बलिउड अभिनेत्री भूमि पेडनेकर पर्दामा जति आत्मविश्वासी र ग्ल्यामरस देखिन्छिन्, वास्तविक जीवनमा पछिल्लो समय एउटा संवेदनशील स्वास्थ्य समस्यासँग जुझिरहेकी छन् । त्यो समस्याको नाम हो, एक्जिमा ।
हालै उनले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक रूपमा यो कुरा बताएकी हुन् । ‘जब म कुनै यात्रामा हुन्छु, खानपान बिग्रन्छ वा म तनावमा पर्छु, त्यो बेला म नराम्रो पीडामा हुन्छु। त्यो पीडाको कारक हो, एक्जिमा ।
भूमिले लेखेकी छन्, ‘एक्जिमा अत्यन्त असहज र दुखदायी हुन्छ । म छिट्टै यसको बारेमा अझ विस्तारमा कुरा गर्नेछु।’ भूमिलाई दुःख दिने एक्जिमा आखिर के हो ? यसको पीडा कस्तो हुन्छ ? किन उनले सार्वजनिक रुपमा नै यसबारे कुरा गर्नुपर्यो ?
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)का अनुसार, एक्जिमा एउटा सामान्य तर जटिल छालासम्बन्धी अवस्था हो । यो रोग लागेको खण्डमा छालालाई सुख्खा पार्छ । छाला फाट्छ र ज्यादै चिलाउँछ ।
फिल्मकी नायिका भएकीले भूमिका त्यसै पनि आफ्नो छालाको मामिलामा गम्भीर छिन् तर पनि कसरी यस्तो रोग लाग्यो, अचम्ममा परेकी छन् ।
विज्ञहरूका अनुसार, यस्तो छालाको रोग दुई तीन वटा कारणले हुने गर्छ । पहिलो कारण, जेनेटिक रहेको विज्ञहरू बताउँछन् । दोस्रोमा भिटामिनको कमी भयो भने पनि यस्तो समस्या देखिन्छ । र, तेस्रो कारण चाहिँ, एलर्जीजन्य प्रतिक्रियाले छालामा यस्तो समस्या देखिन थाल्छ ।
छालारोग विशेषज्ञहरूका अनुसार, ‘एक्जिमामा छाला सुख्खा भएर फुट्छ, कहिलेकाहीँ रगतसम्म आउन सक्छ । यो कपडा, चप्पल वा कुनै वस्तुको सम्पर्कबाट पनि हुने सम्भावना रहन्छ ।’
एनएचएसका अनुसार, एक्जिमाका विभिन्न प्रकारका हुन्छन् । यसले शरीरमा फरक–फरक ढंगले असर गर्ने गर्छ । एटोपिक एक्जिमा यस्तो समस्याको सबैभन्दा सामान्य रूप हो । यो बालबालिकामा बढी देखिन्छ । छालामा सुख्खापन, छाला चिरिनु र चिलाउने प्रक्रिया अत्यधिक हुन्छ । पूर्णरूपमा निको हुन नसके पनि औषधि र मोइस्चराइजेशनले नियन्त्रण गर्न सकिन्छ ।
वैरिकोजÞ एक्जिमा भने प्रायः खुट्टाको तल्लो भागमा हुने समस्या हो । यो समस्या लामो समय रहिरहने विशेषज्ञहरूको धारणा छ । छाला फुस्रो, सुकेको र फुलेको देखिन्छ । यो प्रायः भेरिकोज वेनजस्तो समस्या भएका व्यक्तिमा पाइन्छ ।
तेस्रो प्रकारको एक्जिमालाई डिस्कोइड एक्जिमा नामकरण गरिएको छ । विशेषज्ञका अनुसार यस्तो समस्या भएकालाई छालामा गोलो वा अण्डाकार घाउ देखिन्छन्। ती ठाउँमा पोल्छ र सुन्निन्छ ।
