काठमाडौं १० असोज - भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा सर्वसाधारणभन्दा सुरक्षाका लागि खटिएका प्रहरी धेरै घाइते भएको भेटिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछिको अवस्था अनुगमन गरी सार्वजनिक गरेको संक्षिप्त विवरणमा प्रहरी, युवा विद्यार्थीको मनोवल घट्दै गएको देखिएको हो ।
जेनजी प्रदर्शनको क्रममा प्रहरीले गोली हानेर २३ गते १९ जनाको ज्यान गएको थियो । त्यसपछि प्रहरीप्रति प्रदर्शनकारी, सर्वसाधारण निकै आक्रोशित बनेका थिए । आक्रोशित भिडले भदौ २४ मा प्रहरी चौकी, बिट, प्रहरीमाथि हिंसात्मक आक्रमण हुँदा तीनजना प्रहरीले ज्यान गुमाए भने १ हजार ३७९ जना घाइते भएका थिए । १३७ जना अस्पतालमा भर्ना भएका र हालसम्म ९ जना उपचाररत रहेको मानवअधिकार आयोगले उल्लेख गरेको छ ।
आगलागी र तोडफोडका क्रममा केही व्यक्तिहरूको जलेर समेत मृत्यु भएको छ । सरकारी अभिलेख जलेको, भौतिक सम्पत्तिमा क्षति पुगेको, सुरक्षाकर्मीका हातहतियारहरू लुटिएको र कतिपय सामानहरू चोरी र लुटपाट गरिएको पाइएको छ । शैक्षिक संस्थाहरूमा क्षति पुग्दा बालबालिकाको पठनपाठनमा बाधा उत्पन्न हुनुका साथै बालमनोविज्ञानमा समेत असर परेको छ ।
‘पहिलो दिनमा प्रदर्शनकारीमाथि गोली प्रहार गरेर मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको छ’ आयोगले भनेको छ, ‘पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएका कारण दोस्रो दिन अन्धाधुन्ध आगजानी र तोडफोड भएको अनुगमनका क्रममा पाइएको छ ।’
अनुगमनको क्रममा टोलीले प्रदर्शनकारीतर्फ र सुरक्षाकर्मीतर्फका घाइते तथा मृतकको अवस्थाको सम्बन्धमा जानकारी लिएको थियो । घाइतेहरूको विभिन्न अस्पतालमा सरकारले निःशुल्क उपचार गराएका छन् । केही घाइते उपचारपछि घर गएको र केही घाइते उपचारमै रहेको आयोगले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंलाई उदृत गर्दै हालसम्म ९३८ जना सर्वसाधारण घाइते भएको आयोगले उदृत गरेको छ । ४५ जनाको मृत्यु भएको छ ।
मानवअधिकार आयोगको अनुगमन टोलीले भदौ २३ गते बिहान करिब साढे १० मा प्रदर्शनस्थल माइतीघर मण्डलामा पुगी अनुगमन थालेको थियो । हालसम्म निरन्तर रुपमा अनुगमन गरिरहेको छ । जेनजी प्रदर्शनकारीहरूका अनुसार अभिव्यक्ति स्वतन्त्रता, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, मुलुकमा व्याप्त भ्रष्टाचारको विरुद्धमा प्रदर्शनमा उत्रिएको भनाई रहेको पाइयो । जेनजीका तर्फबाट सहभागी प्रदर्शनकारीले स्वतःस्फूर्त रुपमा प्रदर्शनमा आएको आयोगसँग बताएका थिए ।
भौतिक क्षति
सिंहदरवार परिसरका सरकारी भवनहरू, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, अन्य सरकारी भवनहरू, राजनीतिक दलका नेताहरूको निवास, व्यवसायिक भवनहरू, निजी आवास, सञ्चारगृह र प्रहरी कार्यालयमा अत्यधिक क्षति भएको भेटिएको छ । विभिन्न सरकारी, निजी कार्यालयमा रहेका कागजपत्र, अभिलेख, जिन्सी सामान र सवारी साधन जलेका छन् ।
