अभिनेता राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे । पुस्तकमा हमालको ३५ वर्षे फिल्म करिअर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएका छन् । यो पुस्तक लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो ।
देशमा पछिल्लो पटक विकसित घटनाक्रमले नयाँ बिहानी आएको तर घाम झुल्किनसकेको भन्दै हमालले देशबारे चिन्ता प्रकट गरे । कार्यक्रममा हमालले आफूले पुस्तकमा बाल्यकालदेखि युवा अनि अहिलेसम्मको वयमा आइसक्दासम्मका सबै उतारचढाव एवम् कहानी प्रस्तुत गरेको उनले बताए । ‘यज्ञशजीलाई मैले पुस्तकमा खुलस्त रुपमा आफ्ना विचार र घटना प्रस्तुत गरेको छु,’ उनले भने, ‘मलाई लाग्छ, पुस्तकमा यज्ञशजीसँग म यसरी खुलेको छु, शायद म त्यति त मधुसँग पनि खुलेको छैन कि ?’ कार्यक्रममा लेखक बुद्धिसागरले पनि हमालको पुस्तकबारे चर्चा गरे ।
हामीले राजेश हमाललाई जसरी देखेका अनि बुझेका छौं, पुस्तकले सरल रुपमा उनको विषयमा अझ फराकिलो गरी बुझाउने उनको भनाइ छ । ‘राजधानीको एउटा पत्रिकामा काम गर्दा मैले राजेश हमालको अन्तर्वार्ता गरेको थिएँ,’ उनले भने, ‘त्यति बेला उहाँसँग गरेको अन्तर्वार्तापछि मैले उहाँलाई नजिकबाट देखिरहेको छु। यस पुस्तकमा उहाँका थुप्रै पाटा आएका छन् । पुस्तक पठनीय छ । अझ फराकिलो गरी उहाँलाई बुझ्न सकिन्छ ।’
आफूहरूले पुस्तक लेखनका क्रममा लामो समय बिताएको लेखक यज्ञशले बताए । लेखनका लागि तीन वर्ष लागेको यो पुस्तक बडो मिहिनेतसाथ तयार पारेको उनको भनाइ छ । पुस्तक लेखनका क्रममा हमालसँगको सहकार्य विशेष रहेको पनि उनले जनाए । राजेश हमाललाई बुझ्न यो पुस्तक अति उपयोगी रहेको हमालपत्नी मधु भट्टराईले बताइन् । ‘राजेशजीलाई मैले जसरी बुझेकी छु, पुस्तक पढ्नुभयो भने तपाईंहरूले पनि त्यसैगरी नै बुझ्नुहुनेछ,’ उनले भनिन् ।
हमालको पुस्तक बहुप्रतीक्षित एवम् महत्वाकांक्षी साहित्यिक घटनामध्ये एक रहेको प्रकाशक नीरज भारीले बताए । पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक मिति घोषणा गर्न पाउँदा आफूहरू हर्षित भएको उनको भनाइ छ । ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिएको अनुभूति भएको छ, प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो,’ उनले भने ।
यसअघि अभिनेता हमालको जन्मदिनको अवसरमा पुस्तकको आवरणसमेत अनावरण गरिसकिएको थियो । पुस्तक विमोचनका दिन शनिबार लोकार्पणस्थलमा पुगेर नाम दर्ता गराउने पहिलो २५ जनालाई हमालको हस्ताक्षरसहितको पुस्तक उपहारस्वरुप दिइएको थियो ।