भारतको मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का पूर्वनिर्देशक तथा भारतीय राजस्व सेवा (आइआरएस) का अधिकृत समीर वानखेड़ेले दिल्ली उच्च अदालतमा बलिउड अभिनेता शाहरूख खान र उनकी पत्नी गौरी खानको स्वामित्वमा रहेको प्रोडक्सन कम्पनी रेड चिलिज इन्टरटेनमेन्टविरुद्ध मानहानि मुद्दा दायर गरेका छन् ।
हालै नेटफ्लिक्समा शाहरूखका छोरा आर्यनद्वारा निर्देशित शृंखला ‘द ब्याड्स अफ बलिउड’ रिलिज गरिएको थियो । सो शृंखलामा अधिकृत वानखेडेले आफ्नो प्रतिष्ठा ध्वस्त पारिएको दाबी गरेका छन् । सो मुद्दामा नेटफ्लिक्ससहित अन्यहरूलाई पनि विपक्षी बनाइएको छ ।
वानखेड़ेले आफ्नो निवेदनमा उक्त शृंखलालाई नेटफ्लिक्सबाट स्थायी र अनिवार्य प्रतिबन्ध आदेश दिई क्षतिपूर्ति समेत भराउन माग गरेका छन् । ‘यस सिरिजले लागुऔषध नियन्त्रण निकायहरूको भ्रामक र नकारात्मक चित्रण गरेर कानून कार्यान्वयन गर्ने संस्थाप्रति जनताको विश्वास घटाएको छ,’ वानखेड़ेको दाबी छ ।
उनको दाबीअनुसार, यो सिरिज जानाजानी आफ्नो प्रतिष्ठा नष्ट गर्ने उद्देश्यले योजनाबद्ध रूपमा बनाइएको हो । यतिबेला अझै पनि आर्यन खानसम्बन्धी मुद्दाहरू उच्च अदालत र एनडिपिएस विशेष अदालतमा विचाराधीन छन् ।
पूर्वएनसीबी अधिकृत वानखेड़ेले भनेका छन्, ‘न्यायिक छानबिन जारी रहेको बेलामा यो चित्रणले अन्यायपूर्वक मलाई लक्षित गरेको छ ।’ उनले सिरिजमा देखाइएको एउटा दृश्यप्रति पनि आपत्ति जनाएका छन्, जहाँ सत्यमेव जयते उच्चारण गरेपछि एउटा पात्रले अश्लील हाउभाउ गरेको देखाइएको छ ।
वानखेड़ेका अनुसार, यो राष्ट्रिय सम्मान अपमान निवारण ऐन १९७१ को गम्भीर उल्लङ्घन हो, जसले कानूनी कारबाही निम्त्याउँछ । यसबाहेक, उनले सामग्रीले सूचना प्रविधि ऐन र भारतीय दण्ड संहिताको प्रावधान पनि उल्लङ्घन गरी ‘अश्लील र आपत्तिजनक सामग्री प्रयोग गरेर राष्ट्रिय भावनामा चोट पुर्याउने प्रयास गरेको’ दाबी गरेका छन् ।
वानखेड़ेले दुई करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् । यो रकम क्यान्सर पीडितको उपचारका लागि टाटा मेमोरियल क्यान्सर अस्पतालमा दान गर्नुपर्ने उनको भनाइ छ । मुद्दामा सिरिजलाई स्ट्रीमिङ र वितरण नगर्न अदालतलाई आदेश दिन माग गरिएको छ । यसलाई औपचारिक रूपमा मानहानिकारक घोषणा गर्न माग गरिएको छ ।
उनको भनाइमा, यो सामग्रीले व्यक्तिगत प्रतिष्ठा मात्र होइन, ’लागुऔषधसम्बन्धी कानून कार्यान्वयन गर्ने निकायहरूप्रति विश्वास पनि कमजोर पार्छ ।’ दिल्ली उच्च अदालतले छिट्टै यसबारे सुनुवाइ गर्ने अपेक्षा गरिएको छ । वानखेड़ेका अनुसार, सो शृंखलाले अघिल्लो अनुसन्धानसम्बन्धी घटनाहरूलाई तोडमोड गरी आफूलाई नकारात्मक रूपमा प्रस्तुत गरेको छ ।
‘घुस मागेको आरोप’
यसअघि सन् २०२३ को मे महिनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) ले वानखेड़ेविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा उनलाई शाहरूख खानसँग २५ करोड रुपैयाँ घुस मागेको आरोप लगाइएको छ । यो मुद्दा एनसिबीको उजुरीबाट सुरु भएको थियो । उजुरीमा भनिएको थियो, वानखेड़े र उनका सहयोगीहरूले सन् २०२१ को क्रुज जहाज लागुऔषध मामिलामा शाहरूख खानका छोरा आर्यन खानलाई उचित र अनुकूल व्यवहार गर्न सो रकम मागेका थिए ।
सिबिआईले उनलाई भारतीय दण्ड संहिता (हाल बिएनएस) का आपराधिक षडयन्त्र र जबरजस्ती रकम असुलीसम्बन्धी धारा साथै भ्रष्टाचार निवारण कानूनअन्तर्गत मुद्दा दायर गरेको थियो । तर वानखेड़ेले यी सबै आरोप अस्वीकार गर्दै राजनीतिक रुपमा प्रेरित भएको बताएका थिए । आफ्नो बचाउमा उनले शाहरूख खानसँग भएको सन्देश आदानप्रदान प्रस्तुत गरेका छन् । सन्देशमा आदरयुक्त भाषाशैली प्रयोग भएको भन्दै त्यसले कुनै दबाब वा आर्थिक माग नभएको प्रमाणित गर्छ भन्ने दाबी गरेका छन् ।