मानवअधिकार आयोगले सवारी साधनको संख्या भने उल्लेख गर्न सकेको छैन । घटना पछि सबै सरकारी निकायले सेवा सञ्चालन गरेका, कतिपयले पाल टाँगेर र अन्य उपलब्ध स्थानमा उपस्थित भई कार्यालयको सेवा सुचारु गरेको आयोगले जनाएको छ ।
हाल सेवा सञ्चालन गर्दा जलेर नष्ट भएका भौतिक संरचना, अभिलेख फाइलहरूको अभावका साथै सेवा प्रवाह गर्ने कर्मचारीको मनोबलमा आएको कमीको कारणले नागरिकले पूर्ववत सेवा प्राप्त गर्न समस्या देखिएको पाइयो । सरकारी निकायका केही कर्मचारीमाथि भएको कुटपीटका कारण सेवा प्रदान गर्न मनोबल कमजोर हुनुका साथै असुरक्षित महशुस गरेको पाइयो ।
शान्ति सुरक्षाको अवस्था
सुरक्षाकर्मीको भवनलगायत सवारी साधनमा क्षति भएका सुरक्षाकर्मी, कर्मचारीको मनोबल खस्केको कारणले गर्दा सुरक्षा निकायबाट तत्काल स्वस्फूर्त रुपमा समस्या सम्बोधन हुन नसकेको कारणले गर्दा शान्ति सुरक्षा जोखिममा रहेको पाइयो ।
सुरक्षा कर्मचारीको मनोबल खस्केको र लुटिएका हातहतियारसमेत फिर्ता नआएको र कारागार तथा हिरासतबाट बाहिर निस्केका सबै कैदी बन्दी फिर्ता समेत नआईसकेको अवस्थामा समाजले असुरक्षा महशुस गरिरहेको पाइयो ।
कैदीबन्दीको अवस्था
कारागार व्यवस्थापन विभागले प्रदर्शनको क्रममा कारगारबाट निस्केका कैदी बन्दीहरूलाई फिर्ता ल्याउन, जलेका अभिलेखको व्यवस्थापन, कैदीबन्दीबीचको अन्तरघुलन र सुरक्षा व्यवस्था अनुकुल बनाउँदै गएको भन्ने भनाइ रहेको पाईयो । कारागार तथा बालसुधार गृहबाट बाहिर निस्केका बन्दीहरूको फिर्ती तथा कारागार व्यवस्थापनमा समेत गम्भीर समस्या देखिएको छ ।
देशभरका ७५ वटा कारागारमा रहेका २९ हजार कूल कैदीबन्दी रहेका थिए । तीमध्ये २७ वटा कारागारबाट १४ हजार ४५५ जना कैदीबन्दी भागेकोमा अनुगमनको क्रममा करिब ७ हजार ५ सय जना फिर्ता भएका थिए । करिब ७ हजार सम्पर्कबिहिन भएको आयोगले उल्लेख गरेको छ । सिन्धुली कारागारमा ३ जना, धादिङमा २ जना र बाँकेमा ५ जना गरी जम्मा १० जना कैदी बन्दीको मृत्यु भएको थियो ।
प्रदर्शनले शिक्षाको अधिकार हनन्
प्रदर्शनको क्रममा बालबालिको मृत्यु भएको छ । कतिपय घाइते छन् । कतिपय शैक्षिक संस्थामै आक्रमण हुँदा क्षतिग्रस्त छन् । प्रदर्शनका कारण बाल मनोविज्ञानमा समेत असर परेको भेटिएको छ । अभिभावक, बालबालिका, शिक्षक भयभित भई नियमितरुपमा शैक्षिक संस्था सञ्चालन हुन नसकेको आयोगले उल्लेख गरेको छ । केही शैक्षिक संस्थाले अनलाइनमार्फत पठनपाठन गरेता सबै विधार्थी सहज रुपमा पहुँच हुन सकेको छैन ।
अभिभावक, विधार्थीमा भयभित वातावरण हुँदा नियमित पठनपाठनमा समस्या देखिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा आक्रमण गरिएको छ । प्रदर्शनको क्रममा काठमाडौंमा सुरक्षाकर्मीको गोली लागि ५ जना पत्रकार घाइते भएका छन् । सञ्चार संस्थामा तोडफोड, आगजनी भएका छन् । सञ्चारकर्मीमाथि भौतिक आक्रमण, आगजनी तोडफोड हुँदा कान्तिपुर ग्रुप, अन्नपूर्ण पोष्ट, हिमालयन टिभीलगायतमा तोडफोड र आगजनी भएको छ ।
अभिव्यक्ति स्वतन्त्रताको अभ्यासमा चुनौती रहेको पाइयो । साथसाथै व्यवसायिक प्रतिष्ठानहरूको क्षतिले कार्यरत कर्मचारीहरूको रोजगारी सुनिश्चत नभएको र यसले वेरोजगारीको समस्या निम्त्याउन सक्ने देखिएको ।