अमेरिका–चीन प्रतिस्पर्धा, प्रतिबन्धको प्रभाव, कृत्रिम बुद्धिमत्ताका आधार र समृद्धिको खोजी जस्ता प्रमुख व्यावसायिक चुनौतीलाई सम्बोधन गर्ने छ पुस्तक यस वर्षको फाइनान्सियल टाइम्स (एफटी) र स्रोडर्स बिजनेस बुक अफ दि इयरको फाइनलिस्ट बन्न पुगेका छन् ।
एफटीकी सम्पादक रौला खलाफले १६ वटा पुस्तकको लामो सूचीबाट छोट्याइएका सूचीलाई हालै जारी गरेकी हुन् । उनले आफ्नो धारणा राख्दै भनेकी छन्, ‘यति बलियो सूचीबाट छ वटा पुस्तक छान्नु निकै कठिन थियो । यी उत्कृष्ट पुस्तकहरूमध्ये विजेता छान्नु अझ चुनौतीपूर्ण हुनेछ ।’ उनले फाइनलिस्टहरूको घोषणा मंगलबार न्यूयोर्कस्थित स्रोडर्सको कार्यालयमा आयोजित समारोहमा गरिन् ।
फाइनलिस्ट पुस्तकहरूमा इभा डुको ‘हाउस अफ हुवावेः इन्साइड द सेक्रेट वल्र्ड अफ नाइनाज् मोस्ट पावरफुल कम्पनी’ रहेको छ । यसमा चिनियाँ प्रविधि कम्पनी हुवावे र यसको संस्थापक रेन झेङफेई तथा चिनियाँ राज्यको भूमिकाबारे अध्ययन गरिएको छ ।
एडवर्ड फिशम्यानद्वारा लिखित ‘चोकप्वाइन्ट्सः हाउ द ग्लोबल इकोनमी बिकेम अ विपन अफ वार’ पुस्तकमा भने प्रतिबन्धलाई हतियारको रूपमा प्रयोग गर्ने अभ्यास, २१औँ शताब्दीको व्यापार, राजनीति र अर्थतन्त्रमा यसको परिणामबारे विश्लेषण गरिएको छ ।
कार्ल बेनेडिक्ट फ्रेद्वारा लिखित ‘हाउ प्रोग्रेस इन्ड्सः टेक्नोलजी, इन्नोभेसन एन्ड द फेट अफ द नेसन्स’ पुस्तकले भने प्रविधि, नवप्रवर्तन र नोकरशाहीबीचको अन्तरसम्बन्धले सभ्यता र राष्ट्रहरूको भविष्य कसरी निर्धारण गर्छ भन्नेबारे अध्ययन गरिएको छ ।
यसैगरी लेखक एज्रा क्लाइन र डेरेक थम्पसनको ‘एबन्डेन्सः हाउ वी बिल्ड अ बेटर फ्युचर’मा अमेरिकाले सामना गरिरहेको वृद्धि संकट, नियम, लगानी, सरकारी सहयोग र नवप्रवर्तनबीचको राजनीतिक सन्तुलनबारे विश्लेषण गरेको छ ।
यस्तै ड्यान वाङद्वारा लिखित पुस्तक ‘ब्रेकनेकः चाइनाज् क्वेस्ट टु इन्जिनियर द फ्युचर’ले अमेरिका (कानूनी राज्य) र प्रतिस्पर्धी चीन (इन्जिनियरिङ राज्य) बीचको मूलभूत भिन्नता र चीनले इन्नोभेसन तथा महत्त्वाकांक्षालाई कसरी प्रोत्साहन गर्छ भन्नेबारे प्रकाश पारेको छ ।
लेखक स्टिफन विटको ‘द थिङ्किङ मशीनः जेन्सन हुवाङ, एन्भिडिया एन्ड वल्र्डस मोस्ट कभेटेड माइक्रोचिप’ पुस्तकमा एन्भिडियाका प्रमुख कार्यकारी जेन्सन हुआङको नेतृत्व शैली र उनले कम्पनीलाई विश्वकै मूल्यवान् कम्पनीमध्ये एक कसरी बनाए भन्नेबारे चर्चा गरिएको छ ।
यस वर्षको पुरस्कार एफटी प्राइज २१औँ संस्करण हो । यसको विजेताले ३० हजार पाएन्ड रकम प्राप्त गर्नेछन् । १५ वर्षपछि पहिलो पटक उपन्याससमेत लामोसूचीमा परेको थियो । तर एलेक्जान्डर स्टारिटको काल्पनिक कृति ‘ड्रेटन एन्ड म्याकेन्जी’ छोटो सूचीमा भने छाँटिन पुग्यो ।
यो पुरस्कार आउँदो डिसेम्बर ३ मा लन्डनमा आयोजन गरिने एक विशेष कार्यक्रमका बीच प्रदान गरिनेछ । प्रत्येक शर्टलिस्ट लेखकले १० हजार पाउन्ड रकम पाउने बताइएको छ ।
गएको वर्ष पार्मी ओल्सनको ‘सुपरमेसी’ एआईहरूबीचको प्रतिस्पर्धामाथि लेखिएको पुस्तकले यो पुरस्कार हात पारेको थियो । त्यस्तै सन् २०२३ मा एमी एडमण्डसनको ‘राइट काइन्ड अफ रङ’ (त्रुटिबाट सिक्ने शक्ति) विजेता बनेको थियो ।