काठमाडौं, २७ असोज - दुई वर्षअघि हमास समूहको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको हत्या भइसकेको खुलासा भएको छ । सोमबार इजरायली जासूसी संस्था तथा रेडक्रस सोसाइटीले उनको शव बुझ्ने तयारी गरिरहेको बताएका थिए ।
यता नेपालस्थित परराष्ट्र मन्त्रालयले भने आइतबार जारी गरेको विज्ञप्तिमा जोशीको अवस्थाबारे कुनै ठोस जानकारी नआएको पुष्टि भएको बाहेक अन्य सूचना अद्यावधिक गरेको थिएन ।
विदेशी समाचार एजेन्सीहरूले भने विपिन अब जीवितै उद्धार गर्न नसकिने अवस्था रहेको र उनको शव इजरायली अधिकारीलाई जिम्मा लगाउने तयारी भइरहेको समाचार प्रसारण गरिरहेका थिए ।
विपिन जोशी इजरायलमा अध्ययनका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासको कब्जामा परेका थिए । सो दिन हमासले गाजासँग सीमा जोडिएको इजरायलमा ठूलो आक्रमण गरेको थियो । सो आक्रमणमा १० जना नेपाली विद्यार्थी तत्कालै मारिएका थिए भने विपिनलाई अपहरण गरिएको थियो । दुई वर्ष बितिसक्दा पनि उनको अवस्थाबारे कुनै निश्चित जानकारी प्राप्त हुन सकेको थिएन ।
भर्चुअल बैठकमा ‘दुःखद अपडेट’
आइतबार बिहान मात्रै पनि परराष्ट्र मन्त्रालयले इजरायली स्थानीय समयअनुसार साढे सात बजे नेपाली पक्षसँग भर्चुअल बैठक गरेको थियो । उक्त बैठकमा इजरायलका लागि नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, साथै इजरायली परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारी सहभागी थिए । बैठकमा इजरायली सेनाले हालै सम्पन्न भएको बन्दी आदान–प्रदान कार्यक्रममा विपिन जोशीको नाम नपरेको जानकारी दिएको थियो । यसको अर्थ, विपिन अझै जीवितै रहेको अर्थमा परिवारले लिइरहेको थियो ।
सेनाका अनुसार हमासले हिजो रिहा गरेका अन्तिम बन्दीहरूको सूचीमा जोशी समावेश थिएन । यससँगै उनका परिवार र नेपाल सरकारका लागि निराशाजनक स्थिति दोहोरिएको थियो । इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको युद्ध अन्त्यका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रयास भइरहेका छन् । संयुक्त राज्य अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा अघि बढाइएको ‘मध्यपूर्व शान्ति योजना’को पहिलो चरणअन्तर्गत आइतबार केही बन्दीहरूको आदान–प्रदान भएको थियो ।
यस अवसरलाई उत्सवको रुपमा मनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका थिए भने उनले त्यहाँको संसद्मा सम्बोधनसमेत गरेका थिए । विश्वभरका दर्जनौँ देशका नागरिकसमेत हमासको नियन्त्रणमा परेका मध्ये केहीलाई यस सम्झौताअन्तर्गत रिहा गरिएको हो ।
नेपाल सरकार र विपिनका परिवारले उनी पनि उक्त सूचीमा अटाउने र घर फर्कने आशा गरेका थिए । तर, इजरायल र प्यालेस्टाइनी दुवै पक्षले रिहा गरेकाहरूको खुसियालीमा नेपाल भने सहभागी हुन सकेन ।
नेपालको कूटनीतिक पहल
विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत दुई वर्षदेखि विभिन्न तहमा निरन्तर पहल गर्दै आएको दाबी गरेको छ । केही पहिले विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालले इजरायल र अन्य सम्बन्धित पक्षहरूसँग निरन्तर सम्पर्कमा रही जोशीको अवस्थाबारे जानकारी लिन खोज्दै आएको बताएको थियो । अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग पनि सहकार्य भइरहेको उसले जनाएको थियो ।
विपिनका परिवारजन दुई वर्षदेखि प्रतीक्षामा छन् । नजिकका साथीहरूको अनुसार, विपिन उत्साही र सामाजिक स्वभावका थिए, जसले सन् २०२२ मा इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल गएका थिए ।
उनकी आमा पद्माले गत वर्ष दिएको एक अन्तरवार्तामा भनेकी थिइन्, ‘छोराको आवाज एक पटक सुन्न पाए हुन्थ्यो । दुई वर्ष भयो, फोनको घन्टी बज्दा पनि उसको सम्झना आउँछ ।’ उनका दाजु किशोर जोशीले सामाजिक सञ्जालमा भाइ फर्कने अझै आशा रहेको बताएका थिए ।
हमास–इजरायल द्वन्द्वको पृष्ठभूमि
७ अक्टोबर २०२३ मा गाजाबाट हमासका लडाकुहरूले इजरायलमा आक्रमण गर्दा करिब १२०० जना इजरायली नागरिक मारिएका थिए । २५० भन्दा बढीलाई हमासले अपहरण गरेको थियो । त्यसपछि इजरायलले गाजामा ठूलो सैन्य कारबाही सञ्चालन ग¥यो ।
कार्बाहीमा अहिलेसम्म ६२ हजार ६ सय १४ जनाको ज्यान गइसकेको छ । इजरायलले गरेको कार्बाहीका कारण लाखौं विस्थापित भएका छन् । युद्धको प्रारम्भिक चरणमै नेपालका १७ विद्यार्थी दक्षिण इजरायलको ‘अलुमीम’ क्षेत्रस्थित कृषिक्षेत्रमा काम र अध्ययन गरिरहेका थिए । तीमध्ये १० जना मारिएका थिए भने ६ जना सकुशल बचाइए । विपिन जोशी भने बेपत्ता भइरहे र लामो समयसम्म उनको अवस्था अज्ञात रहिरह्यो ।
यो घटना नेपालको लागि ऐतिहासिक रूपमा दुःखद् रह्यो किनभने कुनै विदेशी भूमिमा दोस्रो पटक यति धेरै नेपाली नागरिक आतंकवादी आक्रमणमा परेका थिए । यसअघि इराकमा २०६० भदौ १६ गते इस्लाम अल सुन्ना नामक आतंकवादी संगठनले १२ जना नेपालीको घाँटी रेटी हत्या गरेको थियो ।