नेभिगेशन
मनोरञ्जन

‘दैलो खोल न...’ मा परदेशी मनको पीडा

घरको दैलो एउटा सामान्य ढोका मात्रै होइन, यो ढोकाभित्र सम्झना छ, मायाको बन्धन छ, आमा–बुबाको मुखाकृति छ र एउटै मुटुमा गाँसिएको परिवारको स्पन्दन छ । यही भावनात्मक ढोका ढकढक्याउँदै गायक/गीतकार उमेश राउतले ल्याएका छन्, ‘दैलो खोल न’ ।

यतिबेला टिकटकलगायत सामाजिक सञ्जालमा चर्चा कमाइरहेको गीतको पहिलो हरफमै परदेशको कष्ट झल्किन्छ – परदेश आएँ परदेशी भएँ, मन त्यतै अल्झियो, कोही छैन यहाँ दुःखलाई साथी, घाउ फेरि बल्झियो ।

यी हरफले परदेशिएका हजारौं नेपालीको यथार्थ कथा भन्छन् । परदेशमा पैसा कमाउने होडमा लाग्दा पनि मन भने गाउँको फूलबारी, आँगन, आमा र मायामा नै अल्झिरहेको हुन्छ ।

परदेशमा थाकिसकेको आत्माले आमा सामु टाउको निहुराउँदै आश्वासन दिएको जस्तो लाग्छ । संगीत पक्षमा पुरुषोत्तम सुवेदीको एरेन्ज र पारम्परिक वाद्यवादन (सारङ्गी, बाँसुरी, तबला, मादल, गिटार) ले गीतलाई जीवन्त बनाएको छ। सारङ्गी र बाँसुरीले गीतको पीडालाई अझै गहिरो पार्छ भने मादल र तबलाको धूनले गाउँको परिवेश झल्काउँछ । गीतको रेकर्डिङ प्रिज्म रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

गोबिन्द अनेक र कमल थापाले रेकर्डिस्टको भूमिका निभाएका छन् भने श्यामश्वेत रसाइलीले गीतलाई मिक्सिङ/मास्टरिङ गरेर श्रवण–योग्य बनाएका छन् । यस गीतलाई दृश्यात्मक बनाउन तयार गरिएको लिरिकल भिडियोलाई कबिर ओडले आकर्षक बनाएका छन् ।

‘दैलो खोल न’ केवल एउटा प्रेम–गीत मात्र होइन । यो हजारौं नेपालीको भावनात्मक आत्मकथा हो, जसले आफ्नो घर–देश छाडेर विदेशमा पसिना बगाउँछन् तर मन भने गाउँको आँगनमै बन्धक हुन्छ । शायद यही कारणले, यो गीतले श्रोतालाई आफ्नै जीवनको कथा सम्झाइदिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन