नेभिगेशन
मनोरञ्जन

राम्रो बनाए चल्छन् नेपाली फिल्म

यसपटक तिहारको छेको पारेर प्रदर्शनमा आएका नेपाली फिल्मलाई दर्शकले साथ दिएका छन् । केही वर्ष अघिसम्म चाडपर्वताका नेपालीभन्दा विदेशी फिल्मको वर्चस्व देखिन्थ्यो, तर कथावस्तु, पटकथा, अभिनय र प्रविधि संयोजनले स्तरीय फिल्म निर्माणको क्रम अघि बढ्दा दर्शकको रोजाइमा परेको हो । 

नेपाली कला र संस्कृतिसँगै सामाजिक कथामा बनेका फिल्महरूले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् । चलचित्र विकास बोर्डको बक्सअफिस २ सिनेपाःको तथ्यांकले पनि यसको पुष्टि गरेको छ ।

गत शनिबारसम्मको तथ्यांकअनुसार सगरमाथा आरोहणका विषयमा निर्मित ‘जेरी अन टप’ले सर्वाधिक कमाइ गरेको छ । उक्त फिल्म ३ लाख ७५ हजार ८१ दर्शकले हेर्दा ११ करोड ७१ लाख ४१ हजार ४९८ रुपैयाँ ग्रस कलेक्सन भएको छ । सर्वोच्च शिखर आरोहणका कथामा विदेशी धेरै फिल्म बनेका भए पनि नेपाली फिल्म कमै बनेका छन् । ‘जेरी अन टप’मा आरोहण र त्यस क्रमको प्रेमकथालाई देखाइएको छ । हिमाली क्षेत्रको सुन्दर दृश्यलाई देखाइएको फिल्मले पर्यटनमा समेत टेवा पुर्‍याउने विश्वास निर्माता सरोज न्यौपानेको छ ।

‘हामीले सगरमाथाको कथा र सुन्दरतालाई फिल्ममा प्रस्तुत गरेका छौं । हाम्रो प्रयासलाई दर्शकले साथ दिनुभएपछि अन्य सिनेकर्मीलाई पनि हौसला भएको छ,’ उनले भने, ‘नयाँ विषय र स्तरीय फिल्म बन्यो भने दर्शकले रुचाउँछन् भन्ने पुनः प्रमाणित भएको छ ।’

‘जेरी अन टप’मा भुवन केसी, अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । गत असोज ३१ देखि प्रदर्शनरत उक्त फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । 

यस्तै भाइटीकाका अवसर पारेर गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत ‘वरिष्ठ बलराम’ ले सोही अवधि २ करोड ५६ लाख ५७ हजार ९२९ रुपैयाँ कमाएको छ । उक्त फिल्म ८५ हजार ३५६ दर्शकले हेरेका छन् । दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याललगायतका कलाकारले अभिनय गरेका उक्त फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

यस्तै कात्तिक ६ मै आएको ‘सोल्टिनी’ले भने अपेक्षाभन्दा निकै कमजोर कमाई गरेको छ । उक्त फिल्म ८ हजार ९४५ दर्शकले हेर्दा २९ लाख ५ हजार ९५६ रुपैयाँ कमाइ भएको छ । 

प्रकाश सपूत, परीक्षा लिम्बूलगायतका कलाकारले अभिनय गरेको उक्त फिल्म अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । सुवेदीले यसअघि निर्देशन गरेको ‘रंगेली’ पनि घरेलु बजारमा असफल भएको थियो । ‘तक्मे बुढा’ को उपनामले परिचित विल्सनविक्रम राईद्वारा निर्देशित ‘मैझारो’ ले पनि घरेलु बजारमा सफलता प्राप्त गर्न सकेन । अभिनेता राईको पहिलो निर्देशकीय चलचित्र नै असफल भयो । अभिनेता धिरज मगर, मिरुना मगर, दयाहाङ राईलगायतका कलाकारले अभिनय गरेको उक्त फिल्मले १ करोड ४ लाख २९ हजार २८८ रुपैयाँ कमाएको छ । ३५ हजार १७६ दर्शकले उक्त फिल्म हेरेका थिए । यस्तै कात्तिक १४ गतेदेखि प्रदर्शन भएको ‘परान’ले दर्शकको राम्रो साथ पाएको छ । नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेता रहेको फिल्ममा बाबुछोराको कथा छ । दीपकप्रसाद आचार्यद्वारा निर्देशित फिल्मले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाकै कारण घरेलु बजारमा राम्रो कमाइ गरिरहेको छ । एक लाख २८ हजार ६७९ दर्शनले हेर्दा उक्त फिल्मले ३ करोड ७१ लाख ३६ हजार ५५३ कमाइ गरिसकेको छ । सुरुआती व्यापार कमजोर भए पनि बिस्तारै दर्शकको चाप सिनेमा हलमा बढेको निर्देशक आचार्यले बताए । ‘हाम्रो फिल्मलाई दर्शकले आफैंले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौं । बुबाछोराको कथालाई धेरै दर्शकले आफ्नो कथा रहेको प्रतिक्रिया दिनुभएको छ,’ आचार्यले भने, ‘मैले मेरो परिवारको कथालाई ढालेर फिल्म तयार गरेको हूँ । यो कथा अहिले प्रायः घर समाजसँग जोडिन्छ भन्नेमा विश्वस्त थिएँ ।

‘परान’मा शाह र श्रेष्ठसँगै केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइली लगायतका कलाकार छन् ।

यस्तै गत शुक्रबारदेखि प्रदर्शनमा आएका ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ लाई दर्शकले प्रारम्भिक रूपमा साथ दिएका छन् । यद्यपि, यी दुईको व्यावसायिक रिपोर्ट अझै सार्वजनिक भइसकेको छैन । 

समग्रमा चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली फिल्ममा दर्शकको उपस्थिति बलियो देखिएको छ । घरेलु बजारमा नेपाली फिल्मले गरिरहेको कमाइले समग्र सिनेमा क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बताए ।  

‘गएको शनिबारकै रिपोर्ट हेर्ने हो भने चलचित्र भवनमा रहेका सबै नेपाली फिल्ममा दर्शकको उपस्थिति देखिएको छ, यसले दर्शकले नेपाली फिल्म हेर्न चाहेको स्पष्ट सन्देश दिएको छ,’ उनले भने, ‘हाम्रो चाडपर्वमा अब विदेशी नभइ स्वदेशी फिल्म नै कमाइका हिसाबले अगाडि आउँछन्, यो तथ्य स्थापित हुँदैछ ।’

दर्शकको विश्वास जित्ने चलचित्र आगामी दिनमा पनि तयार गर्न निर्माता तथा निर्देशकलाई उनको आग्रह छ । अघिल्लो वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ले ऐतिहासिक व्यापार गरेपछि नेपाली फिल्ममा दर्शकको आकर्षण बढेको पाइन्छ । दसैं, तिहार, शिवरात्रि, नयाँवर्ष जस्ता बिदाको समयमा नेपाली फिल्मको व्यापार उच्च हुने गरेको तथ्यांक बक्सअफिसमा देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन