नेभिगेशन
मनोरञ्जन

नाफामा ‘जेरी अन टप’

रिलिज भएको २४ औं दिनमा ‘जेरी अन टप’ फिल्मले साढे ११ करोड कमाएको छ । फिल्मले यसअघि नै लगानी सुरक्षित गरिसकेकाले अहिले संकलन गरिरहेको रकम नाफामा जोडिने फिल्म निर्माण समूहले जनाएको छ ।

यसअघि गत साता वर्षकै सबैभन्दा बढी कमाउने फिल्मको रुपमा दर्ता भइसकेको छ । १० करोड क्लबमा समावेश भएको यो फिल्मका अभिनेता अनमोल केसीले फिल्मको सफलताको अवसरमा खुशियाली मनाइएको कार्यक्रममा राम्रो फिल्म निर्माणमा टिमवर्कको महत्व हुने बताएका थिए । 

गत साता शुक्रबार ‘सेलिब्रेसन’ कार्यक्रममा बोल्दै उनले राम्रो फिल्म बन्नु वा नराम्रो फिल्म बन्नुमा कुनै एक कलाकारको मात्र हात नहुने बताएका थिए । 

‘राम्रो फिल्म बन्न एकजना कलाकारको मात्रै हात हुँदैन, टिमका सबै सदस्यहरुको हात उत्तिकै हुन्छ,’ उनले भने, ‘र, नराम्रो फिल्म बन्दा पनि कहिल्यै पनि कलाकारको हात हुँदैन । त्यसमा पनि टिमकै हात हुन्छ ।’ 

विशेष गरी, उनले नाम नलिई आफ्नो फिल्म ‘छड्के २’ असफल हुँदाको सन्दर्भ जोड्दै आफूलाई असफल देख्दा खुशी हुनेहरूलाई जवाफ दिएका थिए । 

उनले मानिसको प्रवृत्तिमाथि टिप्पणी गर्दै भनेका थिए, ‘मान्छेहरू सबैभन्दा खुशी कहिले हुँदो रहेछ, तपाईंलाई थाहा छ ? अरूको दुःखमा । अरूको दुःखमा मान्छेहरू सबभन्दा धेरै खुसी हुँदो रहेछ ।’

विगतमा आफ्नो असफलतामा खुसी हुनेहरूलाई लक्षित गर्दै उनले भनेका थिए, ‘मैले यो चिज उहाँहरूलाई भनेको हो । अहिलेसम्म म बोलेको थिइनँ किनभने अहिलेसम्म मेरो कामले मैले प्रमाणित गरेको थिइनँ तर आज म बोल्दैछु । किनभने आज मेरो कामले बोलिसकेको छ । फिल्मले बोलिसकेको छ ।’

फिल्मलाई १० करोड क्लबमा पु¥याइदिएकामा उनले दर्शकहरूलाई धन्यवाद दिँदै भनेका थिए,‘‘अझै धेरै माथिको सफलता देख्न बाँकी छ । अझै पनि दर्शकबाट मायाको अपेक्षा गरिरहने छु ।’

उनले जतिसुकै सफलता हात परे पनि आफूमा कहिल्यै अहं नपलाओस् भन्ने कामना गर्ने गरेको पनि बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन