नेभिगेशन
नेपाल

थपिँदै नयाँ राजनीतिक दल

काठमाडौं । नेपालमा नयाँ राजनीतिक दल खुल्ने क्रम रोकिएको छैन । विहीबार बुद्ध एयरका कार्यकारी अध्यक्ष एवं उद्योगी व्यवसायी वीरेन्द्रबहादुर बस्नेतको संलग्नतामा नयाँ राजनीतिक दल दर्ता गरिएको छ । नयाँ दलले देशमा दिगो रोजगारी नै पहिलो प्राथमिकतालाई मुख्य उद्देश्य बनाएको छ ।

‘गतिशील लोकतान्त्रिक पार्टी’ नामसहित निर्वाचन आयोगमा दर्ता गरिएको छ । पार्टीको अध्यक्षमा समाजशास्त्री एवं उद्यमी दिनेश प्रसाई, महासचिव पियूष कायस्थ रहेका छन् । प्रसाईं पोखराको होटेल जलमहलका कार्यकारी निर्देशक हुने भने कायस्थ युरोपेली संघका लामो समय कार्यरत थिए ।

‘सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ’ भन्ने दलको मुख्य नारा रहेको दलमा बस्नेत भने पार्टी कार्यसमिति सदस्य रहने बताइएको छ । संघीय लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थालाई नै समर्थन गरिने नयाँ दल खोलिएको हो । उम्मेदवारको छनोट प्राइमरीबाट गर्ने, पार्टीको आर्थिक कारोबार तीन–तीन महिनामा वेबपेजमा राखेर पारदर्शिता कायम गर्ने जनाएको छ । 

‘सबै नेपालीको प्रथम अधिकार रोजगारी हो– त्यो पनि दिगो रोजगारी। यो नै सरकारको प्रथम कर्तव्य हो,’ गतिशील लोकतान्त्रिक पार्टीको अवधारणापत्रमा भनिएको छ, ‘सरकारको पूर्ण कार्य भनेकै विकासको कार्य, लगानीको कार्य, राज्य व्यवस्थापनको कार्य, नागरिकका लागि दिगो रोजगारी सिर्जना गर्ने हो ।’

बहुदलीय व्यवस्थापछि २०८२ भदौ २४ सम्म आइपुग्दा हरेक सर्वसाधारणमा कुशासन, बेथिति, भ्रष्टाचारविरुद्ध चरम आक्रोश पैदा भएको मूल्यांकनसहित जनताले दिएको म्याण्डेटअनुसार काम गर्न नसेकेको अवधारणा पत्रमा उल्लेख छ । नेपालीको प्रथम अधिकार रोजगारी भएको भन्दै सरकारको प्रथम कर्तव्य देशमा रोजगारी सिर्जना गर्ने भएको बताइएको छ । 

आफूहरूले रोजगारी सिर्जनाका लागि भएको दाबी गरिएको छ । राजनीतिमा होमिनु राष्ट्रप्रतिको चिन्ता भएको अवधारणापत्रम उल्लेख छ । ‘हाम्रा लागि सत्ता राज्यदोहनको साधन होइन । पार्टी र सरकारमा एक पद एक व्यक्तिको अवधारणा शुरुदेखि लागू गरिनेछ,’ सार्वजनिक अवधारणापत्रमा भनिएको छ ।

उता सिके राउतको जनमत पार्टी फुटेपछि दीपक साहले जनस्वराज पार्टी गठन गरेका छन् । उनले निर्वाचन आयोगमा २८ गते पार्टी दर्ता गरेका हुन् । निर्वाचन नजिकिँदै जाँदा थप राजनीतिक दलहरू दर्ता हुने र यो संख्या यस पटक निकै बढ्ने आकलन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्