नेभिगेशन
मनोरञ्जन

‘जारी २’मा नयाँ दृश्य

घरेलु बक्स अफिसमा राम्रै व्यापार गरिरहेको फिल्म ‘जारी २ : सङ अफ च्याम्ब्रुङ’ अब नयाँ दृश्यका साथ दर्शकले हेर्न पाउने छन् । निर्माण पक्षले सोमबार १४ मिनेटको दृश्य सेन्सर गरेपछि ‘निर्देशक–कट’ सिनेमा हलमा पठाएको हो ।

नयाँ संस्करणपछि फिल्म २ घण्टा २१ मिनेट पुगेको छ । यसअघि प्रारम्भिक संस्करण २ घण्टा ७ मिनेटको मात्र थियो । निर्देशक उपेन्द्र सुब्बाले केही पुराना दृश्य हटाएर क्लाइमेक्सअघि नयाँ दृश्यहरू थपिएको बताएका छन् । उनले नयाँ दृश्यहरूले कथाको भावनात्मक गहिराइ बढाउने दाबी गर्दै दर्शकले पात्रहरूसँग अझै गहिरो सम्बन्ध महसुस गर्ने बताएका छन् ।

दर्शकहरूले मंगलबारदेखि ‘निर्देशक–कट’ संस्करण हेरेपछि राम्रै प्रतिक्रिया पाएको निर्देशक सुब्बाले बताएका छन् । यसअघि फिल्मले सात दिनमा राम्रै व्यापार गरेको भए पनि, दर्शकहरूले मिश्रित प्रतिक्रिया दिएका थिए । त्यसैले, नयाँ संस्करणले दर्शकमा कस्तो प्रभाव पार्छ भन्नेमा सबैको ध्यान गएको छ ।

गत शुक्रबार रिलिज भएको फिल्मले पहिलो दिन करिब १ करोड रुपैयाँको व्यापार गरेको थियो । दोस्रो दिन १ करोड २१ लाख ग्रस कमाइ गर्दै फिल्मले आइतबार पनि देशभर सुखद् व्यापार कायम राखेको थियो । तर समीक्षकहरू र सामान्य दर्शकबाट अपेक्षाअनुसार प्रतिक्रिया नआएपछि निर्माण पक्षले नयाँ संस्करण ल्याउने निर्णय गरेको बताइएको छ । फिल्मले देशभर राम्रो व्यापार गरे पनि पूर्वी नेपालमा राम्रो व्यापार गरिरहेको छ । खासगरी धरान, बिर्तामोड, इटहरी र दमकजस्ता सहरहरूमा राम्रो दर्शक बटुलिरहेको दाबी निर्माण पक्षको छ ।

धरानको फ्रेन्डस् सिनेमाज्ले दैनिक पाँचदेखि सात शो चलाइरहेको छ । त्यस्तै बिर्तामोडको क्यूएफएक्स, इटहरीको इलाइट सिनेमाज् र दमकको डिम्याक्स हलमा पनि ‘जारी २’मा दर्शकको चाप राम्रो देखिएको छ ।

पूर्वी नेपाल पछिल्ला वर्षहरूमा नेपाली फिल्म उद्योगको नयाँ व्यापारिक केन्द्रका रूपमा उदाउन थालेको छ । त्यसो त पूर्वी नेपाल पहिलेदेखि नै नेपाली सिनेमाको राम्रो केन्द्र थियो तर बीचका वर्षमा नेपाली फिल्मलाई हिन्दी फिल्मले गाँज्दै लगेका थिए । २०७९ सालमा आएको ‘जारी’, ‘पूर्णबहादुरको सारङ्गी’, ‘१२ गाउँ’ लगायतका फिल्महरूले उल्लेखनीय व्यापार गरेर पूर्वी नेपाल नेपाली फिल्मको गढका रुपमा पुनःस्थापित भएको थियो । यसबीच पूर्वका हलहरूमा उत्साहजनक व्यापारपछि फिल्मका निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगर दर्शकसँग प्रत्यक्ष भेटघाटका लागि कोशी प्रदेश पुगेका छन् । सोमबार उनीहरू दमक र बिर्तामोड पुगेका थिए भने मंगलबार धरान र इटहरीका हलमा दर्शकसँग संवाद गरेका थिए ।

मिरुनाले भनिन्, ‘दर्शकको माया र प्रतिक्रिया देख्दा हामी सबै निकै उत्साहित छौं । नयाँ संस्करणले उनीहरूको भावनालाई अझै छुने विश्वास छ ।’

‘जारी २ : सङ अफ च्याम्ब्रुङ’ लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित कथा हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनिल सुब्बा, सिर्जना निङ्लेखु, रेखा लिम्बूलगायतको अभिनय छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन