नेभिगेशन
नेपाल

चुनावको निर्णय गर्न कांग्रेस सुस्त

काठमाडौं, १ कात्तिक - जेनजी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा गरिसकेको छ । मुख्य ठूला दल भने चुनावमा भाग लिने नलिने अझै निक्र्यौल गर्न सकेका छैनन् । जेनजी आन्दोलनमा सरकारमा रहेको नेपाली कांग्रेसको बैठक नै नसकिएका कारण चुनावको बारेमा निर्णय गरिसकेको छैन ।

यता नेकपा एमालेले चुनावमा नजाने घोषणा गर्दै संसद् पुर्नस्थापनामा लागिपर्ने बताउँदै आएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गते बस्ने गरी स्थगन गरिएको छ । शनिबारको बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद ऋषिकेश गौतमको निधनमा श्रद्धाञ्जली व्यक्त गरी सकिएको छ । 

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा १० एजेन्डा राखिएका छन् । जेनजी पुस्ताको प्रदर्शनपछि पहिलोपटक बसेको कांग्रेसले नयाँ नेतृत्वका लागि विशेष महाधिवेशनमा जाने माग पनि राखिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मा पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएका छन् ।

कांग्रेसले नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशनमा जाने भन्ने टुंगो लगाउन सकेको छैन । अब तिहार पछिको एक सातापछि बल्ल वैठकलाई निरन्तरता दिइनेछ । केन्द्रीय समिति बैठकअगावै ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको प्रस्ताव दर्ता गराएका छन् । विशेष महाधिवेशन चाहने प्रस्तावकले नै हाल शीघ्र नियमित महाधिवेशन भनिरहेका छन् ।

संस्थापनइतर पक्ष शीघ्र नियमित महाधिवेशनको पक्षमा उभिएको छ । संस्थापन पक्षले भने आकस्मिकरूपमा महाधिवेशन नहुने भन्दै न्यूनतम ६ महिना समय राख्नुपर्नेमा जोड दिइरहेको छ । संस्थापन पक्ष प्रतिनिधिसभाको विघटन असंवैधानिक भएकाले अदालतको आदेशबाट पुनस्र्थापित हुनुपर्छ भन्नेमा देखिएको छ । 

चुनाव हुन नसके वर्तमान अन्तरिम सरकार ढल्ने संस्थापन पक्षको भनाइ छ । पार्टीमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जारी केन्द्रीय समिति बैठकबाट नियमितको मिति तय गर्नुपर्ने यदि त्यसो हुन नसकेमा विशेष महाधिवेशनको माग गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्