नेभिगेशन
स्वास्थ्य

चितवनमा ‘बोनम्यारो प्रत्यारोपण’ सेवा योजना  

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्ने तयारी गरेको छ ।  यसका लागि सात सदस्यीय चिनियाँ टोली बिहीबार भरतपुर आएको छ । अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि चीन सरकारले भवन, आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा  सहयोग गर्दै छ । 

नेपाल र चीन सरकारका बीचमा यस सम्बन्धी सम्झौता भइसकेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार आएको विज्ञ टोलीले अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्नका लागि आवश्यक पर्ने अन्य सहायक विभागको अध्ययन गर्ने छ ।

सघन उपचार कक्ष, रेडिएसन अंकोेलोजी, प्रयोगशाला, मेडिकल अंकोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगका बारेमा टोलीले अध्ययन गर्ने छ । कार्यकारी निर्देशक डा. पौडेलका अनुसार चीनबाट नियमित रूपमा यहाँ आउने चिकित्सक टोलीको यस अघिको १५औं टोलीका प्रमुख चाहु क्वीमिङको नेतृत्व सातजना विज्ञ चिकित्सक सहभागी छन् । चिनियाँ टोलीलाई अस्पतालमा स्वागत गर्दै सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले यथाशक्य छिटो काम थालेर बिरामीलाई सेवा दिने वातावरण बनाउन आग्रह गरे ।  

टोली नेता क्वीमिङ र क्यान्सर अस्पतालमा हाल रहेका १६औं चिनियाँ चिकित्सक टोलीका प्रमुख यान ल्याङले बोनम्यारो प्रत्यारोपणको पूर्व तयारीस्वरूप सम्बन्धित विभागमा रहेर पाँच दिन अध्ययन अवलोकन गरिने बताए ।

कार्यकारी निर्देशक डा. पौडेलका अनुसार हालको प्रशासनिक भवन नजिकै बोनम्यारो प्रत्यारोपणका लागि आधुनिक दुईतले भवन निर्माण गरिने छ । यस कामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक सबै प्रक्रिया पूरा गरी वातावरणीय प्रभाव मूल्यांकनका लागि वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेर अन्तिम चरणको काम भइरहेको छ । उनले भने, ‘सम्भवतः अबको एक दुई सातामा यो काम सम्पन्न हुन्छ ।’

यसका लागि अस्पतालमा रहेका २९ वटा भवनको अभिलेखीकरण गरी नक्सा पास गरेको छ । भरतपुर महानगरपालिकालाई १ करोड ७८ लाख रुपैयाँ राजस्व बुझाएर नक्सा पास गरिएको हो । वातावरणीय प्रभाव मूल्यांकनको काम पूरा भएपछि चिनिया“ तर्फबाट निर्माणको काम थालिने छ । 

ढिलोमा तीन वर्षभित्रमा बोनम्यारो प्रत्यारोपणको काम सुरु हुने चिनियाँ टोलीले जानकारी दिएको पौडेलले बताए । सुरुमा चार शय्याको विभाग बन्ने छ । यसबाट एक वर्षमा ५० जना हाराहारीको बोनम्यारो प्रत्यारोपण गर्न सकिने मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण साहले बताए ।

उनका अनुसार नेपालमा वार्षिक एक सयजना हाराहारीलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्नै हुन्छ । अहिले अधिकांश भारतका अस्पतालमा बिरामी जाने गर्दछन् । जसका लागि अस्पतालले एक जनाको भारु २० लाख हाराहारी लिने गर्दछन् । यो सेवा ययाँ सुरु भएसंगै उपचार खर्च पनि कम हुने उनले बताए ।

- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
धरहरा टपरी ममलाई दुई लाख जरिवाना

धरहरा टपरी ममलाई दुई लाख जरिवाना

अटिजम बिरामीलाई सेन्टरभित्रै कुटपिट

अटिजम बिरामीलाई सेन्टरभित्रै कुटपिट

सुनसरीको इटहरीमा अटिजम बिरामी भएका बालकमाथि केयर सेन्टरकै कर्मचारीबाट कुटपिट भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित प्रेरणा केयर सेन्टर प्रालिमा भर्ना भएका इटहरी ५ का...