काठमाडौं, २ कात्तिक - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ मा चुनावै नहुने ठोकुवा गरेका छन् । आइतबार सम्पादहरूसँगको संवाद कार्यक्रममा उनले एमालेले चुनाव नहुने भएकै कारण भाग नलिने भनिएको स्पष्ट पारेका हुन् ।
अधिकांश समय सम्पादकहरूप्रति कटाक्ष गरेका ओलीले पहिले संसद् विघटन गर्दा गैरसंवैधानिक हुने अहिले कसरी संवैधानिक देख्नु भो ? प्रश्न गरेका थिए । उनले २०७७ साल पुस ५ मा दुई तिहाइको सरकार भएका बेला संसद् विघटन गराएका थिए । आफू जेलनेल सहेर देशका लागि लडेको बताउँदै अहिलेको सरकारले पक्राउ गर्न खोजेको भन्दै आक्रोश देखाए ।
भदौ २३ मा भएको जेनजी प्रदर्शनको क्रममा सरकारले बर्बर दमन गर्दा १९ जनाको ज्यान गएको थियो । त्यसै समयमा प्रधानमन्त्री ओलीले भदौ २४ मा राजीनामा दिएका थिए । त्यसपछि सुशीला कार्कीको नेतृत्वमा ६ महिना तोकेर अन्तरिम सरकार बनेको थियो । संसद् विघटन गर्दै फागुन २१ मा प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा भइसकेको छ ।
उनले जेनजी पुस्ताले उठाएका मागप्रति आफू निकै सकारात्मक हुँदाहुँदै पनि घुसपैठका कारण विध्वंसात्मक गतिविधि बढेको दाबी गरेका छन् । देशप्रति बफादार रहेको दाबी अध्यक्ष ओलीले आफू कसैलाई मन नपरे पनि यो देशप्रति वफादारितामा कम नहुने बताएका छन् । प्रजातन्त्र ल्याउन, शान्ति कायम गर्न आफूले काम गरेको दाबी गरेका छन् । ज्यान जोखिममा राखेर असत्यको विरोध गर्दा आफूलाई दम्भ, अहंकार भनिएकामा दुखेसो गरेका छन् ।
‘२३ र २४ लाई जेनजी भ्रममा पारिएको छ । धोका दिइएको छ । उनीहरूका भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, रोकिएका सामाजिक सञ्जाल खुलाउने माग गरी तीनवटा थिए,’ उनले भने, ‘प्रधानमन्त्रीको राजीनामाको माग पनि गरेका थिएनन् । म पनि ती तीनवटै कुराका लागि लडिरहेको थिएँ ।’ सामाजिक सञ्जाल दर्ता गर्ने प्रक्रियामा रहेकै बेला प्रदर्शनमा युवा निस्केको उनले बताए । डेढ वर्षदेखि नेपालमा चलाइने सामाजिक सञ्जाल दर्ताका लागि आग्रह गरिरहँदा नमानेको बताएका छन् । नयाँ पुस्तालाई राष्ट्रको स्वाभिमान बुझ्न आग्रह गरेका छन् ।
देशभन्दा ठूलो, सार्वभौमसत्ता, स्वाभिमानभन्दा ठूलो आफ्नो आदत नभएको उनको दाबी छ । जेनजी प्रदर्शनको अघिल्लो दिन सुरक्षा निकायले कुनै अप्ठेरो परिस्थिति नभएको ब्रिफिङ आफूलाई भएको दाबी छ । ‘देश मेरो मात्रै होइन, मैले मात्रै दुःख पाउनुपर्ने होइन । मभन्दा धेरै बाँच्नुपर्ने आयु भएका मान्छे नेपालमा धेरै छन् । मसँग किन रिस उठेको थाहा भएन’ उनले भने ।
उनले आफ्नो खरानीको कणकण हिसाब गरेर सम्पत्तिको छानबिन गर्न चुनौति दिए । ‘विश्वभरका बैंकलाई पत्राचार गरे भो । बैंक स्टेटमेण्ट लिए भो’ उनले भने । उनले सबैको छानबिन गर्नुपर्ने बताए । बिचौलिया, ब्ल्याकमेलरको पनि सम्पत्ति छानबिन गर्न सुझाए । शंका लागेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।
मोबाइल पनि सिज थियो
भदौ २४ मा राजीनामा दिएपछि आफू नेपाली सेनाको सुरक्षामा रहेको बताए । भदौ २७ मा सुशीला कार्कीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुअघि आफूलाई मोबाइल नदिइएको खुलासा गरे । ‘प्रधानमन्त्रीले शपथ नखाइञ्जेल मोबाइल सिज गरिएको थियो । २७ गते बेलुकासम्म सम्पर्कमा रहन सकिनँ ।’ आफू लोकतान्त्रिक प्रक्रिया र प्रणालीमा विश्वास गर्ने व्यक्ति भएकाले रक्षाका लागि लागिपरेको बताए ।
उनले आफूलाई नेतृत्वमा रहिरहने बताए । ‘तपाईंहरू सम्पादक भइरहेको अरू कोही लेख्न जान्ने नभएर हो ?’ कटाक्ष गरे, ‘सम्पादकले पार्टीको अध्यक्ष छान्ने भएको भए पोहोर परारै छान्थे । यो पार्टीले छान्ने कुरा हो ।’ उनले आफ्नो काम गर्ने क्षमता, मानसिक, शारीरिक रूपमा सक्षम भएकाले अप्ठेरोमा पार्टीको नेतृत्व नछाड्ने दाबी गरे । अन्य देशका नेताबारे सम्पादकलाई टाउको नदुख्ने भन्दै ७० कटेका नेतृत्वको नाम सुनाए ।
संविधान संरक्षणका लागि राष्ट्रपतिलाई भनेको तर, सुशीला कार्की तोकेर प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको दाबी गरे । उनले संसद भंग नगरी संविधान संशोधन गरेर अगाडि बढेको भए हुने सुझाए । सरकारले आफूलाई पक्राउ गर्नका लागि पटक–पटक दबाब दिइरहेको उनले बताए ।
‘मन्त्रिपरिषद्, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयमा जसरी भए पनि ओलीलाई फसाएर पक्राउ नगरी भएन भनिएको छ । यही हो न्याय प्रणाली ?’ उनले प्रश्न गरे, ‘मलाई पक्राउ गर्ने धन्दामा सरकारले डेढ महिना बिताएको छ ।’