नेभिगेशन
मनोरञ्जन

जब चेलाले गुरुलाई लात हाने...

चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले व्यावसायिक सफलतापछि हौसिएका अभिनेता विजय बरालले अभिनय गरेको पछिल्लो चलचित्र ‘वरिष्ठ बलराम’ प्रदर्शनको तयारीमा छ । तिहारलाई लक्षित गर्दै आगामी कात्तिक ६ गते उक्त चलचित्र प्रदर्शन हुँदैछ ।

चलचित्रमा अभिनेता बरालसँगै अभिनेता दयाहाङ राई समान्तर भूमिकामा छन् । बराल र राई गुरुचेला हुन् । यिनै गुरुचेलाले पहिलोपटक समान भूमिकामा अभिनय गर्दैछन् । यसअगाडि यी दुई जनाले सँगै अभिनय नगरेका होइनन्, तर ती पटकथामा अभिनेता राई मुख्य र अभिनेता बराल सहायक भूमिकामा देखिन्थे ।

यसपटक भने दुवैजना समान भूमिकामा छन् । अभिनेता बरालले यस चलचित्रमा आफ्नै गुरु अभिनेता राईलाई ‘तँ’ भन्ने र झगडा गर्नेलगायत दृश्य रहेकाले छायांकनको सुरुवाती समयमा आफूलाई कठिनाइ भएको सुनाए । 

उनले भने, ‘मैले यसअगाडिका चलचित्रमा अभिनेता राईसँग पर्दाबाहिर भएको सम्बन्ध जस्तै दाजुभाइको भूमिका निर्वाह गरेको थिएँ । यसमा भने मैले उहाँसँग झगडा गर्ने, लात हान्ने, तँ भन्नेलगायत दृश्य छन् । आफ्नै गुरु र श्रद्धेय दाइलाई त्यस्तो गर्न अप्ठेरो नै हुनेरहेछ, तर अभिनेता राईले ती दृश्यलाई सहज बनाउनुभयो । हामी भलै चलचित्रको पात्रमा भए पनि आफ्नो श्रद्धेय व्यक्तिलाई होच्याउन गाह्रो हुने रैछ ।’

बरालले उक्त चलचित्रमा अभिनेता राईसँग टकराव गर्ने पात्रको भूमिका निर्वाह गरेका छन् । राई चलचित्रमा काम गर्दा वास्तविक जीवनलाई बिर्सिनुपर्ने बताउँछन् । ‘हामीले त्यहाँ आफ्नो पात्र निर्वाह गरेका हौं ।त्यसकारण मैले अभिनेता बराललाई आफ्नो पात्रअनुसार व्यवहार गर्न भनें, किनकि त्यहाँ हामीले हाम्रो पहिचान कायम ग¥यौं भने पात्रलाई अन्याय हुन्छ । अभिनेता बरालसँग चलचित्रमा देखिएजस्तो वास्तविक जीवनमा कहिले हुँदैन,’ उनले भने । बरालले वास्तविक जीवनमा कल्पना पनि नगरिएका पात्रलाई चलचित्रमा बाँच्न पाउनु नै अभिनयको सुन्दर पक्ष रहेको बताए ।

स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथावस्तुमा आधारित रहेको चलचित्र ‘वरिष्ठ बलराम’ मा अभिनेताद्वय राई र बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा समाजमा रहेको हरेक व्यक्तिमा बाहिरी आवरणमा वरिष्ठ र प्रतिष्ठित देखिने चाहनालाई देखाइएको छ । यस चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको उक्त चलचित्रको पटकथा महेश दवाडीले तयार गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन