स्वस्थ मन र स्वस्थ शरीर नै मानव मात्रको वास्तविक धन हो । तसर्थ शरीर स्वस्थ र क्रियाशील हुन आफ्नो स्वास्थ्यमा गर्ने लगानी नै उत्तम लगानी हो । स्वास्थ्यमा गरेको लगानीले जीवनमा सर्वोत्तम ब्याज दिन्छ । यदि तपाईंसँग राम्रो स्वास्थ्य छैन भने तपाईंसँग भएको धनको आनन्द लिन पनि सक्नुहुन्न र लिन पनि पाउनुहुन्न । माथिका भनाइले जीवन र स्वास्थ्यको अन्तरसम्बन्धलाई छोटो र सटिक उत्तर खोज्ने प्रयत्न गरेको छ । स्वस्थ जीवनको दिगो र भरपर्दो स्रोत भनेको नै स्वास्थ्य चेतना एवं त्यसको कार्यान्वयनको जाँगर र चिन्तन हो । कुनै पनि विषयमा जान्नुले मात्र कुनै अर्थ राख्दैन यदि त्यसलाई प्रयोग गरिएन भने । बिहान हिँड्नु स्वास्थ्यका लागि हितकर हुन्छ भन्ने जान्ने तर नहिँड्ने मानिसले त्यो ज्ञानबाट के लाभ पाउछ ? स्वस्थ हुने कसरी भन्ने ज्ञान छ तर त्यसलाई उसले व्यवहारमा प्रयोग गरेन भने के उसको ज्ञानले मात्रै ऊ स्वस्थ हुन्छ ? किमार्थ हुँदैन । त्यसैले जान्नुको अर्थ, उपादेयता र महत्त्वको प्रत्यक्ष सम्बन्ध कार्यान्वयनसँग हुन्छ ।
आजको युगमा आधुनिक चिकित्सा विज्ञानका अस्पतालहरू प्रायः व्यापारिक केन्द्रका रूपमा विकसित छन् भन्दा अत्युक्ति हुँदैन । रोगी उपचारको वस्तु बनेको छ र स्वास्थ्य मुनाफाखोरहरूको नाजायज पैसा कमाउने माध्यम । यस्तो अन्धाधुन्ध प्रतिस्पर्धा र कृत्रिम जीवनशैलीका बीच पनि प्राकृतिक चिकित्सा विधाको विस्तार र प्रचारप्रसारले एउटा मौन क्रान्तिको रूप धारण गरेको छ । प्राकृतिक चिकित्सालय न त बजारमुखी हो, न त औषधिमुखी, यो त मानव चेतना र विवेक उत्पादन गर्ने विद्यालय हो । जहाँ रोगको निदान मात्रै होइन स्वस्थ जीवनको पूर्वाधारका रूपमा रहेको जीवनशैलीलाई सिकाइन्छ । यहाँ उपचारको अर्थ औषधि किमार्थ होइन, स्वास्थ्यप्रतिको कठोर अनुशासन र मनको प्रशिक्षण हो । यो चिकित्सालयले स्वास्थ्यलाई राज्यको दायित्व मात्रै होइन समुदायको सामुदायिक उत्तरदायित्वको विषय बनाएको छ ।
नेपालको स्वास्थ्य चेतनाको इतिहासमा साबिक नवलपरासी जिल्लाको नवलपुरस्थित रजहर सामुदायिक प्राकृतिक चिकित्सालय एउटा नवीन प्रयोग, मौन क्रान्ति, समर्पण, आस्था साथै विश्वासको शान्त विद्यालय हो । यो यस्तो अस्पताल हो जहाँ रोगी र निरोगी सबैलाई उपचारको सुविधा छ । निरोगीलाई किन उपचार भन्ने प्रश्न प्राकृतिक चिकित्सा विधाको ज्ञान नहुनेहरूबाट आउनु स्वाभाविक भन्नुपर्छ । प्राकृतिक चिकित्साले रोग निको मात्रै पार्दैन । प्राकृतिक चिकित्सा विधामा अन्य आधुनिक अस्पताल भन्दा फरक के पाइन्छ भने यहाँ रोग नलाग्ने जीवनशैली सिकाइन्छ । रोगाएर औषधि गर्नुभन्दा रोग नै लाग्न नदिनु निको भन्ने भनाइलाई व्यवहारमा अनुवाद गर्न यो चिकित्सालयले सबैलाई प्रत्यक्ष, अप्रत्यक्षरूपमा शिक्षा र सन्देश दिन सफल भएको छ । जीवनशैली सुधारको ज्ञानले बिरामी नहुने उपाय सिकाउँछ । प्राकृतिक चिकित्साको जीवनशैलीको दर्शनका कारण रजहर प्राकृतिक चिकित्सालय अब केवल चिकित्सालयमा मात्रै सीमित छैन । यसले प्राकृतिक चिकित्सा विधाको नेपालकै शिक्षालयको स्थान सुरक्षित गरेको छ, जहाँ स्वास्थ्य, सादगी, आत्मनिर्भरता, निरोगी रहने आत्मविश्वास र जीवन दर्शन सिकाइन्छ ।
प्रकृतिले सबै रोगहरूको उचारका सामग्रीहरू प्रदान गर्छिन् भन्ने अवधारणामा प्राकृतिक चिकित्साको सिद्धान्त र दर्शनको विकास भएको छ । शरीरमा स्वतः उपचार गर्ने शक्ति हुन्छ । त्यसलाई सशक्त पार्ने शिक्षा र उत्प्रेरणा र विश्वासको उर्जा साथै प्रेरणा प्राकृतिक चिकित्सकहरूले दिन्छन् । आधुनिक चिकित्साले जस्तो रोगहरूका लक्षणको उपचार गर्ने र लक्षणहरूलाई दबाउने काम प्राकृतिक चिकित्सा विधाले गर्दैन । यसले रोगका वास्तविक कारणहरूको खोजी गर्छ र ती कारणहरू मेटाउनलाई उपचारका साधन मूलतः पृथ्वी तत्त्वलाई प्रयोग गर्छ । रोगलाई निको पार्न र मानिसलाई निरोगी रहन जीवनशैली सुधारलाई मुख्य उपचारका रूपमा प्रयोग गर्छ । प्राकृतिक उपचारमा माटो, पानी, घाम, हावा, योग–ध्यान नै उपचारका साधन हुन् भने भोजनलाई प्राकृतिक चिकित्साले औषधि भन्छ । भनिन्छ भोजन नै औषधि हो र औषधि नै जन हो । प्राकृतिक चिकित्साले रोगी, निरोगी सबैलाई खानपिन, सोच, विचार र व्यवहारलाई सुधारेर शरीरलाई सन्तुलनमा राख्ने शिक्षा र ज्ञान दिन्छ । शरीरलाई स्वस्थ राख्न कृत्रिम दबाब होइन कि प्राकृतिक सन्तुलन र जीवनशैलीमा सुधार जरुरी हुन्छ । प्राकृतिक चिकित्सा प्रणाली शरीरको कुनै एक भागमा केन्द्रीकृत भएर गर्ने उपचार पद्धति होइन यसमा शरीर, मन र आत्माको एकता कायम गर्ने समग्र उपचारको दृष्टिकोण हुन्छ । रजहर सामुदायिक प्राकृतिक चिकित्सालयमा औषधिविहीन चिकित्सा हुन्छ । यसको उपचारको प्रभावकारिता जीवनशैली सुधारसँग प्रत्यक्ष सम्बन्धित छ ।
माटो थेरापी, जल उपचार, उपवास, एनिमा पद्धति, योग, प्राणायाम र ध्यानजस्ता शरीर र मनलाई सफा, स्वच्छ र निर्मल गर्ने विधिबाट उपचार हुन्छ । यो विधामा उपचार नहुने कुनै पनि रोग हुँदैनन् । यो विधामा चिरफारको काम हुँदैन तर जीवनशैली र माटो, पानी, योग, ध्यान आदिबाट सबै रोगहरूलाई समूल नष्ट गर्ने अनौठो क्षमता प्राकृतिक चिकित्सा पद्धतिमा छ । त्यतिमात्र होइन प्राकृतिक चिकित्सा विधाको विशेषता के हो भने रोगीलाई आफ्नो चिकित्सक आफैं बन्ने शिक्षा, ज्ञान र उत्प्रेरणा दिन्छ । रजहर सामुदायिक प्राकृतिक चिकित्सालयले उपचारमा आउने जोकोहीलाई रोग निको मात्रै पार्दैन उनीहरूको जीवनशैलीलाई परिवर्तन गर्न उत्प्रेरित गर्छ ।
परिणामस्वरूप उपचारमा आउने प्रायः सबैको जीवन फेरिन्छ । यो चिकित्सालयमा उपचार आवासीय हुन्छ । खाना उपचार अवधिभर चिकित्सालयकै भान्साको खाना खान अनिवार्य छ । यहाँ उपचार गर्ने सबैलाई सस्तो र पौष्टिक खानाका अतिरिक्त घाममा समय कसरी बिताउने जस्ता अभ्यासहरूका साथै हिँड्ने, ध्यान गर्ने, मुस्कुराउने जस्ता बानी र अभ्यासहरू सिकाइन्छ । यो उपचार केन्द्र मात्रै नभएर स्वस्थ जीवनशैली सिक्ने केन्द्र पनि हो । नेपालका सबै जनप्रतिनिधिहरूलाई निर्वाचित भएपछि यहाँ कम्तीमा पनि एक हप्ताको जीवनशैली र आचरण सुधारसम्बन्धी प्रशिक्षणको प्रबन्ध गर्ने हो भने जनप्रतिनिधिहरूबाट हुँदै आएको उपचार खर्चका नाममा हुने राष्ट्रिय सम्पत्तिको दुरुपयोग अवश्य घट्थ्यो ।
यो प्रशिक्षण भ्रष्टाचार, अनियमितता र नातावाद जस्ता विकृतिहरू समेत न्यूनीकरण गर्न निश्चितरूपमा प्रभावकारी हुन्थ्यो । २०८२ को निर्वाचनपछि सबै संसदीय निर्वाचनबाट विजयी उम्मेदवारहरूलाई परीक्षणका रूपमा प्रशिक्षणको सुरुआत गरेर सांसदहरू, मन्त्रीहरू र प्रधानमन्त्रीको जीवनशैली र कार्यशैलीमा सुधारको थालनी गर्न सुझाव दिनु पक्कै अन्यथा मानिदैन । स्वस्थ शरीर र स्वस्थ मस्तिष्क नयाँ दृष्टिकोण बनाउन, नयाँ योजना र कार्यक्रम उत्पादन गर्नका लागि निर्णायक मानिन्छ । तसर्थ यो निर्वाचन केन्द्रीकृत सरकारले निर्वाचन परिणाम घोषणा भएपछिको एक हप्ताको समयका लागि प्राकृतिक चिकित्सालयमा जीवनशैली, कार्यशैली र निर्णयशैली सुधारमा केन्द्रीकृत प्रशिक्षण यदि दिने प्रबन्ध भयो भने सांसद्हरू, मन्त्रीहरू र प्रधानमन्त्रीको जीवनशैली र कार्यशैलीमा आएको परिवर्तनको परिणामस्वरूप शासकीय शैलीको परिवर्तनको प्रत्यक्ष अनुभव जनताले गर्न पाउँथे । प्राकृतिक चिकित्सालयलाई फगत स्वास्थ्यको पाठशालामा मात्रै सीमित नगरेर नव निर्वाचित उम्मेदवारहरूले असल राजनीतिक संस्कार सिक्ने पाठशालाका रूपमा पनि यसलाई देश र समाजको हितका खातिर प्रयोग गर्न सकिन्छ र प्रयोग गर्न नयाँ सोच हामीमा हुनैपर्छ । भनिन्छ जस्तो भोजन उस्तै मन । अहिले हाम्रो प्रशासनिक विकृतिको कारण हो वर्तमान भोजनशैली, जीवनशैली र कार्यशैली । अहिले रातभर मदिरामा झुम्नेहरू सरकारका महत्त्वपूर्ण पदमा छन् । मदिराको लतलाई नै छुटाउने काम प्राकृतिक चिकित्सालय रजहरको प्रशिक्षणले यदि दिन सक्यो भने हामीले कल्पना गरेको तर कहिल्यै पाउन नसकेको सुशासनको प्रत्याभूति हुने सम्भाव्य विधि र प्रविधिलाई अब प्रयोग किन नगर्ने ? यसबारे प्राकृतिक चिकित्सालय रजहर, देशका बुद्धिजीवीहरू र अब निकट भविष्यमा प्राकृतिक चिकित्सा विधाका डाक्टरहरू उत्पादन गर्ने कलेजको स्थापना र सञ्चालनमा संयुक्त आंगिक कार्यक्रमअन्तर्गत साझेदारको भूमिकामा रहने पोखरा विश्वविद्यालयसँग आपसी सम्झौताको अन्तिम चरणमा रहेको पोखरा विश्वविद्यालय परिवारले प्राकृतिक चिकित्सालय रजहरमा सांसदहरूलाई उनीहरूको कार्यक्षमता वृद्धि गर्ने विशेष प्रकारको राजनीतिक प्रशिक्षणको व्यवस्था गर्न अहिलेदेखि नै गृहकार्य गर्न यो स्तम्भकारले यो स्तम्भमार्फत नै अनुरोध गर्दछ । यसको परिणाम निश्चितरूपमा सकारात्मक आउँछ यसमा सन्देह गर्नु पर्दैन