नेभिगेशन
प्रवास

अपराधमा संलग्न ७ नेपाली अमेरिकाबाट डिपोर्ट, यौन दुराचारदेखि डकैतीसम्मका मुद्दा

काठमाण्डौ । डोनाल्ड ट्रम्पको नेतृत्वमा सुरु भएको अमेरिकी प्रशासनिक अवधिदेखि यो वर्ष जुलाईसम्म अमेरिकाले सात जना नेपालीलाई विभिन्न आपराधिक अभियोगमा दोषी ठहर गर्दै नेपाल फर्काएको तथ्य बाहिरिएको छ ।

अमेरिकी अध्यागमन तथा कस्टम्स प्रवर्तन (ICE) का अभिलेखअनुसार ती सबै नेपालीहरू २८ देखि ३९ वर्ष उमेर समूहका छन्, र उनीहरू यौन दुराचार, शारीरिक आक्रमण, डकैती, नाबालिगसँग अश्लील संवाद, हतियारको दुरुपयोग र मादक पदार्थ सेवनपछि सवारी सञ्चालन जस्ता अपराधमा संलग्न थिए ।

अमेरिकाबाट संचालित अनलाइन पत्रिका खसोखास डटकमका अनुसार ती अभियुक्तहरूलाई न्युयोर्कको जोन एफ केनेडी, नेवार्क, लोगन, टेक्सास, एरिजोना र भर्जिनिया राज्यबाट देशनिकाला गरिएको हो ।

सबैभन्दा पछिल्लो अवस्थामा, ३९ वर्षीय नेपालीलाई यौन आक्रमण र शारीरिक दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै जुलाई १५ मा जोन एफ केनेडी विमानस्थलबाट नेपाल फर्काइएको थियो । त्यस्तै, ३६ वर्षीय मेरिल्याण्ड निवासी नेपालीलाई यौन अपराधमा दोषी ठहर भएपछि मार्च ६ मा नेवार्क विमानस्थल हुँदै डिपोर्ट गरिएको थियो ।

डकैतीमा संलग्न २८ वर्षीय नेपालीलाई जुन १० मा एरिजोनाबाट, र हतियार प्रयोग गरी आक्रमणमा संलग्न ३४ वर्षीयलाई अप्रिल २९ मा लोगन विमानस्थलबाट देशनिकाला गरिएको थियो ।

नाबालिगलाई अश्लील च्याटमार्फत प्रलोभनमा पार्ने अभियोगमा ३० र ३५ वर्षीय दुई नेपाली पुरुष क्रमशः भर्जिनिया र एरिजोनाबाट जुन महिनामै नेपाल फर्काइएका थिए । त्यसैगरी, मादक पदार्थ सेवन गरी गाडी चलाएको अभियोगमा दोषी ठहर ३७ वर्षीय नेपालीलाई भने अमेरिकाले कतार हुँदै फेब्रुअरी ३ मा डिपोर्ट गरेको थियो । उनलाई नेपाल नभई कतार पठाइएको कारणबारे भने स्पष्ट जानकारी खुलाइएको छैन ।

यी सबै व्यक्तिहरू अमेरिकामा लामो समयदेखि बस्दै आएका थिए, तर अध्यागमन अदालतले विभिन्न मितिमा देशनिकालाको आदेश जारी गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्