नेभिगेशन
खेलकुद

केनको हातमा बालोन डी’ओर

ह्यारी केन सन् २०२६ को बालोन डी’ओर विजेता बनेका छन् । २५ वर्षयता फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत ट्रफी जित्ने उनी पहिलो अंग्रेज खेलाडी हुन् ।
लन्डनको प्यालाडियम थिएटरमा भएको भव्य र रोमाञ्चक समारोहको दुई घण्टापछि अन्तिम खामबाट केनको नाम निस्कँदा हलभित्रका दर्शकले ठूलो हुटिङ गर्दै खुसी मनाएका थिए । त्यसको केही समयअघि मात्रै महिलातर्फको बालोन डी’ओर लन्डन सिटी लायनेसेसकी एलेक्सिया पुटेलासले जितेकी थिइन् । बार्सिलोनाबाट खेल्दा पहिलो पटक यो अवार्ड जितेको पाँच वर्षपछि उनले तेस्रो पटक यो ट्रफी चुमेकी हुन् ।
पुरुषतर्फको भोटिङमा केनले प्रमुख दाबेदार मानिएका बार्सिलोनाका लामिन यमाल र रियल मड्रिडका किलियन एम्बाप्पेलाई पछि पारे। यो नतिजाले पक्कै पनि ती क्लबका उच्च अधिकारीहरू र केनभन्दा पछि परेका ती सुपरस्टार खेलाडीका अनगिन्ती अनलाइन समर्थकहरूलाई केही निराश बनाउनेछ ।
तर केन फुटबलको यो सर्वोच्च अवार्डका लागि पूर्ण रूपमा योग्य विजेता हुन् । फ्रेन्च पत्रिका ‘एल इक्विप’ले प्रायोजन गरेको यो ट्रफी विश्वभरका फुटबल पत्रकार र खेल पदाधिकारीहरूको भोटिङका आधारमा प्रदान गरिन्छ। यो वर्ष युरोपियन गोल्डेन बुट जित्नुका साथै बायर्न म्युनिखलाई बुन्डेसलिगाको उपाधि दिलाउन महŒवपूर्ण भूमिका खेलेका र इंग्ल्यान्डलाई कप्तानको रूपमा विश्वकपको सेमिफाइनलसम्म पु¥याएका केनका लागि यो अवार्ड एउटा ठूलो इनाम हो । यी सबै सफलताका बाबजुद उनले आफूलाई एक अत्यन्तै नम्र सुपरस्टार खेलाडीको रूपमा प्रमाणित गरेका छन् ।
ट्रफी ग्रहण गर्दै केनले भने, “यो वर्ष निकै प्रतिस्पर्धात्मक थियो, म उत्कृष्ट खेलाडीहरूसँग भिड्दै थिएँ ।” त्यसपछि उनले अन्य विधामा मनोनयनमा परेका सबैलाई बधाई दिए र आफूसँग खेलेका लगभग सबै सहकर्मीलाई धन्यवाद दिए ।
एक शुद्ध गोलकर्ताको रूपमा यो वर्ष उनको तथ्याङ्क आश्चर्यजनक छ । सन् २०२५ अगस्टको सुरुवातदेखि यता उनले क्लब र देशका लागि ८९ गोल गरिसकेका छन् । बायर्नमा छँदा आफ्नो बहुमुखी खेल, सिर्जनशीलता, बौद्धिकता र व्यावसायिकताका कारण केन बुन्डेसलिगाकै प्रिय खेलाडी बनेका छन् । तीन वर्षअघि बायर्नले केनका लागि कीर्तिमानी १० करोड युरो तिरेको थियो । ३० वर्षको उमेरमा भएको उक्त सरुवालाई लिएर त्यतिबेला केही चिन्ता पनि व्यक्त गरिएको थियो तर यतिबेला त्यो पूर्ण रूपमा मेटिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्