नेभिगेशन
दृष्टिकोण

समाजको मानेबल गिर्न नदिऊ

राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछिको अवस्था अनुगमन गरी सार्वजनिक गरेको प्रतिवेदनले प्रहरी, युवा विद्यार्थीको मनोवल घट्दै गएको देखिएको छ । जेनजी प्रदर्शनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोलीले १९ जनाको ज्यान गएपछि प्रहरीप्रति प्रदर्शनकारी, सर्वसाधारण आक्रोशित बने । उनीहरूले भदौ २४ मा प्रहरी चौकी, बिट र प्रहरीमाथि हिंसात्मक आक्रमण गर्दा तीनजना प्रहरीले ज्यान गुमाए भने १ हजार ३७९ जना घाइते भए । १३७ जना अस्पतालमा भर्ना भएका र हालसम्म ९ जना उपचाररत रहेको आयोगले उल्लेख गरेको छ ।

प्रदर्शन हिंसात्मक बन्न पुग्दा केही व्यक्ति जलेर मरे, नागरिकका निजी सम्पत्ति, सरकारी अभिलेख, भौतिक सम्पत्ति नष्ट भए, सुरक्षाकर्मीका हातहतियार लुटमा परे । यो समग्र हिंसात्मक अवस्थाले अहिले बालबालिका, युवा र प्रहरीका मनोवैज्ञानिक आघातमा परेका आयोगले उल्लेख गरेको छ । भवनलगायत सवारी साधनमा क्षति हुँदा सुरक्षाकर्मी, कर्मचारीको मनोबल खस्केको छ । 

सुरक्षा कर्मचारीको मनोबल खस्केको र लुटिएका हातहतियारसमेत फिर्ता नआएको र कारागार तथा हिरासतबाट बाहिर निस्केका सबै कैदी बन्दी फिर्ता नआएको हुँदा समाजले असुरक्षा महशुस गरिरहेको छ । कतिपय शैक्षिक संस्थामै आक्रमण हुँदा ती भौतिक रुपमा क्षतिग्रस्त छन् भने त्यसले विद्यलाय तहका बालबालिकाको मनोविज्ञानमा असर पारेको छ ।

अभिभावक, बालबालिका, शिक्षक भयभित छन् । नियमित रुपमा शैक्षिक संस्था सञ्चालन हुन सकेका छैनन् । केही शैक्षिक संस्थाले अनलाइनमार्फत पठनपाठन सुरु गरे पनि सबै विधार्थी सहज रुपमा पहुँच हुन सकेको छैन । प्रहरीप्रतिको असन्तुष्टि र प्रदर्शनको हिंसात्मक स्वरूपले समाजमा दीर्घकालीन मानसिक तनाव र सामाजिक असुरक्षा संकेत दिएको छ ।

अहिलेको परिस्थितिले बालमस्तिष्कमा पर्ने प्रभावलाई सम्बोधन गरिनुका साथै समाजमा पुनः सौहार्द र शान्ति फर्काउने चुनौती देखिएको छ । यस अवस्थामा बालबालिका तथा युवाको मानसिक स्वास्थ्य संरक्षणमा सर्वप्रथम विद्यालय, अभिभावक र समाजले समन्वयात्मक भूमिका निभाउनुपर्छ ।

हिंसात्मक घटनाबाट प्रभावित बालबालिकाको मनोवैज्ञानिक उपचारका लागि विद्यालयस्तरमा मनोवैज्ञानिक परामर्श सेवा कतिसम्म दिन सकिन्छ, त्यो अभियान छिटो र प्रभावकारी ढंगले चाल्नुपर्ने देखिएको छ । मानसिक शान्तिका लागि खेलकुद, सांस्कृतिक गतिविधि र सामूहिक सामाजिक क्रियाकलापमा बालबालिका तथा युवालाई सहभागी गर्न सकिँदा उनीहरूको मनोवैज्ञानिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ ।

प्रहरी तथा सुरक्षा कर्मचारीप्रति लागेको तनाव घटाउन तिनको मनोबल पुनस्र्थापना गर्नुपर्ने अवस्था छ भने प्रहरीलाई प्राविधिक मात्र होइन, मानसिक प्रशिक्षण र तनाव व्यवस्थापनमा परामर्श एवं अभिमुखीकरण कार्यक्रम गर्नुपर्ने आवश्यकता छ । 

समाजमा सौहार्द वातावरण कायम राख्न व्यापक संवाद र मेलमिलापको वातावरण बनाउनु आवश्यकता छ । राजनीतिक दल, नागरिक संगठन, युवाका संस्था र स्थानीय प्रशासनबीच निरन्तर संवाद कायम गरी हार्दिकताको विकास गर्नुपर्ने देखिन्छ । शैक्षिक संस्थालाई पुनः सुचारी बनाउन पनि द्रत रुपमा लाग्न जरुरी छ ।

जेनजी प्रदर्शनीका क्रममा देखाएको सामाजिक विभाजन र मनोवैज्ञानिक असरलाई केवल क्षणिक राजनीतिक विषय नबनाइ यस घटनालाई पाठ मानेर दीर्घकालीन सामाजिक सुधार र समावेशी विकासतर्फ कदम चालिनुपर्छ । बालबालिका र युवाका मनोबल बढाउन दुःखी र पीडितलाई मनोवैज्ञानिक सहयोग, शैक्षिक पुनस्र्थापना र सामाजिक मेलमिलापलाई गतिशील बनाउनु पर्छ । 

सबै पक्षले एकअर्काप्रति सहिष्णुता र समझदारी विकास गरेर सुरक्षित र सौहार्दपूर्ण नेपाली समाज निर्माण गर्न सक्रिय योगदान दिनुपर्छ । संघारमा आइसकेको नेपालीहरूको महान् चाड दसैंमा हामी सबैमा हार्दिकताको विकास हुने वतावरण बनोस् र सबैको मनोवल उच्च होस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्