चौथो प्रकारको समस्या कन्ट्याक्ट एक्जिमा हो । कुनै रासायनिक पदार्थ, धुलो, साबुन वा गन्धको सम्पर्कमा आएपछि छालामा एलर्जी उत्पन्न हुने अवस्थाले कन्ट् याक्ट एक्जिमा हुने गर्छ ।
यी चारै प्रकारका एक्जिमामा ज्यादै चिलाउने, छाला सुख्खा हुने र फाट्ने, रातो, सेतो वा खैरो दाग देखिने, पाप्रो हुने वा सानो घाउ फुट्ने, कहिलेकाहीँ पानी वा रगत आउनेजस्ता समस्या हुने गर्छ । धेरैजसो बालबालिकामा यो समस्या देखिए पनि केही वयस्कहरूमा पनि यस्तो समस्या देखिने गरेको चिकित्सकहरूको भनाइ छ ।
छाला रोग विशेषज्ञ डा. अञ्जु सिङ्गलाका अनुसार, एक्जिमाको उपचार यसको प्रकार अनुसार फरक हुन्छ । कहिलेकाहीँ स्टेरोइड औषधि आवश्यक पर्छ तर लगातार छाला मोइस्चराइज गर्नु नै उपचारको सबैभन्दा महŒवपूर्ण पक्ष हो ।
एक्जिमा दीर्घकालीन रोग भएकाले तात्कालीक उपचारपछि पनि यसको जरो बुझ्न र त्यसबाट टाढा रहनु जरुरी हुने चिकित्सकहरूको भनाइ छ । साथै, रोगसँगै अन्य जटिलता त छैन भन्ने जाँच पनि गर्नु जरुरी रहेको विज्ञहरू बताउँछन् ।
भूमिले आफ्नो चलचित्र यात्रा सन् २०१५ मा ‘दम लगा के हइँशा’ बाट शुरू गरेकी थिइन् । उनका कलाकार साथी आयुष्मान खुराना थिए । यो फिल्मको अनपेक्षित सफलताले उनलाई बलिउडका ‘ए’ ग्रेडका चलचित्रहरूमा व्यस्त बनायो ।
तीमध्ये ‘ट्वाइलेटः एक प्रेम कथा’, ‘शुभ मंगल सावधान’जस्ता फिल्म थिए । त्यसपछि उनी मूलधारभन्दा अलि फरक फिल्ममा पनि देखा परिन् । तीमध्ये ‘साँड की आँख’, ‘भीड़’ र ‘भक्षक’ जस्ता सन्देशमूलक फिल्महरू थिए ।
हालै नेटफ्लिक्सको सिरिज ‘द रोयल्स’मा पनि उनी विशिष्ट भूमिकामा देखा परेकी थिइन् ।
भूमि भन्छिन्, ‘म हरेक बिहान, एउटा फिल्मको सेटमा जाँदैछु भन्ने अनुभूतिका साथ उठ्ने गर्छु । मेरा लागि यो सबैभन्दा ठूलो सौभाग्य हो । म अन्तिम साससम्म फिल्म उद्योगमै काम गर्न चाहन्छु।’
भूमि पेडनेकरले आफ्नो छालाको रोगको समस्या र त्यसले निम्त्याएको स्वास्थ्य संघर्ष सार्वजनिक गरेर एक महत्वपूर्ण कुरा बताएकी छन्, ‘रोग लुकाएर होइन, यसबारे खुलेर कुरा गर्दा आफ्नो मन पनि हलुंगो हुन्छ भने अरुलाई पनि यसबारे सचेत बनाउन सकिन्छ ।’
एक्जिमा छालाको रोग मात्र होइन, जीवनशैली, तनाव र आफ्नो निजी हेरचाहसँग गहिरो गरी जोडिएको अवस्था पनि हो । भूमिको यो खुलापनले सम्भवतः हजारौंलाई आफ्नै शरीरप्रति सचेत हुन प्रेरणा दिनेछ । - बीबीसी