काठमाडौं, २८ असोज - विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू गरिएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया शुरू भएको जनाएको छ ।
मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिको लागि उचित पहल जारी राख्ने जनाएको छ ।
आज अपराह्न परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी ‘डाइरेक्टर जनरल’ एडेन बार तलसँग टेलिफोन कुराकानी गरेको र उनले नेपाली नागरिक जोशीको निधन भएको औपचारिक जानकारी गराएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी इजरायल र हमास समूहबीचको दुई वर्ष लामो द्वन्द्वपछि भएको यद्धविरामपश्चात् हमासले जोशीको शव सोमबार रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको जनाइएको छ ।
सन् २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा रहेका इजरायलको सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले शुरूदेखि विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरू गरेको थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि सन् २०२५ अक्टोबर १३ का दिन इजरायली सेनाले त्यहाँस्थित नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठकमार्फत रिहा हुने बन्दीमा विपिन जोशीको नाम समावेश नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी गराएको थियो ।
परराष्ट्र मन्त्रालयले हमास समूहको नियन्त्रणमा रहेका विपिनको मृत्युको खबरले स्तब्ध भएको उल्लेख गर्दै यस दुःखद् घडीमा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
राष्ट्रपति पौडेल र सभामुख घिमिरेद्वारा दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । उनले आज सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको निधन भएको खबरले स्तब्ध भएको उल्लेख गरेका हुन् ।
राष्ट्रपति पौडेलले जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुःखको यस घडीमा शोकाकूल परिवारजन र सबै शुभेच्छुकमा समवेदना प्रकट गरेका छन् । सभामुख देवराज घिमिरेले पनि जोशीको निधनले मर्माहत बनाएको बताएका छन् ।
आज शोक संवेदना प्रकट गर्दै उनले जोशीको निधनको खबरले अत्यन्त दुःखी र मर्माहत बनाएको बताएका हुन् । ‘जोशीको निधनले केवल उनको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाज र राष्ट्रलाई गहिरो पीडा दिएको छ । उनको जीवन रक्षाका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विशेष पहल गरिदिन अनुरोध गरेको थिएँ । आफ्नो तर्फबाट विभिन्न संसदीय फोरमसँगै कूटनीतिक पहल भए पनि परिणाम दुःखद् हुन गयो,’ सभामुख घिमिरेले उल्लेख गरेका छन्, ‘देशका लागि ज्ञान, सीप र अनुभव लिएर फर्कने सपना बोकेका युवाको असामयिक बिदाइ हृदयविदारक छ । म स्वर्गीय जोशीको आत्माको चिरशान्तिको कामना गर्दै परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’ उनले नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूलाई आगामी दिनमा नेपाली नागरिकको सुरक्षामा अझ प्रभावकारी कदम चाल्ने विश्वाससमेत व्यक्त गरे ।
पितृकार्यकै बेला विपिन अस्ताएको खबर
महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपिन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो । गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपिनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो ।
सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपिनबारे मिश्रित समाचारहरू आइरहेका बेला विपिनका बुबा महानन्द भने भीमदत्त नगरपालिका–१ स्थित दाजुको घरमा पितृकार्य (श्राद्ध)मा व्यस्त थिए । तीन दाजु-भाइमा महानन्द कान्छा हुन् । ‘उनी कान्छाबुबाको श्राद्धका लागि पितृकार्यमा जुटेकै बेला विपिन अस्ताएको खबर सुनेपछि सन्नाटा छायो,’ जोशी परिवारका एक सदस्यले भने, ’कान्छाबुबाको श्राद्धकै दिन दुई वर्षदेखि पर्खिरहेको छोरा सधैंका लागि नआउने खबरले परिवार स्तब्ध भएको छ ।’
सोमबार बिहान विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग भिडियो ‘कन्फेरेन्स’मा विपिन नरहेको विषयमा छलफल भए पनि विपिनका दाजु किशोर जोशीले भाइ फर्किन सक्ने आशा जीवितै रहेको बताइरहेका थिए तर विपिन जीवित नरहेको खबरले परिवार मात्रै नभई सिंगो गाउँ स्तब्ध छ ।
भीमदत्त नगरपालिका–३ का वडा सदस्य मीना ठगुन्नाले विपिनका विषयमा उनका परिवारलाई आधिकारिक जानकारी प्राप्त नभएको जानकारी दिइन् । ‘विपिन जिवित नरहेको विषय सार्वजनिक हुँदा हमासले शव इजरायललाई दिने प्रक्रिया अघि बढाएको भनिए पनि उनको परिवार शवको पुष्टि नहुँदासम्म आधिकारिक मान्न तयार छैन,’ वडा सदस्य ठगुन्नाले भनिन्, ‘हिजोदेखिको विपिनको खबरले सबैतिर सन्नाटा छाएको छ ।’
उनले विपिनका परिवारजन एक–दुई दिनभित्र काठमाडौं जाने तयारी रहेको जानकारी दिइन् । विपिनका आमा पद्मा र बहिनी पुष्पा रिहाइका लागि दबाब दिन अमेरिका पुगेका थिए । उनीहरू अझै स्वदेश फर्किसकेका छैनन् ।