नेभिगेशन
दृष्टिकोण

डेंगीबाट जोगिऔं, सचेत बनौं

देश विषम राजनीतिक परिस्थितिबाट अघि बढिरेको अवस्थामा प्राकृतिक विपत्तिले पनि क्रमबद्ध प्रहार गरेको छ । वडादशैं जेनजी विद्रोहमा ज्यान गुमाएका नवयुवाहरूको शोकले शिथिल थियो । बडादशैंको मुख्य दिन बिजयादशमीको भोलिपल्ट असोज १७ गते रातीदेखि कर्णाली प्रदेशबाहेकका सबै प्रदेशमा भएको निरन्तरको वर्षाले गराएको बाढी पहिरोले अर्को शोकलाई जारी राख्यो । यसै प्रभावित जनजीवन झन् प्रताडित भयो ।

पानीलाई जीवन मानिन्छ । किनभने पानी बिना उत्पादनको चक्र पुरा नहुने मात्र होइन, कुनै जीव र वनस्पतिको जीवन सम्भव हुँदैन । तर त्यही पानी कहिले बिपत्ति बनेर आउँछ । असोजको वर्षाले गराएको प्राकृतिक विपत्तिकै निरन्तरताका रुपमा सरुवा रोगको संक्रमण पनि देखिएको छ । गत ससारदेखि फैलिरहेको डेंगीको संक्रमण वर्षा सकिएसँगै न्यून हुँदै जाने अपेक्षा गरिए पनि लगभग सकिँदो मनसुनतिर असोजको पानीले सो संक्रमणलाई फेरि फैलाएको छ । 

गत साता डेंगीको ३ सय ४८ नयाँ संक्रमणका बिरामी देखिएसँगै सबैलाई थप सचेत हुनु पर्ने देखिएको छ । डेंगीलाई फैलाउने काम लामखुट्टेले गर्छ र अहिलेको वर्षाले गरेको डुबान र पानी जम्ने अवस्थाले लामखुट्टेलाई फैलिन वातावरण बनेको छ । त्यसैले पनि टोल, समुदाय र समाज आफैं पनि सचेत हुनु आवश्यक छ भने स्थानीय पालिका तथा वडाहरूले आफ्नो तहमा गर्न सक्ने सचेतना र नियन्त्रणका सानातिना कामहरूलाई पनि द्रुत रुपमा चाल्न जरुरी देखिन्छ ।

डेंगीको बारेमा आधिकारी जानकारी दिने निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाए अनुसार असोज १७ गतेपछि आएको निरन्तरको वर्षापछि संक्रमणको लक्षण लिएर उपचारका लागि अस्पताल आउनेहरूको संख्या ह्वात्तै बढेको छ । शुक्रबार एक दिन मात्रै ५१ जनामा नयाँ संक्रमण भएको पुष्टि भएको थियो भने राजधानी उपत्यका रहेको बागमती प्रदेश जहाँ संक्रमण संवेदनशील मानिएको थियो, त्यहाँ डेंगीका ३ सय ३२ नयाँ बिरामी पुष्टि भएका थिए । 

अघिल्लो साता सो आंकडा २ सय ३० रहेकोमा अब घट्ला भन्ने अपेक्षा विपरीत अनपेक्षित रुपमा भएको वर्षाले संक्रमणलाई बढाउँदै लगेको हुँदा पनि संक्रमण बढ्न नदिन सचेत हुनुपर्ने देखिएको हो । बागमती बाहेक पनि गत साता कोशीमा ५१, मधेशमा १९, गण्डकीमा ३०, लुम्बिनीमा ३१, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा २४ जनामा डेंगु संक्रमण पुष्टि भएको देखिएको हुँदा सचेत हुनुपर्ने देखिएको हो । 

संक्रमणलाई फैलिन नदिन बेलैमा कदम चाल्नुपर्ने हुन्छ र रोकथामका उपायलाई तीव्र बनाउँदै लाँदा अवस्था नियन्त्रण गर्न सहज हुन्छ । तर संक्रमण दर बढ्दै जाँदा र संक्रमण फैल्याउने लामखुट्टेको वंश वृद्धिको लागि सहायक हुने पानी जम्ने, डुबान हुने स्थिति बनिरहँदा यो नियन्त्रणभन्दा बाहिर जाने डर हुन्छ । र त्यो डरलाई चिर्न पनि संघीय, प्रदेश र स्थानीय तहका जनस्वास्थ्यका निकायहरू सक्रिय हुनुपर्ने अवस्था देखिएको छ ।

हालको तापक्रम डेंगी संक्रमण गराउने लामखुट्टेको वासस्थान बनाउन, तिनलाई फैलाउनका लागि उपयुक्त रहेको र देशका ठाउँ–ठाउँमा पानी जमेका कारण पनि डेंगु फैलिन सक्ने विज्ञहरूको चेतावनीलाई मनन गर्दै रोकथाम तथा नियन्त्रणका कामलाई तीव्रता दिनुपर्ने देखिएको हो । वर्षापछि झाडापखाला र हैजाजस्ता रोग समेत फैलने डर हुन्छ ।

तसर्थ, विशेषतः खानेपानीको स्वच्छतामा ध्यान दिन पनि पालिकारुहले सचेतना अभियान चाल्नुपर्ने हुन्छ । यसको लागि विद्यमान सामाजिक संरचाना र संस्थाहरू जस्तै विद्यालय, सामाजिक संघ संस्थासँग सहकार्य गर्नुपर्ने देखिन्छ । यसका लागि स्वास्थ्य मन्त्रालय र स्थानीय तहहरूले सञ्चालन गरेको घरदैलो अभियानलाई पुनः चालू गर्न ढिलाई गर्न नहुने देखिएको छ । किनभने यस वर्ष पाँच हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भइसकेको र संक्रमणकै कारण तीन जनाले ज्यान गुमाइसेका छन् ।

अर्कोतर्फ डेंगु सार्ने प्रजातिकै लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफलाइटिसका कारण मृत्यु हुनेको संख्या पनि २९ पुगेको हुँदा सर्तक रहनुपर्ने देखिएको हो । जापनिज इन्सेफलाइटिसको संक्रमण ४१ जिल्लाका १ सय ४ स्थानीय तहमा देखिइसकेको हुँदा पनि रोकथामका कामलाई सावधानीपूर्वक अघि बढाउनुपर्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
प्राकृतिक चिकित्साको राजमार्ग

प्राकृतिक चिकित्साको राजमार्ग

महिनावारीसँग जोडिएको स्वास्थ्य

महिनावारीसँग जोडिएको स्वास्थ्य

गुलियो कति खानुभयो ?

गुलियो कति खानुभयो ?