नेभिगेशन
दृष्टिकोण

दशैं, खानपान र स्वास्थ्य

दशैं यस्तो चाड हो जसको सामाजिक र धार्मिक प्रभाव छ । दशैं खानासँग पनि जोडिन्छ । पाहुना आएपछि त खाना दिनैपर्‍यो । दशैंमा मिठो मसिनो खाने चलन नै छ । दशैं मासुसँग धेरै गाँसिएको छ । पहिले मानिससँग धेरै पैसा थिएन, त्यसैले दशैंमा मासु खानुपर्छ भन्ने चलन थियो । तर, हाल मानिस अरूबेलामा पनि मासु खाइरहन्छन् । 

खानपान र स्वस्थ्य जीवनशैलीलाई चाडपर्वमा मात्र होइन । जहिले पनि ध्यान दिनुपर्छ र त्यसलाई जिन्दगीको अंग नै बनाउनुपर्छ । चाडपर्वका बेला आफन्त र साथीभाइसँग भेट हुन्छ, धेरै समयसम्म भेट नभएकाहरूसँग पनि भेट हुन्छ । त्यो बेला खानाका बारेमा महत्त्वपूर्ण कुरा हुन्छ । 

दशैंको बेला हो, मासु खाऔं भन्ने हुन्छ । पहिला–पहिला त ‘दशैं आयो खाऊँला पिऊँला’ भन्दा मासु नै भन्ने हुन्थ्यो । तर अहिलेको समयमा मासु अरू समयमा पनि खाने भएकाले त्यति चासो हुन्न र पनि दशैंका बेला छुट्टै यसको महत्त्व हुन्छ ।

चाडपर्व रमाइलो गरी मनाउनुपर्छ । तर, सन्तुलित खानेकुरातर्फ ध्यान दिन जरुरी छ । शरीरलाई चाहिने मात्राभन्दा बढी मासु खाँदा स्वास्थ्यमा समस्या पनि आउन सक्छ भने शरीरलाई विभिन्न प्रकारका प्रोटिन दिने खाने कुरातर्फ ध्यान नदिँदा सन्तुलित भोजन हुँदैन । 

धेरै खायो त्यसपछि बिरामी पर्‍यो भने केही मतलब नै हुँदैन । तर त्यसको असर दीर्घकालरूपमा पर्दै जान्छ । पाँच छ फिटको शरीरका लागि तीन चार इन्चको जिब्रोले कन्ट्रोल गर्न सक्दैन । त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ । 

मासु, तरकारी, दालभात विभिन्न किसिमका परिकारहरू खाइन्छ तर यस्तो बेला खानेकुरामा एकदमै संवेदनशील बन्नुपर्छ । विशेष गरी मासु एकदमै चिल्लो र मसलेदार हुन्छ । तर त्यो खाँदा असर गर्छ भन्ने कुरा बुझ्नुपर्छ । 

स्वास्थ्यलाई असर पार्ने कुराहरू सकेसम्म खानुहुँदैन । मान्छेको मन कस्तो हुन्छ भने मासु र भात पकाएर खाँदा पेट भरिए पनि मुख भरिएको छैन भन्दै खाने स्वभाव हुन्छ । त्यसले धेरै रोगको सिकार बनाउँछ ।

Dr-Aruna-Upreti-1758334960.jpg
डा. अरूणा उप्रेती

धेरै चिल्लो, गुलियो पदार्थहरू, कोल्ड ड्रिंक्स, मिठाइ खाँदा मानिसको कलेजोमा बोसो जम्ने समस्या हुन्छ । त्यही कारणले पनि चाडपर्वमा मासुदेखि मिठाइसम्म, कोल्ड ड्रिंक्सदेखि अन्य पेय पदार्थसम्म सेवन गर्दा एकदमै ध्यान पुर्‍याएर खानुपर्छ ।

पर्वका बेला कहिलेकाहीँ अपवादका रूपमा धेरै स्वादिष्ट मसलेदार मासु खाएको खण्डमा, बिहान टन्न खाएमा दिउँसो खाजा नखाँदा पेटलाई आराम हुन्छ । पेट अटसमटस हुनेगरी मासु खाँदा झाडापखाला लाग्ने, पेट दुख्ने समस्या निम्तन सक्छ ।

मासुबाट आउने विशेष किसिमका तत्त्वहरूले शरीरको रगत बढाउँछ । तर, मासु मात्रै लगातार खाने अनि दाल, गेडागुडी, हरियो सागसब्जीलाई बेवास्ता गर्दा कब्जियतको समस्या हुन्छ । शरीरलाई चाहिने प्रोटिन तत्त्व प्राप्त गर्नका लागि सबै खानेकुरालाई मिलाएर खानुपर्छ ।

चाडबाडका नाममा अन्य खानेकुरालाई बेवास्ता गर्दा मधुमेह, युरिक एसिड, अत्यधिक मोटोपन, ग्याँसट्रिक भएकाहरूलाई झन् समस्या पर्छ । हरियो सागसब्जी, दही, गेडागुडी, दाल फलफूल अनिवार्यरूपमा मिलाएर शरीरलाई चाहिने मात्रा सेवन गरेर सन्तुलित आहार खाँदा स्वस्थ बन्न सकिन्छ । 

शाहाकारीले पर्याप्त मात्रामा दही, दूध, पनिर, च्याउ, तोफो, फापर, कोदो, गहुँको रोटी, ढिँडो, चिउरा आदि खानेकुरा मिलाएर खाएको खण्डमा शरीरलाई प्रोटिन प्राप्त गर्न सकिन्छ । चाडबाडमा च्याउका परिकार, पनिर, तोफो, थरीथरीका गेडागुडी बनाएर खान सकिन्छ । पत्रु खाना खानुहुँदैन । 

बालबालिकालाई बाहिरबाट ल्याएका प्याकेटयुक्त खाना खुवाउनुहुँदैन । चाउचाउहरूमा तोकिएभन्दा ३७ देखि २ सय प्रतिशत बढी सोडियम मिसाइएको हुन्छ । यसले बालबालिकाको मृगौलामा असर पार्छ । पत्रु खानालाई पत्रु ठानेर पत्रु बाकसमै राख्नुपर्छ । चिसो पेय पदार्थको कम प्रयोग गर्नुपर्छ । घरमै पेय पदार्थ बनाउन सकिन्छ ।

वर्तमान समयमा हाम्रो भान्साबाट दही, मही, कागतीपानी हराउँदै गएको छ । फेसनका रूपमा पछिल्लो समय कोकोकोलाहरू पिउने चलन बढेको छ । यस्ताखालका पेय पदार्थ अघि–पछि पनि पिउनुहुँदैन । यस्ता पेय पदार्थले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्