तसर्थ सम्बन्धित निकायले प्रशिक्षण कार्यक्रमको पूर्वतयारीको पहल गर्नुको अर्को उत्तम विकल्प छैन । रजहरको उपचारले भोगविलासको जीवनलाई त्यागेर सदाचारी जीवनशैली अनुसारण गर्न उत्प्रेरित गर्ने भएकाले जनप्रतिनिधिहरूलाई यस्ता प्रशिक्षणले नैतिकवान् हुन, जवाफदेही हुन र मितव्ययी हुन सकारात्मक भूमिका निर्वाह गर्छ । यस्तो प्रशिक्षण जनप्रतिनिधिहरूका लागि दीर्घकालसम्म उपयोगी हुन्छ ।
रजहरस्थित प्राकृतिक चिकित्सालयको वातावरण र पूरै परिसर नै कक्षा कोठा हो । जहाँका बगैंचाका हरेक रुख, हरेक ध्यानस्थ बिरामी सबै शिक्षकको भूमिका निर्वाह गर्छन् । यहाँ उपचारको क्रममा खानपान सन्तुलन, हर्बल ज्ञान, योग, ध्यान अभ्यास र मनोबल वृद्धि र स्वस्थ कसरी हुने भन्ने सीप र जाँगरसम्बन्धी जीवनलाई स्वस्थ र सुखमय बनाउने कक्षाहरू सञ्चालन हुन्छन् । रजहर सामुदायिक प्राकृतिक चिकित्सालयले केवल चिकित्सालयको मात्रै भूमिका निर्वाह गर्दैन यसले सामुदायिक विद्यालयको समेत भूमिका निर्वाह गर्दै आएको छ । स्थानीय युवा, वृद्ध, महिला पुरुषहरू र विद्यार्थीहरू समेत स्वास्थ स्वयंसेवक बन्ने ज्ञान र प्रशिक्षण लिन्छन् । परिणामस्वरूप यो प्रशिक्षणले उपचारमा आउनेहरूले यहाँका गाउँ टोल हुँदै देशैभर प्राकृतिक चिकित्सा विधाको प्रचारप्रसार र चेतनालाई विस्तार गरेका छन । एकपटक उपचारमा समावेश हुने व्यक्ति ऊ प्राकृतिक चिकित्सालयको जीवनभर अवैतनिक प्रचारकको भूमिका निर्वाह गर्छ । अब स्वास्थ लाभको प्रशिक्षणको काम घरघरमा सुरुआत भएको सकारात्मक सन्देश चिकित्सालयले दिएको छ ।
सामुदायिक प्राकृतिक चिकित्सालय रजहरले रोगका लक्षण र प्रभावहरूको उपचार गर्दैन कारणहरूको मात्र उपचार गर्छ । उदाहरणका लागि मधुमेह रोगका बिरामीहरूलाई इन्सुलिन होइन सन्तुलित आहार, बिहान योग, ध्यान, हिँडाइ र मानसिक सन्तुलन जस्ता जीवनशैलीको रूपान्तरणका माध्यमले उपचार गरिन्छ । फलस्वरूप धेरै बिरामीहरूले यसअघि खाँदै आएका आधुनिक चिकित्साले जीवनभर सेवन गर्नुपर्छ भनेका औषधि छाड्न सफल भएका छन् । यस्तो जीवनशैली केन्द्रित उपचार नै रजहर सामुदायिक प्राकृतिक चिकित्सालयको विशेषता हो । रजहर चिकित्सालय अब चिकित्सालयबाट प्राकृतिक चिकित्सालयको नेपालकै पहिलो शिक्षण आस्पतालमा रूपान्तरण गर्न पोखरा विश्वविद्यालयसँग सशक्त गृहकार्यमा छ । रजहरमा अहिले स्वास्थ्य अभ्यास सँगसँगै सीप सिकाइ र अनुसन्धान समेतको अध्ययन संस्कृति फस्टाएको छ । यहाँका चिकित्सक र चिकित्साकर्मीहरू केवल उपचारक मात्र नभएर शिक्षक, अनुसन्धानकर्ता र मार्गदर्शकको भूमिका समेत निर्वाह गर्दै आएका छन् । प्राकृतिक चिकित्सालय रजहर सामुदायिक विद्यालयको भूमिकाबाट अब पोखरा विश्वविद्यालयको संयुक्त आङ्गिक कार्यक्रम अन्तर्गत नेपालकै पहिलो शिक्षण अस्पतालको भूमिकामा रूपान्तरणको पर्खाइमा छ ।
