हलिउड फिल्म ‘विक्ड’का अभिनेता जोनाथन बेली यतिबेला चर्चामा छन् । उनी पिपल म्यागजिनको २०२५ का ‘सबैभन्दा कामुक पुरुष’ (सेक्सिएस्ट म्यान अलाइभ) घोषित भएर चर्चा पाइरहेका हुन् ।
यो घोषणा सोमबार राति अमेरिकाको चर्चित टेलिभिजन कार्यक्रम द टुनाइट शो स्टारिङ जिमी फलनमा गरिएको थियो । बेलीले यो उपाधि गत वर्षका विजेता ‘द अफिस र ज्याक रायन’का अभिनेता जोन क्रासिन्स्कीबाट ग्रहण गरेका हुन् । ३७ वर्षका बेलीले पिपल पत्रिकासँग भने, ‘यो ठूलो सम्मान हो । म अत्यन्तै खुसी छु र छक्क पनि परेको छु ।’
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘विक्ड’मा बेली राजकुमार फियेरोको भूमिकामा थिए । उनको अभिनयले दर्शकको प्रशंसा पाएको थियो । उक्त फिल्मको दोस्रो भाग यही नोभेम्बर २१ देखि प्रदर्शनको तयारीमा छ ।
त्यसअघि उनी चर्चित अनलाइन सिरिज ‘ब्रिजर्टन’ मा लर्ड एन्टोनी ब्रिजर्टनको रूपमा देखिएका थिए । ‘फेलो ट्राभलर्स’ सिरिजमा गरेको अभिनयले उनी सन् २०२४ को एमी पुरस्कारमा मनोनयनमा पनि परेका थिए । हालै मात्र उनी फिल्म ‘जुरासिक वल्र्ड रिबर्थ’मा देखिएका थिए, जुन यस वर्षको जुलाईमा प्रदर्शनमा आएको हो ।
जिमी फलनसँगको अन्तर्वार्तामा बेलीले भने, ‘यो जीवनकै ठूलो सम्मान हो । पिपल पत्रिकाले यस्तो उपाधि दिएकोमा म अत्यन्त गौरवान्वित छु ।’
बेलीका अनुसार, पा“च वर्षको उमेरदेखि नै उनलाई अभिनयमा रुचि लागेको थियो । उनकी हजुरआमाले उनलाई पहिलो पटक ओलिभर नामक म्युजिकल फिल्म हेर्न लगाएकी थिइन् । सुरुमा उनले रायल सेक्सपियर कम्पनीस“ग अभिनय गरेर आफ्नो सपना पूरा गरेका थिए ।
त्यसयता उनले धेरै रंगमञ्चीय नाटकहरूमा अभिनय गरेका छन् । यसै वर्ष उनले लण्डनमा प्रस्तुत ‘रिचर्ड दोस्रो’ नाटकमा मुख्य भूमिका खेलेका थिए । खुलारूपमा आफूलाई समलैंगिक अभिनेता भनेर परिचय दिँदै आएका बेलीले ‘द सेमलेस फन्ड’ नामक संस्था स्थापना गरेका छन्, जसले एलजीबीटीक्यू समुदायका संस्थाहरूलाई सहयोग पु¥याउँछ ।
‘अहिले एलजीबीटी समुदायमाथि ठूलो दबाब छ,’ उनले भने, ‘उक्त समुदायका अनुभवी व्यक्तिहरूसँग भेटेर सहयोग गर्न पाउँदा निकै प्रेरणा मिलेको छ ।’
कला र मनोरञ्जन क्षेत्रको अमेरिकी म्यागजिन पिपलले ‘सबैभन्दा कामुक पुरुष’ भन्ने उपाधि सन् १९८५ देखि प्रदान गर्न थालेको हो । पहिलो विजेता मेल गिब्सन थिए । त्यसपछि ब्राड पिट, जर्ज क्लुनी, डेभिड बेख्याम, माइकल बी. जोर्डन, जोन लेजेन्ड, ड्वाइन जोनसन, पाउल रुड, पियर्स ब्रसन र प्याट्रिक डेम्प्सीलगायत यो सूचीमा परेका छन् ।
आगामी शुक्रबार प्रकाशित हुने पिपल पत्रिकाको नयाँ संस्करणमा बेलीको कभर स्टोरी प्रकाशित हुनेछ । बेलीले यो खबर गोप्य राखेका थिए, तर उनले मुस्कुराउँदै भने, ‘मैले यो कुरा कसैलाई भनेको छैन, मेरो कुकुर बेन्सनबाहेक ।’ पत्रिकामा बेली र उनको कुकुर दुवैको तस्बिर समावेश हुने बताइएको छ । (एपी)