुई विकेट लिए ।

यसअघि पहिलो खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै अलआउट भयो । विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

चितवनका कमलसिंह ऐरीले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए । रिजन ढकालले दुई तथा अन्य चार बलरले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको थियो । चितवनका ओपनर डेविड मलानले ५० बलमा पाँच चौका र पाँच छक्कासहित सर्वाधिक ७० रन बनाए । कप्तान रवि बोपाराले अविजित ३२ तथा ड्यान मोस्लीले २९ रनको योगदान दिए ।

यसैबीच, पाकिस्तानका पूर्वतीव्र गतिका बलर सोएब अख्तर एनपीएलको तेस्रो संस्करणका लागि नेपाल आइपुगेका छन् । उनी हिमालय स्पोट्र्सको विशेष क्रिकेट प्रसारणमा सहभागी हुन नेपाल आएका हुन् । अख्तरले खेलको प्रत्यक्ष प्रसारणसँगै खेलअघि र पछिको विश्लेषण तथा अन्तर्वार्तामा विशेष अतिथिका रूपमा सहभागिता जनाउनेछन् ।

आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करण मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्