खाना कसरी, कहिले र केसँग खाँदा रोगी बनाउछ र कसरी, कुन समयमा र के केसँग खाँदा त्यै खाना औषधि हुन्छ ? कस्तो सोच र दिनचर्याले स्वस्थ र अस्वस्थ बनाउछ ? कसरी सादगी, सदाचार र आत्मसंयमले आनन्द र आयु समेतलाई बढाउछ भन्ने जस्ता थुप्रै स्वास्थ्यसम्बन्धी विषयहरू सिकान्छ र सिकिन्छ । यिनै कारणहरूले रजहरको सामुदायिक प्राकृतिक चिकित्सालय अब जीवनशैली विद्यालय, कलेज हुँदै विश्वविद्यालयको स्वरूपमा विकसित हुने अनन्त सम्भावनाहरूलाई बोकेको छ । जुन विश्वविद्यालयमा पाठ्यक्रम र पाठ्यपुस्तकहरूको पढाइभन्दा पनि अहिले जीवनलाई नै पाठ्यक्रम र पाठ्य सामाग्रीका रूपमा अंगीकार गरिएको छ ।
यहाँ हर्बल औषधि, जैविक खेती, योग र ध्यान, नियमका प्रभावहरूका अतिरिक्त स्थानीय बोट बिरुवा र माटोको मूल्य बारे व्यावहारिक अध्ययन र अनुसन्धानका माध्यमबाट प्राकृतिक चिकित्सा विधालाई पुनर्जीवन दिने भगीरथ प्रयत्न हुँदैछ । अब रजहरको चिकित्सालय बिरामी निको पार्ने केन्द्र मात्रै होइन, समाज निको पार्ने विद्यालय, कलेज हुँदै विश्वविद्यालयसम्म पुग्ने जमर्को गर्दैछ । चिकित्सालयको लक्ष्य रोग हटाउने मात्रै होइन मानव चेतनाको रूपान्तरणको केन्द्र पनि हो ।
भविष्यमा रजहरलाई प्राकृतिक चिकित्साको औपचारिक विश्वविद्यालयका रूपमा रूपान्तरण हुने सम्भावना बलियो छ । जहाँ स्नातक, स्नातकोत्तर तहका विद्यार्थीहरूले प्राकृतिक चिकित्सा, जीवनशैली विज्ञान, स्वास्थ्य दर्शन अध्ययन र अनुसन्धान गर्नसक्ने छन् । रजहर प्राकृतिक
चिकित्सालय केवल उपचार केन्द्र होइन, यो एक स्वास्थ्य दर्शन, जीवनशैली र मानवीय स्वस्थको पुनर्जागरणको प्रयोगशाला हो । यो विधामा रोगीले औषधि होइन जीवन पाउँछ । डाक्टरले
औषधि होइन शिक्षा दिन्छन् । साथै प्रकृतिले शरीर मात्रै होइन चेतनालाई समेत निको पार्छ । रजहर
अब चिकित्सालय मात्रै होइन प्राकृति चिकित्सा विधाको विकास र विस्तार गर्ने नेपालको पहिलो र ठूलो साथै अनुभवी डाक्टरहरू र स्वास्थकर्मीहरू भएको प्राकृतिक चिकित्सा विद्यालय हो ।
यहाँ स्वास्थोपचारको शिक्षाका अतिरिक्त जीवन परिवर्तनको व्यावहारिक विज्ञान पनि पढाइ हुन्छ । यस्तो संस्थालाई सरकारले देशकै प्रथम विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्य लियो भने मात्रै नेपालले निरोगी नागरिक र समृद्ध राष्ट्र बन्ने अभियानमा सफलता प्राप्त गर्नेछ । सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई जीवनशैली विश्वविद्यालयका रूपमा रूपान्तरण गर्ने समय आएको छ । यहाँ केवल उपचार होइन शिक्षा, अनुसन्धान र अभ्यास सँगसँगै चल्नुपर्छ । यदि प्राकृतिक चिकित्सा विधाअन्तर्गत स्नातक, स्नातकोत्तर तहमा प्राकृतिक चिकित्सा, योग, आहार विज्ञान र मानसिक स्वास्थ्यमा गुणस्तरीय शिक्षाको प्रबन्ध हुन सके सामुदायिक प्राकृतिक चिकित्सालय रजहर दक्षिण एसिया कै महत्त्वपूर्ण प्राकृतिक चिकित्सा ज्ञान केन्द्र बन्न सक्छ ।