नेभिगेशन
साहित्य

रमेश भुसालद्वारा लिखित ‘छालबाटो’ पुरस्कृत

रमेश भुसालद्वारा लिखित ‘छालबाटो’ले यस वर्षको प्रख्यात पद्मश्री साहित्य पुरस्कार हात पारेको छ । यो पुरस्कार खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान रत्ननगर, चितवनले हरेक वर्ष प्रदान गर्ने गर्छ ।

२०८१ सालमा प्रकाशित २०३ वटा पुस्तकहरूमध्ये पहिलो चरणको मूल्यांकनपछि १५ कृतिहरू छनोट गरिएको थियो । दोस्रो चरणमा तीमध्येबाट उत्कृष्ट पाँच पुस्तकलाई संक्षिप्त सूची जारी गरिएको थियो । 

संक्षिप्त सूचीमा ‘छालबाटो’सँगै छुदेन कविमोको उपन्यास ‘उरमाल’, भवानी खतिवडाको नियात्रा ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ रहेका थिए । 

‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गंगासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत जीवन्त रुपमा समेटेको छ ।

यसैगरी प्रतिष्ठानले हरेक वर्ष नेपाली साहित्य, संगीत र कलाका क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान ‘छालबाटो’ पुरस्कृत पुर्‍याएका दीर्घसाधकलाई प्रदान गरिने पद्मश्री साधना सम्मान समेत प्रदान गर्ने गर्छ । यस पटक नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई साधना सम्मान प्रदान गरियो । 

उनले जीवनभर भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पण गर्दै अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायत दुई दर्जन पुस्तकहरू प्रकाशन गरेकी छन् । यस्तै प्रतिष्ठानले समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएबापत प्रदान गरिने पद्मश्री गौरव पुरस्कार डा. अभि सुवेदीलाई प्रदान गरेको छ । 

नेपाली र अंग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि डा. सुवेदीका तीन दर्जन कृति प्रकाशित छन् । सम्मानितहरूले जनही तीन लाख रुपैयाँ नगदसमेत प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सम्मान समारोहको बीसौं वर्ष पुगेको अवसरमा हर्ष प्रकट गर्दै शिक्षित र सुसज्जित समाज निमाृण र रुपान्तरणमा सर्जकको ठूलो योगदान हुने बताए । उनले सिर्जनामा प्रतिस्पर्धा नहुने र सबै सिर्जनाको समान महत्व रहेको बताउँदै पुरस्कृत नभएका सम्पूर्ण कृतिहरूप्रति उत्तिकै सम्मान रहेको बताए ।

सो अवसरमा प्रख्यात साहित्यकार डा. तुलसी दिवस, सम्मानित स्रष्टाहरू भुसाल, शर्मा र सुवेदीले पनि आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य