नेभिगेशन
फोटो स्टोरी

नेपालकै पहिलो व्यावसायिक पेट ग्रुमिङ सेन्टर 'पेट मम्मा'

साना जीवप्रतिको माया कहिलेकाहीँ एउटा उद्देश्य बन्न जान्छ । निकिता जलानको जीवनमा पनि यस्तै भयो, जब उनले आफ्नै कुकुरलाई गुमाइन् । त्यस क्षणको पीडालाई उनले आत्मसात् गरिन्, र त्यो पीडा नै बन्न गयो एक मिसनको सुरुवात । त्यो मिसनको नाम हो— पेट मम्मा (Pet Mama)।

व्यक्तिगत अनुभवबाट व्यवसायको जन्म भएको हो । कोभिड महामारीको समय थियो । घरभित्र समय बिताइरहेकी निकिताले आफ्नो कुकुरको हेरचाह गर्दै गर्दा महसुस गरिन्, नेपालमा कुकुर र अन्य पाल्तु जनावरहरूको लागि आवश्यक सेवा, उत्पादन र स्याहारका आधारभूत चीजहरूको कमी छ । “मैले बजारमा खोज्दा उचित शैम्पू थिएन, उपकरण थिएन, व्यावसायिक ग्रुमर थिएनन् । एउटा सामान्य कोठा र बेसिनमै कुकुर नुहाइँदै थियो,” उनले भनिन् ।

त्यही अभाव देखेर, उनले निर्णय लिइन्—‘यो म आफैं गर्छु, सही तरिकाले गर्छु ।’

नेपालमा पहिलोपटक यस्तो सेवा २०२२ अप्रिलमा स्थापना भएको पेट मम्मा नेपालमै पहिलो व्यावसायिक स्तरको ग्रुमिङ र पेट केयर सेन्टर हो । सुरुमा बजार अध्ययन गर्दा उनले देखिन्, नेपालमा यसअघि व्यावसायिक ग्रुमिङको परिभाषा नै थिएन । मानिसहरू मानव शैम्पू, ड्रायर, रेजर प्रयोग गर्थे ।

तर पेट मम्माले नयाँ मानक ल्यायो—पेशा अनुसार प्रशिक्षित स्टाफ, पशु-मैत्री उपकरणहरू, र सुरक्षित सेवा प्रक्रिया । ‘पेट मम्मा नामको अर्थ कुकुर मेरो बच्चाजस्तै हो ।

एक आमाले जसरी आफ्ना छोराछोरीको हेरचाह गर्छिन्, म पनि त्यही चाहन्थेँ,” निकिता भन्छिन् । त्यसैले नाम राखियो—पेट मम्मा । उनीहरूको नारा नै छ—‘One Mama for All Pets’।

पेट मम्मामा कुकुर ल्याउँदा ग्राहकसँग विस्तृत जानकारी लिइन्छ, खाना, निद्रा, औषधि, डर वा व्यवहार, सबै कुरा । त्यसपछि मात्रै ग्रुमिङ वा होस्टेल सेवा सुरु हुन्छ । होस्टेलमा तीनपटकको खाना, ५–६ घण्टा खेल्ने समय, सुत्ने कोठा, र दिनचर्या अनुसारको सेवा दिइन्छ ।

निकिताले केरला र दिल्लीबाट गरी दुई छुट्टाछुट्टै कोर्स गरिन्—एक कुकुरको व्यवहारबारे र अर्को ग्रुमिङबारे । त्यसपछि उनी नेपाल फर्किइन् । “धेरैले सीप सिकेर विदेश जान्छन्, तर मैले भने यही देशमा केही नयाँ सुरुवात गर्न चाहें,” उनी भन्छिन् ।

उनले आफ्ना स्टाफहरूलाई ३–६ महिना तालिम दिइन् । अहिले टिममा २७ जना कर्मचारी छन्—ग्रुमर, होस्टेल स्टाफ, एकाउन्ट, सफाइ, व्यवस्थापन, मार्केटिङ सबै गरी । “नेपालमा निरन्तरता र गुणस्तरमा कम उत्पादक छन्। त्यसैले धेरैजसो सामान हामी बाहिरबाट मगाउँछौं,” उनी भन्छिन् ।

नेपालमा पशु–पाल्तु जन्तुका लागि विशेष होस्टेल, ट्रेनिङ, पूर्ण–प्रोफेशनल ग्रुमिङ, सफा उत्पादन, प्रशिक्षित स्टाफ र अन्तर्राष्ट्रिय स्तरको सेवा दिने व्यवसाय विरलै पाइन्छ । यस्ता सेवाहरू प्रदान गर्ने व्यवसाय अझै पनि सुरुआती चरणमै छन्। त्यसैले पनि पेट मम्मा जस्तो व्यवसायको उपस्थिति बजारमा निकै अर्थपूर्ण छ ।

निकिताले सुरुआतदेखि नै क्वालिटीप्रति सम्झौता नगर्ने नीति अपनाइन् । “कुकुर हो भनेर हामीले सस्तो सामान लगाउने भन्ने होइन,” उनी भन्छिन्, “हामीले ग्राहकको कुकुर वा बिरालोप्रति त्यत्तिकै माया र ध्यान दिने प्रयास गर्छौं जति ऊ घरमा पाउँछ ।” पेट मम्माका प्रायः सबै सामग्रीहरू आयातित छन्, पशु छालाको संवेदनशीलता बुझेर छनोट गरिएका छन् ।

ग्रुमिङका लागि प्रयोग हुने क्रीम, श्याम्पु, स्प्रे वा औजारहरू नियमित रूपमा अपडेट गरिन्छन्। धेरै ग्राहकहरू पेट मम्माका सर्भिस र सफाइप्रति विश्वस्त रहेको उनले बताइन् । उनका लागि पेट मम्मा अब व्यापार मात्र होइन, एउटा जिम्मेवार संस्था पनि हो जुन जनावरको हितको अवधारणा बोकेर अघि बढेको छ ।

यसले घरपालुवा जनावरको हेरचाहमा नयाँ मापदण्ड स्थापना गरेको छ। जब कुकुर वा बिरालो सफा, स्वस्थ र खुसी हुन्छ, त्यसको प्रभाव मालिकमा पनि सकारात्मक देखिन्छ ।

Pet-MAMA_Nepal-photo-library10-1755083916.jpg

Pet-MAMA_Nepal-photo-library13-1755083919.jpgPet-MAMA_Nepal-photo-library17-1755068747.jpg

 

- ममुन के.सी./नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी